नेपाल प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन- ‘शासकीय अहंकार देखाएर हाकिम बन्‍ने होइन !!!

0Shares

प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन- ‘शासकीय अहंकार देखाएर हाकिम बन्‍ने होइन !!!

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई शासकीय अहंकार नदेखाउन निर्देशन दिएका छन् । सोमबार नेपाल प्रहरी प्रधान कार्यालय अनुगमन गर्दै मन्त्री श्रेष्ठले जनतालाई केन्द्रित गरेर काम गर्न ध्यानकर्षण गराए । 

‘हामीले शासकीय अहंकार देखाउने । त्यो शासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।
उनले नेपाल प्रहरीलाई गौरव गर्नलायक संगठनका रूपमा स्थापित गर्न जरूरी रहेको उल्लेख गरे । साथै गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन,’ श्रेष्ठले भने, ‘गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’

जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उनको जोड थियो । ‘प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासँग पुग्छ । त्यति नै यो परिवर्तनको रक्षा हुन सक्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘प्रहरी संगठनको कामबाट नै जनतामा सरकार हाम्रो पोल्टामा आइपुग्यो भन्ने स्थापित गर्न सक्नुपर्छ ।’

राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिएका थिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको बताए । उनले संगठनको सुद्धीकरण र सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *