फागुन १ ‘हिंसा दिवस’ थियो, सरकारले राष्ट्रिय दिवस भनेर मनायो : ओली

0Shares

फागुन १ ‘हिंसा दिवस’ थियो, सरकारले राष्ट्रिय दिवस भनेर मनायो : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली फागुन १ लाई सरकारले जनयुद्ध दिवस मनाएकोबारे ११ दिनपछि आपत्ति जनाएका छन् । सरकारले निर्णय गर्ने बेलामा केही प्रतिक्रिया नदिएका ओलीले बिहीबार सरकारको उक्त निर्णयबारे मुख खोलेका हुन् ।

‘हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा सही होइन । सरकारले किन त्यो गर्‍यो ? आकस्मिक रुपमा त्यो किन गर्नु पर्‍यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्न पर्‍यो ? त्यो मैले पनि बुझेको छैन,’ बिहीबार जन्मदिनको अवसर पारेर बालकोटस्थित ओली निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा उनले भने ।
उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गरेको भन्दै आपत्ति जनाए । ‘सम्झिसम्झिकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई । जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्परमा लडन्, लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन,’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *