प्रकृयामा समस्या छन्, सबै मिलेर किसानका समस्या सम्बोधन गर्नुपर्छ-कृषि मन्त्री साह

0Shares

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताएकी छन्।

शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानहरूका समस्या समाधान गर्ने विषयलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन्। 

‘दूध, तरकारी, फलफूल, माछाको उत्पादनलाई कसरी बढाउने भन्नेमा मन्त्रालय पनि छ तर प्रकृयामा धेरै समस्या, झमेलाहरू छन्,’ मन्त्री साहले भनिन्, ‘मन्त्रालयले किसानलाई सहजीकरण गर्नेगरी काम गर्छ।’

उनले तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत हुनेगरी काम गर्ने बताइन्।

‘कैयौं कुराहरू बिग्रिएको अवस्थामा छ। यो अवस्थामा पनि सबैले आ-आफ्नो ढंगबाट काम गर्नुपर्छ,’ उनले भनिन्, ‘म मन्त्री भएँ भनेर सबै दोषजति मन्त्रीतिर थुपार्दिने, राम्रा कामको जस चाहिँ आफू लिने परिपाटी कहिलेसम्म राख्ने? अब राजनीति भन्दा माथि उठेर काम गर्नुपर्‍यो।’

मन्त्री साहले यो महिनाभित्रमा दूधको समस्या हल गर्ने प्रतिबद्धता पनि जनाइन्। 

दूध र दुग्ध पदार्थ आयातलाई पूर्णरूपमा बन्देज गर्न, दूधमा थप प्रति लिटर १४ रुपैयाँ किसानले पाउनेगरी मूल्यवृद्धि गर्न, किसान परिचयपत्र तथा किसान वर्गीकरण तथा जमिन करार ऐनको शीघ्र कार्यन्वयनलगायतका २६ वटा मागहरू मन्त्रीसमक्ष राखेको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजका अध्यक्ष आनन्द निउरेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *