प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस सभापति देउवाको वचन

0Shares

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस सभापति देउवाको वचन

पुस २५, २०७९ थाङ्मीचागु डट कम संवाददाता
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने वचन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले सोमबार साँझ आफूलाई भेट्न धुम्बाराहीस्थित निवास आइपुगेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएको एक नेताले बताए । 

प्रधानमन्त्री दाहालले मंगलबार बिहान ११ बजे प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । त्यसअघि उनी कांग्रेस सभापति देउवा निवास पुगेका हुन् । भेटमा कांग्रेसका नेताहरू पूर्णबहादुर खड्का र कृष्ण सिटौलासमेत सहभागी थिए । देउवाले व्यक्तिगत रूपमा विश्वासको मत दिने वचन दिए पनि पार्टीले भने आधिकारिक निर्णय गर्न बाँकी छ ।
मंगलबार बिहान बोलाइएको संसदीय दलको बैठकले विश्वासको मत दिने नदिनेबारे औपचारिक निर्णय लिनेछ । त्यसअघि कांग्रेसको पदाधिकारीको समेत बैठक बस्दैछ ।

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत भने पार्टी प्रतिपक्षमा बस्नुपर्ने पक्षमा छन् । महामन्त्री थापाले पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउँदै आएका छन् । संसद्को दोस्रो, तेस्रो दललगायतका पार्टीहरूको गठबन्धनको सरकार बन्दा पहिलो दल कांग्रेसले विश्वासको मत दिन नहुने थापाको भनाइ छ ।

कांग्रेसबाहेक सबैजसो दलको समर्थन जुटाएका दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ । सभापति देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् ।

विश्वासको मत दिँदा एमालेसँग माओवादीलाई अलग गराएर सत्ता बदल्न सकिने उनीहरूको तर्क छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा छन् । उनीहरू दाहाललाई विश्वासको मत दिँदा पार्टी अर्को दुर्घटनामा पुग्ने चेतावनी उनीहरूले नेतृत्वलाई दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *