नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20ऋण उठाउन महिलामाथि लघुवित्तको दुर्व्यवहार
ऋण उठाउन महिलामाथि लघुवित्तको दुर्व्यवहार
ऋण उठाउन महिलामाथि लघुवित्तको दुर्व्यवहार
गोरखा — २२ कात्तिकको बिहान खाना खाँदै गर्दा गोरखा नगरपालिका–७ थर्पुकी कल्पना घिमिरेको घरमा साधना लघुवित्तका दुई कर्मचारी पुगे । किस्ता नतिरेको भन्दै घिमिरेलाई धम्क्याए ।
‘गाउँमा पैसा खोज्न हिँड’ भन्दै फर्कने बेला पिंढीबाट आँगनसम्म घिसारे । घिमिरेको दाइने खुट्टामा चोट लाग्यो, चोली च्यातियो । आमा कल्पनालाई रुखो बोली र धम्कीपूर्ण भाषा प्रयोग भएपछि छोरा दीपक जंगिए ।
‘पैसा तिर्छौ भनेकै थियौँ,’ कल्पनाले भनिन्, ‘उल्टै हामीलाई पिट्यो भनेर पुलिसलाई केस गरेका छन् रे, भोलिपल्ट दिनभर पुलिसले फोन गरेर हैरान गरे ।’ छोरा दीपकको नसासम्बन्धी रोगको उपचार गर्न कल्पनाले अघिल्लो असोजमा साधना लघुवित्तबाट २ लाख रुपैयाँ ऋण लिएकी थिइन् । छोरा दीपकको स्वास्थ्य अवस्था सुधार भएसँगै सवारी चलाउने काम गर्थे । छोराले कमाएको पैसा लघुवित्तको किस्ता तिर्दैमा ठिक्क हुथ्यो । मासिक १६ हजार ५ सय किस्ता तिर्न कल्पना आफै हतारिन्थिन् । गत असारमा कल्पना आफैं विरामी परिन् ।
पेट सम्वन्धी समस्याले विरामी परेपछि दीपक पनि काम छाडेर घर फर्किए । त्यसपछि कल्पनालाई उपचारका लागि लिएको ऋणको किस्ता तिर्न धौ–धौ पर्यो । ‘तीन महिनामात्र किस्ता तिर्न रोकिएको हो,’ उनले भनिन्, ‘अहिले किस्ता तिर्नलाई कुनै उपाय छैन, धान/पराल गर्ने बेला छ, हामी दिन्छौँ, तिर्छौं भनेकै छौँ ।’
कात्तिक २२ मै सहिद लखन गाउँपालिका–५ ताक्लुङकी सीता परियार सोमबार घाँस काटेर फर्कदा घरमा साधना लघुवित्तका दुई कर्मचारी आएर वसिसकेका थिए । सीतालाई तत्कालै किस्ताको रकम उपलब्ध गराउन दवाव दिए । सापटी खोज्न सीता गाउँ डुलीन् तर पैसा पाइनन् । घरका बोका र बाख्रा बेच्न लघुवित्तका कर्मचारीले दबाब दिए । तत्कालै बिक्री हुने कुरा भएन । त्यसपछि घर खानतलासी गरे ।
‘छोराछोरीले चाउमिन खान मन लाग्यो भनेपछि एक पोका ल्याएर राखेको थिएँ,’ उनले भनिन्, ‘यत्रो चाउमिन खान सक्नेले किस्ता तिर्न सक्दैनन् भन्दै जंगिए ।’
लघुवित्तका कर्मचारीले दिउसो ४ बजेसम्म सीताको पिछा नछाडेपछि घैरुङको लक्ष्मी बैंकमा २७ हजार मौज्दात रहेको सीताले सम्झिइन् । कर्मचारीलाई भनेपछि उनीहरूले सँगै सीतालाई घैरुङ ल्याए । बैंकले तत्कालै उक्त पैसा दिन नमिल्ने बताएपछि सीता बेचैन बनिन् ।
नाकको फुली र कानको मुन्द्री बेच्न साधनाका कर्मचारीले दबाब दिन थाले । साधनाकै कर्मचारीले पैसा नतिरेकाले प्रहरीमा पनि निवेदन दिएको भन्दै सीतालाई मानसिक तनाव दिए । राती १० बजेसम्म सीता साधनाको कार्यालयमै रहिन् । तर किस्ता तिर्ने उपाय रहेन । टेलरिङ ब्यवसाय संचालन गर्न सीताले साधनाबाट एक लाख रूपैया ऋण लिएकी थिइन् । कोरानाका कारण उनको ब्यवसाय फस्टाउन सकेन । ‘६०/६५ हजार तिर्न बाँकी छ,’ उनले भनिन् ।
यी दुइ एकै दिनका प्रतिनिधिमूलक घटना हुन् । यहाँका २ सय बढी महिला दैनिकजसो लघुवित्तले दिएको तनावले बेचैन छन् । लघुवित्तको ऋणले उठिबास लाग्ने चिन्ता थपिएको छ । गण्डकी गाउँपालिका–६ भुम्लीचोक लुप्राङकी डल्लीमाया चेपाङले वेनिघाटको सारथी लघुवित्तबाट २ लाख ऋण लिएर तरकारी ब्यवसाय शुरु गरिन् । ब्यवसाय फस्टाउँदै गएपछि एकलाख ऋण थपिन् । कोरोना महामारीपछि भने चेपाङलाई किस्ता तिर्न समस्या पर्यो । लघुवित्तका कर्मचारी वारम्वार घरमा पुग्छन् । ‘कहिले कुखुराको भाले उठाएर हिँड्छन्,’ उनले भनिन्, ‘कहिले त भैंसीको पाडो फुकाउँछन् ।’
गाउँमा १५/१६ जना महिला लघुवित्तको ऋण थेग्न नसकेर समस्यामा परेको उनले सुनाइन् । ‘कर्मचारी आउँछन्, पैसा तिर भन्छन्,’ उनले भनिन्, ‘पैसा तिर्न नसके किड्नी बेचेर तिर भन्दै दबाब दिन्छन् । तरकारी वेच्न गएकै ठाउँमा लघुवित्तका कर्मचारी पुगेर २ सय, पाँच सय, १० हजार जति छ त्यति हात बाटै लिएर जान्छन्, ।’
गोरखा नगरपालिका–६ छहरेमा बस्दै आएकी सन्सरी बराम केही दिनयता रात परेपछि मात्र घर पुग्छिन् । बरामलाई देखे लघुवित्तका कर्मचारी किस्ता तिर्नका लागि दबाब दिन घरमै पुग्छन् । सन्सरीले जाल्पा र नेस्डो लघुवित्तबाट ३/३ लाख बिनाधितो र सजिलो लघुवित्तबाट थप ३ लाख ऋण लिएर होटल र मासु पसल खोलिन् । कोरोनाले होटल चलेन । उधारो खानेले तिरेनन् । उनको गोरखा नगरपालिका–६ सातधुरेमा ४ आना जग्गा छ ।
‘किस्ता नतिरेको भन्दै लघुवित्तका कर्मचारीले पिटौंलाजस्तो गर्छन्, त्यही जग्गा बेचेर भए पनि किस्ता तिर्नुपर्यो भन्दै फकाउँछन्,’ उनले भनिन्, ‘बिनाधितो भनेर पैसा लिइहालियो, अहिले तिर्ने कुनै बाटो छैन, बर्बादीमा परियो, अहिले दिनभर घर वस्दीनँ । रात परेपछि को आउला र भनेर घर जाने हो ।’
किस्ता थपिदै जाँदा दिनदिनै हर्जना लाग्ने लघुवित्तका पीडित बताउँछन् । जाल्पा र छिमेकी लघुवित्तबाट १/१ लाख ऋण लिएर किस्ता तिर्न नसकेकी गोरखा–५ रोहटेपानीकी दिलमायाँ थापालाई लघुवित्तका कर्मचारीले कालोसूचीमा राख्ने भन्दै धम्काउँछन् । ‘चलेको पसल कोरोनापछि डामाडोल बन्यो,’ उनले भनिन्, ‘श्रीमान बाहिर जाने, आउने गर्नुहुन्थ्यो, अहिले त्यो पनि छैन । अरू आउने बाटो नभएपछि के गर्नु ?’
ऋण तिर्न नसक्दाको लघुवित्तका कर्मचारीले दिएको मानसिक तनावले महिलालाई छटपटी बनाएको छ । गोरखा–६ हस्पिटलचोककी सागिरा मियाँ भने दोहोरो मारमा परेकी छन् । कस्मेटिक पसल सञ्चालनका लागि मियाँले साधना लघुवित्तबाट ३ लाख ऋण लिइन् । बाकी रहेको डेढलाख चुक्ता गरे पाँच लाख ऋण पाइने लघुवित्तका कर्मचारीले सुझाएपछि उनले मिटरब्याजमा उक्त रकम खोजेर तिरीन ।
‘एकै दिनका लागि डेढलाख चुक्ता गरे हुन्छ भनेपछि खोजेर चुक्ता गरेँ,’ उनले भनिन्, ‘अहिले लघुवित्तले ५ लाख दिएन, उता मिटरब्याजमा लिएको पैसा फिर्ता गर भन्छन्, मिटरब्याजीले घरमा ताल्चा लगाइदिन्छु भनेर एकपल्ट त तालाचाबी नै लिएरै आए ।’ लघुवित्तमा आफ्नो केहि बचत रहेको उनले दावी गरिन् । तर लघुवित्तले मियाँको नाममा बचत छैन भन्दै फर्काउने गरेको छ ।
गोरखामा ३० भन्दा वढी लघुवित्तबाट ऋण लिएका २ सयभन्दा बढी महिला समस्यामा परेका छन् । ‘ऋण छँदै छ, बचनले पोलेको छ,’ गोरखा–७ की सुशीला गुरुङले भनिन्, ‘लघुवित्तले अनेक टर्चर दिन्छ, किड्नी बेचेर भए पनि ऋण तिर्नुस्, कि वडामा गएर मृत्यु दर्ता ल्याउनुस् भन्ने बचनले मन पोलेको छ ।’
कतिपय छिमेकीको बंगुरसमेत घरबाटै उठाएर लैजाने गरेको गुरुङले दुखेसो पोखिन् । ‘अस्ति भर्खर मेरो गोठको बाख्रा र भैंसीको फोटो खिचेर लगेका छन् रे, यस्तो सुन्दा पनि मन भारी हुन्छ,’ उनले भनिन् ।
लघुबित्तको ब्याज पनि चर्को रहेको महिला बताउँछन् । ‘एक लाख रुपैयाँ ऋण लिँदा विभिन्न सेवासुविधा भनेर १५ हजार कटाएर दिइन्छ,’ लघुवित्तविरुद्धको संघर्ष समितिका उपाध्यक्ष विष्णुमाया वुढाथोकीले भनिन्, ‘फेरि एकलाखको सावा ब्याज १३ महिनामा बुझाउनुपर्छ ।’
लघुवित्तले महिलाले प्रताडित बनाएको उनले बताइन् । ‘नेताहरू भोट माग्न घर दैलो पुगेका छन्, लघुवित्तबाट पीडित बनेका दिदीबहिनी कहाँ छन् खोजेका छैनन्,’ उनले भनिन्, ‘मनभरि पीडा लिएर बस्नु परेको छ ।’
जिल्लाभर ५० करोडमाथि ऋण लगानी रहेको साधना लघुवित्त वित्तीय संस्थाका कार्यकारी निर्देशक रेशम न्यौपानेले बताए । ‘मानसिक तनाव दिए भन्नेहरू खराब रेकर्ड भएकाहरू हुन्, आर्थिक आचरण पालना गर्न नचाहनेहरू हुन्,’ उनले भने, ‘हामीलाई ग्राहकको संरक्षण गर्न पाए हुन्थ्यो, उन्नति प्रगति भइदिए हुन्थ्यो भन्ने हुन्छ, त्यसैले बिनाधितो लिएको पैसाको फलोअप गर्छौं, रेकर्ड नबिग्रियाोस्, ब्ल्याक लिस्टिङ गर्न नपरोस् भन्नु स्वाभाविक हो ।’
उनले थपे, ‘आज भाका दिनुभएको थियो, किन दिनुभएन, भन्नु स्वाभाविक हो, विस्थापितभन्दा पनि स्थापित गर्दा फाइदा हुन्छ, नबुझ्नेले बढी प्रेसर दियो भनेका हुन् ।’