मतदान केन्द्रबाटै गायब हुन्छ निर्वाचन सामग्री ।।।

0Shares

मतदान केन्द्रबाटै गायब हुन्छ निर्वाचन सामग्री ।।।

पुन: प्रयोग गर्न सकिने स्वस्तिक छाप, रबर म्याट, स्ट्याप्लर, पन्चिङ मेसिन, स्केल, कैंचीलगायतका सामान  मतपेटिकासँगै बुझाउनुपर्नेमा केन्द्रबाटै फिर्ता हुँदैनन्
काठमाडौँ — निर्वाचनमा पुन: प्रयोग गर्न मिल्ने निर्वाचन सामग्री निर्वाचन कार्यालयलाई फिर्ता नगरी गायब हुने गरेको छ । एक पटक प्रयोग गरेर पुन: प्रयोग गर्न मिल्ने सामग्री मतदान सकिएपछि मतपेटिकासँगै बुझाउनुपर्नेमा मतदान केन्द्रबाटै फिर्ता हुँदैनन् । जसका कारण हरेक पटकका निर्वाचनमा उही सामान खरिद गर्दा राज्यलाई आर्थिक भार थोपरिने गरेको छ ।

गत वैशाखमा स्थानीय तहको निर्वाचन भएको थियो । त्यसमा प्रयोग भएका कुनै पनि सामग्री जिल्ला निर्वाचन कार्यालयको अभिलेखमा नभएका कारण आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने हरेक सामान खरिद गरेर पठाइसकेको छ । सामान बुझेर लैजाने मतदान केन्द्रका कर्मचारीलाई फिर्ता गर्नुपर्ने सामानको सूची नै दिने गरिन्छ । तर पुन: प्रयोग हुन सक्ने सामग्री फिर्ता नभएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका एक कर्मचारीले बताए । ‘कुन सामान फिर्ता गर्नुपर्ने र कुन नपर्ने भनेर हामीले सूची नै दिएका हुन्छौं तर फिर्ता हुँदैन,’ उनले भने ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले रबर र पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, नउड्ने मसी भएको मार्कर पेन (नङमा लगाउने), छेकाबारा, कैंची, स्ट्याप्लर मेसिन, पन्चिङ मेसिन, मतपेटिका, रबर म्याट, स्केल फिर्ता गर्नुपर्ने सूचीमा राखेको छ । ‘यी कुनै पनि सामान फिर्ता नभई मतदानमा खटिएका कर्मचारीले नै लैजाने गर्छन्,’

स्थानीय तहको निर्वाचनमा खटिएका एक निर्वाचन अधिकृतले भने । ६ महिनाअघि प्रयोग भएको निर्वाचन सामग्री फिर्ता नभएकै कारण त्यही सामान खरिद गर्न यस पटक निर्वाचन आयोगले १५ करोडभन्दा बढी खर्च गर्नुपरेको छ । पुन: प्रयोग गर्न सकिने स्वस्तिक छाप, रबर म्याट, स्ट्याप्लर, पन्चिङ मेसिन, स्केल, कैंचीलगायतका सामान विद्युतीय बोलपत्र आह्वान गरेर बजार मूल्यभन्दा कममा खरिद गर्दा पनि १५ करोड ५५ लाख रुपैयाँ खर्च हुने आयोगले जनाएको छ ।

आयोगले हरेक मतदान केन्द्रमा १६ वटाका दरले पठाउने गरी ४ लाख १६ हजार थान रबरको स्वस्तिक छाप खरिद गरेको छ । रबरको स्वस्तिक छाप २३ रुपैयाँमा खरिद गरिएको हो । त्यस्तै मतदान केन्द्रमा दुईवटा पित्तलको स्वस्तिक छाप पठाइएको छ । ४४ रुपैयाँका दरले ५२ हजार थान पित्तलको स्वस्तिक छाप खरिद गरेको आयोगले जनाएको छ । मतदान गर्ने टेबलमा राख्न प्रयोग हुने रबर म्याट हरेक मतदान केन्द्रमा ६ वटाका दरले खरिद गरेको छ ।

आयोगले १ लाख ५६ हजार थान रबर म्याट खरिद गरेको हो । दुई सय रुपैयाँका दरले खरिद गर्दा आयोगले रबर म्याटका लागि मात्रै ३ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै मतदान कक्षमा राखिने छेकाबारामा पनि उत्तिकै खर्च भएको छ । छेकाबारा र रबर म्याट पुन: प्रयोग गर्न सकिने सूचीमा राखिएको छ । निर्वाचन सकिएपछि छेकाबारा शौचालय बारबेर गर्नसमेत प्रयोग गरेको पाइएको आयोगकै पदाधिकारी बताउँछन् ।

‘यी सामग्री दुरुपयोग हुन नदिन र पुन: प्रयोग हुने भएकाले फिर्ता गर्नुपर्ने आयोगले निर्देशन दिँदै छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘अहिले प्रयोग भएका सामग्री फिर्ता गर्न सकियो भने अब हुने निर्वाचनमा त्यही सामान खरिद गर्नु पर्दैन ।’ पुन: प्रयोग गर्न सकिने सामान अनिवार्य बुझाउनुपर्ने उनले बताए । के–के सामान पुन: प्रयोग गर्न मिल्छ यकिन गरेर मतदान सम्पन्न हुनासाथ छुट्टै थैलोमा पोका पारेर मतपेटिकासँगै अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने निर्देशन जारी हुने उनले बताए । मतदान अधिकृतले पुन: प्रयोग हुने सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सबै निर्वाचन अधिकृतको कार्यालयबाट बुझेर लिनुपर्ने व्यवस्था गर्ने थपलियाले बताए ।

‘सियो धागो, लाहा, स्ट्याप्लर पिन, क्लिप पिन, भित्र–बाहिर लेखिएको कागज बुझाउनु परेन तर स्वस्तिक छाप, स्ट्याप्लर मेसिन, कैंची, स्केल, पन्चिङ मेसिन, रबर म्याट, छेकाबारा, निर्वाचनसम्बन्धी कानुनका किताब त पुन: प्रयोग गर्न सक्ने भएकाले बुझाउनैपर्ने हुन्छ,’ उनले भने ।

यस पटक पुन: प्रयोग गर्न सकिने निर्वाचन सामग्री ?

रबरको स्वस्तिक छाप ४ लाख १६ हजार ९५ लाख ६८ हजार
पित्तलको स्वस्तिक छाप ५२ हजार २२ लाख ८८ हजार
रबर म्याट १ लाख ५६ हजार ३ करोड १२ लाख
छेकाबारा १ लाख ५६ हजार थान ९ करोड ९० लाख ६० लाख
स्ट्याम्प प्याड २६ हजार ९ लाख ३६ हजार
स्ट्याप्लर मेसिन २६ हजार १३ लाख ११ हजार
स्केल १ लाख ५६ हजार ३४ लाख ३२ हजार
कैंची २६ हजार २० लाख ५४ हजार
पन्चिङ मेसिन २६ हजार ३२ लाख ५० हजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *