बुथ कब्जा रोक्न दोलखा, धनगढी र बाजुरामा प्रहरीको छुट्टै ‘कमान्डो दस्ता’

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
बुथ कब्जा रोक्न दोलखा, धनगढी र बाजुरामा प्रहरीको छुट्टै ‘कमान्डो दस्ता’

काठमाडौँ — मतदान अधिकृत र मतदान स्थलमा खटिएका सुरक्षाकर्मीलाई दबाब र प्रभावमा पारेर दलका कार्यकर्ताले नतिजा आफ्नो पक्षमा पार्न बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिम औंल्याउँदै प्रहरी प्रधान कार्यालयले दोलखा, कैलाली र बाजुरामा विशेष कार्यदलबाट छुट्टै ‘कमाण्डो दस्ता’ परिचालन गरेको छ ।

दस्तालाई बर्दी र सादा पोसाकमा रेकी गर्न र आवश्यक परे बल प्रयोगबाट स्थिति नियन्त्रणमा लिने भनिएको छ । प्रहरीको यो दस्ता विशेष तालिम प्राप्त फौज हो । शनिबार मात्रै निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दोलखाका अति संवेदनशील केही मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षण गरिएका स्थानमै प्रहरी प्रधान कार्यालयले कमाण्डो टोली तैनाथ गरेको हो ।
यो जनशक्ति मतदान स्थलको सुरक्षामा खटिएका, मतदान स्थल बाहिर तैनाथ गस्ती तथा भैपरी काममा रिजर्भ राखिएका बाहेक हो । प्रहरी प्रधान कार्यालयले कार्यदलको जनशक्तिलाई विशेषगरी आतंक, दंगा, अपहरण, प्रकोप तथा असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन खटाउँदै आएको छ ।

कैलालीको धनगढीमा खटिएका कमाण्डोलाई बाजुरालगायतका स्थानलाई समेत रेकी गर्न भनिएको छ । दोलखामा तैनाथ कमाण्डोलाई त्यहीका जोखिम मानिएका क्षेत्र केन्द्रित गरिएको सुरक्षा स्रोत बताउँछ । गत स्थानीय तह निर्वाचनमा बाजुराको बूढीगंगा नगरपालिकाका कतिपय वडामा बुध कब्जा हुनुका साथै फर्जी मतदान भएको थियो । त्यस्तै दोलखाको वैतेश्वर गाउँपालिकाको १ नम्बर वडामा ९९ दशमलव ६५ प्रतिशत मत खसेको थियो । त्यसलाई समेत आधार मानेर शंका गरिएका मतदान स्थलमा अतिरिक्त फौज तैनाथ भएका हुन् ।

कमाण्डो तालिम लिएका करिब ५ सय जनशक्तिलाई देशका जुनसुकै स्थानमा खटाउने गरी तयारी हालतमा राखिएकोमा दोलखा र कैलालीमा भने मतदानअघि नै विशेष दस्ता खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । स्रोतका अनुसार यो दस्तालाई उच्च जोखिमको सूचीमा समेटिएका क्षेत्र आसपास राखिएको र अप्रिय घटनाको जोखिमबारे सूचना पाउने बितिक्कै तत्काल परिचालन गरिने निर्वाचन सुरक्षा रणनीति तथा व्यवस्थापनमा खटिएका एक उच्च अधिकारीले जानकारी दिए ।

‘निर्वाचनमा मतदान स्थललाई सुरक्षा जोखिमका दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन समूहमा वर्गिकरण गरिएकोमा त्यही अनुसार जनशक्ति व्यवस्थापन गरिएको छ, सशस्त्र प्रहरी र सेनाबाट पनि सोही अनुसार जनशक्ति तैनाथ गरिएको छ,’ ती अधिकारीले भने, ‘केही ठाउँमा बुथ कब्जा गरेर नतिजा आफ्नो पक्षमा पार्ने र त्यसलाई मतदान अधिकृतबाट वैधता दिलाउने प्रयास हुनसक्ने भएर घटना नहुँदै हामीले उच्च सावधानी अपनाएर कमाण्डोलाई पनि छुट्टै रुपमा तैनाथ गराएका हौं ।’

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि एकै चरणमा निर्वाचन हुँदैछ । निर्वाचनबाट प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकका १ सय १० तथा प्रदेशसभातर्फ प्रत्यक्षका ३ सय ३० र समानुपातिकबाट २ सय २० गरी संघ र प्रदेशबाट ८ सय २० जनप्रतिनिधिहरू चयन हुँदै छन् । निर्वाचनको मतपरिणामले दलहरूको आगामी शक्तिको समेत हिस्सा तय गर्ने भएकोले अनुकुल नतिजा हात पार्न दलहरूले नै सुरक्षाकर्मी र कर्मचारीलाई दुरुपयोग गर्नसक्ने जोखिम रहन्छ । त्यसप्रति संवेदनशील भएरै सरकारले मतदान सम्पन्न गर्ने जिम्मेवारी लिएका कर्मचारी र सुरक्षाकर्मीका कामकारबाहीमाथि नै छड्के निगरानीमा छुट्टै संयन्त्र तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचन आयोगले १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र तय गरेको छ । कैदी, कर्मचारी, सुरक्षाकर्मी र वृद्धाश्रममा रहेकालाई मतदान गर्न १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । तोकिएका मतदान स्थलमध्ये करीब १ तिहाईलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

गृह मन्त्रालयका अनुसार ३ हजार ८० अतिसंवेदनशील, ४हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ लाई कम संवेदनशील मतदानस्थलको सूचीमा राखिएको छ ।

निर्वाचनका लागि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीबाट करीब ३ लाख जनशक्ति खटिएका छन् । त्यसमध्ये सेनाका करिब ७५ हजार, प्रहरीका करिब ७२ हजार, सशस्त्रका करिब ३५ हजार, अनुसन्धान विभागका करिब २ हजार र म्यादी प्रहरी १ लाख १५ हजार निर्वाचन सुरक्षामा कार्यस्थल खटिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *