कालीकोटमा दाहालको ‘जय नेपाल’, खड्काको ‘लाल सलाम’।।।

0Shares

कालीकोटमा दाहालको ‘जय नेपाल’, खड्काको ‘लाल सलाम’

कालीकोट — आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । यसैक्रममा सत्ता गठबन्धनले मंगलबार कालीकोटमा चुनावी सभा आयोजना गरेको छ । 

कालीकोटको रास्कोटमा मंगलबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सम्बोधन गरे । एक घण्टाको फरकमा दुईवटा सभालाई सम्बोधन गरेका दाहाल र खड्काले ‘लाल सलाम’ र ‘जय नेपाल’ भन्दै मतदातालाई अभिवादन गरेका थिए ।
तत्कालीन माओवादी जनयुद्धका क्रममा प्रभावितमध्येको एक कालीकोटमा सम्बोधन गर्दै दाहालले शान्ति सम्झौता गर्दादेखि नै कांग्रेस र माओवादीको गठबन्धन भइसकेको बताए । कांग्रेसले हँसिया हतौडामा र माओवादीले रुखमा भोट हाल्न कुनै अप्ठेरो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी सरकार गठबन्धनकै नेतृत्वमा बन्ने दाबी गरे ।

द्वन्द्वका क्रममा कालीकोटवासीले बलिदानी गरेको सम्झिँदै दाहालले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने प्रतिबद्धता जनाए । पीडितलाई राहत र क्षतिपूर्ति पनि छिट्टै उपलब्ध हुने उनको भनाइ थियो । स्थानीय तहको चुनावमा पलाँता, पचालझरना र रास्कोट पुगेको उल्लेख गर्दै उनले सबै ठाउँमा गठबन्धन विजयी भएको बताए ।

जुम्लाको सभालाई सम्बोधन गरेर रास्कोट हुँदै हेलिकोप्टरमा कालीकोटको सदरमुकाम मान्म पुगेका दाहालले मंसिर ४ पछि बन्ने गठबन्धनको संयुक्त सरकारले मानव विकास सूचकांकमा पछि परेको कर्णाली र कालीकोटलाई सबैभन्दा बढी बजेट छुट्याउने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संविधान च्यात्ने’ काम गरेको उल्लेख गर्दै अहिलेको चुनाव प्रतिगमनविरुद्ध अग्रगमनको लडाइँ भएको बताए । त्यस्तै कालीकोटको विकासका लागि कालीकोटका उम्मेदवारलाई क्याबिनेट मन्त्री बनाउने उनको भनाइ थियो । ‘हाम्रा सबै उम्मेदवार जिताएर पठाउनुहोस्, क्याबिनेट मन्त्री बनाएर पठाउनेछु,’ उनले भने ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाहीलाई संघीय मन्त्री बनाउने उनले प्रतिबद्धता जनाए । त्यस्तै प्रदेशतर्फका उम्मेदवारद्वय दुर्गाबहादुर रावत र हिक्मतबहादुर विष्टलाई प्रदेशको मन्त्री बनाउने उनको आश्वासन थियो ।

कालीकोटको फुगाड जलविद्युत् परियोजना सम्पन्न गर्ने, कोटवाडा विमानस्थल सञ्चालनमा ल्याउने, मान्म–कोटवाडा केबुलकार सञ्चालन गर्ने, कर्णाली राजमार्ग र करिडोर दुई लेनको बनाउने योजना पनि उनले सुनाए ।

त्यस्तै सभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति खड्काले संविधान बचाउन गठबन्धन गरिएको बताए । उनले प्रतिगमनविरुद्ध एकताबद्ध भएर गठबन्धनका साझा उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरे । कर्णाली प्रदेशबाटै प्रतिगमनविरुद्ध विद्रोह भएको उल्लेख गर्दै गठबन्धनले कर्णालीलाई विशेष रूपमा लिएको उपसभापति खड्काको भनाइ थियो ।

‘विकास र समृद्धिका लागि गठबन्धनलाई जिताउनुपर्छ,’ उनले भने, ‘प्रतिगमनलाई परास्त गर्दै संविधानको रक्षाका लागि कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट हाल्नुपर्छ ।’ द्वन्द्वका घाउ मेटाउन माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धन सरकारले विस्तृत शान्ति सम्झौताका बाँकी काम पूरा गर्ने खड्काले प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *