३० वर्ष भएछ ओलीले कबोलेको, अझै रतुवाको पाता फर्किएन

0Shares

४ असोज, दमक (झापा) । रतुवा र मावा नदीको बीचमा पर्छ दमकबजार । रतुवा त झन् उत्तरदेखि दक्षिणसम्मै बग्दा झापा क्षेत्र नं. ५ को बाटो भएर जान्छ । तर सधैंभरि उस्तै रहेर आफ्नो लयमा बग्दैन । त्यसैले यस क्षेत्रका नागरिकलाई रतुवाको भरोसा भन्दा आतंक धेरै छ । यो कुरा राज्य संयन्त्रले नबुझेको होइन, नेताहरूले नबुझेका होइनन् । ३० वर्षदेखि रतुवा र मावा आसपासको क्षेत्रलाई नै आधार बनाएर राजनीति गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली त झन् रतुवाको बाढीबारे धेरै नै जानकार छन् ।

त्यसैले उनले २०४८ सालयताको प्रत्येक चुनावमा रतुवा र मावाको पाता फर्काउने घोषणा गरिरहेका छन् । तर कुनै त्यस्तो वर्ष छैन, यी नदीहरूको वितण्डाका कारण किनारका नागरिकको घरबास भत्किएको नहोस्, खेतीपाती गर्ने जमिन गुमेको नहोस् । यसपालिको बाढीले पनि दमक नगरपालिकाको वडा नं. ७, कमल गाउँपालिका-६ को खयरमारा क्षेत्र, गौरादह नगरपालिका-५ चप्रमारी क्षेत्रमा विध्वंस मच्चाएको छ ।

स्थानीय तहको चुनावमा भोट माग्ने नेताहरूले तटबन्ध गरिदिन्छौं भनेका थिए, आउँदै गरेको संघीय र प्रदेशको निर्वाचनमा पनि रतुवाको बाँध नै भोट माग्ने माध्यम हुँदैछ भन्ने यस क्षेत्रका नागरिकलाई राम्रै गरी थाहा छ । भाषण सुनेपछि जनताले भरोसा गरेर २०७४ को निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई भोट हालेकै हुन् । त्यसअघिका अरू ६ वटा निर्वाचनमा पनि ओलीलाई भोट हालेकै थिए जनताले । उनी प्रधानमन्त्री पनि भए । तर ओलीले भाषण गरेझैं रतुवा र मावाको पाता फर्किएन, बरु बस्ती र बालीतिर पसेको बाढीले जनताको विचल्ली बनायो ।

रतुवाको बाढीले विचल्लीमा पर्नेमध्येकै हुन् दमक-७ की ६० वर्षीया विष्णुमाया लिम्बू । यो ठाउँमा आफ्नो परिवार कहिलेदेखि बस्दै आयो लिम्बूसँग हिसाब पनि छैन । तर बाँध नबाँधेकै कारण रतुवा उनको बस्तीतिर सर्दै-सर्दै आयो । पोहोर कात्तिकमा आएको बाढीले लिम्बूको आधा घर भत्काइदियो, यसपालि बर्खाको भेलले केही पनि बाँकी नराखी घरै लग्यो ।

विष्णुमाया लिम्बु ।
लिम्बू रतुवाले नामोनिसानै नछोडी भत्काएको घरछेउमा ठेला राखेर अहिले चटपटे बेच्छिन् । उनको जीविकोपार्जनको माध्यम नै अहिले त्यही चटपटे पसल हो । रतुवाभन्दा अलिपर उनले मासिक २ हजार तिर्ने गरी कोठा भाडामा लिएकी छिन् । ‘यो त हाम्रो सम्पत्ति हो नि ! आफू बसेको ठाउँको माया-ममता हुन्छ नि’ लिम्बूले भनिन्, ‘पहिले त खोला अलिपर थियो । बाँध लगाइदिएको भए हाम्रो घर नै बगाउँदैनथ्यो । भोट माग्न आउँदा त बाँध लगाइदिन्छु भन्दैथिए, अहिले त मलाई भोट हाल्नै मन छैन ।’

thangmichagu.com

यी नदी नियन्त्रणको पहलै नभएको भने होइन । रतुवा र मावा नदी तीन वर्षमा नियन्त्रण गरिसक्ने भनेर एक वर्षअघि नै सम्झौता भएको थियो । एशियाली विकास बैंकको ऋण सहयोगमा रतुवा र मावाका १९ ठाउँमा तटबन्ध निर्माण गर्न ठेक्का लागेको छ । तर एक वर्ष बितिसक्दा पाँच प्रतिशतसम्म पनि काम भएन । ठेक्का लाग्दा पनि काम नभएपछि रतुवा छेउका बस्ती र खेतमा अहिले पनि बाढी पस्यो । बाढीले आधा घर भत्काएपछि बस्न नसकेर रातारात डेरा सरिन् दमक-७ की डालु शेर्पा । तर दिनभरि उनी त्यही भत्किएको घर हेर्न किनारातिर पुग्छिन् । उनलाई नेताहरूले बाचाअनुसार काम गरेको भए अहिले आफ्नो घर भत्किने थिएन भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *