भ्यूटावरको आडमा भूमाफियाको खेलो, ओलीका सुकुम्बासी मतदाता कता जाउन् !

11Shares

असोज ४ झापाको दमक नगरपालिका-३ टुकुरेका गणेश भुजेल ६० वर्षदेखि बस्दै आएको ऐलानी जग्गाको लालपुर्जाको लागि फारम भर्न १०औं पटकभन्दा धेरै त सदरमुकाम चन्द्रगढी मात्रै पुगे । गएको स्थानीय तह निर्वाचन अघि नेताहरूले लालपुर्जाको फारम भराउन उनलाई नगरपालिका र वडा कार्यालयमा पनि पुर्‍याए । तर फारम भर्नु मात्रै भयो, भुजेलको नाममा जग्गा आएन । बरु उनको घरै छेउमा अजंगको अर्काे घर आयो, भ्यूटावरको नाममा ।

thangmichagu.com

त्यही भ्यूटावरले भुजेलको दुई कट्ठा जग्गामध्ये एक कट्ठा अधिग्रहण गरिसक्यो । अहिले उनले सुनिरहेका छन्, भ्यूटावर बनिसकेपछि बस्ती पनि उठाउँछ । त्यसो भए कहाँ जाने होला भन्ने पिरलोले सताउँछ गणेशलाई । भन्छन्, ‘डर लाग्छ, यसअघि पनि उठाए, भ्यूटावरको छेउमा सुकुम्बासीलाई राखेको राम्रो देखिएन भनेर भत्काउलान् कि भन्ने पीर लाग्छ, आफ्नै जग्गा भए त लडेर पनि लिन्थ्यौं नि, ऐलानीमा बसेका छौं ।’

छिमेकमै भ्यूटावर बनाउँदा चल्ने ठूला-ठूला मेसिनको आवाजले पुस्तौंदेखि बस्दै आएका सुकुम्बासीको घर थरर्र हल्लिन्छ । विकास र विकासले निम्त्याउने चहलपहलले छरछिमेकीलाई खुसी नै बनाउनुपर्ने हो तर सुकुम्बासी झन् झन् पिरोलिन थालेका छन् । छेउमै यस्तो ठूलो संरचना बन्दा मजदुरी गर्ने मौका त नदिनेहरूले पछि सुविधा देलान् भन्नेमा स्थानीय सुकुम्बासीलाई पटक्कै विश्वास छैन । बरु बन्दै गरेको विकासले आफूहरूलाई धकेल्ला र ऐलानी जमिनको बसोबास समेत गुम्ला भन्ने चिन्ताले नागरिक ग्रस्त छन् ।

घरको आँगनबाट पूर्वपट्टिको भ्यूटावर हेरिरहेकी भीमकुमारी बिकको पीर पनि भ्यूटावरले विस्थापित गरिहाल्छ कि भन्ने भन्दा पर छैन । ‘हामीलाई त के फाइदा हुन्छ होला र ? यहीं बसेको ठाउँबाट पनि उठाएर लैजान्छ कि, राख्छ टुंगो नै छैन । कहिले होमस्टे बनाउँछु भन्छन्, कहिले के भन्छन्’ बिकले भनिन्, ‘यस्तो राम्रो टावर बनेपछि हामीलाई बस्न देलान् त ?’ दिनदिनै नयाँ-नयाँ मान्छे आउँदा पनि ती मान्छेहरू आफूहरूलाई नै केही भन्न आएका हुन् कि भन्ने लाग्दोरहेछ उनीहरूलाई । तर सधैंभरि यस्तै हुने चाहिं होइन फेरि ।

भीमकुमारी बिक र गणेश भुजेल ।
चुनावका बेला चाहिं अन्यत्र जस्तै सुकुम्बासी बस्तीमा पनि आश्वासन दिन आउनेहरूको खुब चहलपहल हुन्छ । नेताहरू आएर ऐलानी जग्गालाई तुरुन्तातुरुन्तै नम्बरी बनाइदिन्छु भन्छन् । अहिले त झन् भ्यूटावरको छेउमै बस्नुभएको छ तपाईंहरूको भाउ बढ्छ भनेर पनि फकाउँछन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचन र गत वैशाखको स्थानीय निर्वाचनमा पनि नेताहरू यो बस्तीमा पुगे र नागरिकलाई आश्वासन बाँड्न हानथाप गरे । यी दुवै बेला एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । उनले भ्यूटावर बनेपछि टुकुरेका सबै नागरिकको जीवनस्तर फेरिने, ऐलानी जग्गा नम्बरीमा परिवर्तन हुने, लालपुर्जाविहीनले लालपुर्जा पाउने भाषण गरे । देशैले चिनेको, पटक-पटक प्रधानमन्त्री भइसकेका त्यति ठूला नेताले भनेको उनीहरूले पत्याए ।

ओलीकै भाषण सुनेर सुकुम्बासी बस्तीका यी नागरिकले सूर्य चिहृनमै भोट हालेका हुन् । तर चुनावी माहोलबाट आउने नेताहरूका आश्वासन सोचेझैं हुने रहेनछ, अन्यत्र जस्तै यहाँ पनि भएन । जितेर गएका नेताहरू फर्किएन, वरिपरि सलबलाउने जग्गा दलालले सुकुम्बासीलाई त्रासमा मात्रै राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *