म कुनै त्यस्तो चर्चित राजनीतिज्ञ वा दलको नेता हैन ।हेमराज थापा

2Shares


म कुनै त्यस्तो चर्चित राजनीतिज्ञ वा दलको नेता हैन ।मेरो चाहना “म मन्त्री वा प्रधानमन्त्री बनूँ !” भन्ने पनि छैन । किनकी यो मेरो व्यवसाय होइन । म कसैमाथि शासन गर्न वा जित्न चाहन्न । म सम्भव भए जति सबैलाई सहयोग गर्न चाहन्छु – हिमाल, पहाड, तराई र कांग्रेस, एमाले, माओवादी सबैलाई । म मात्रै हैन हामी सबै एक अर्कालाई सहयोग गर्न चाहन्छौँ । हामी मान्छेको स्वभाव नै यस्तै हो । हामी एकअर्काको दु:खमा होइन एकअर्काको सुखमा रमाउन चाहन्छौँ । हामी कोही पनि एकअर्कालाई घृणा गर्न चाहान्नौँ ।

अहिले ज जसले मलाई पढिरहनुभएको छ म भन्छु- हामी कोही पनि निराश नहोऔँ । अहिले सम्म हामीले गलत मान्छेहरूलाई चुनेका थियौँ । गलत मान्छेहरू हाम्रा नेता थिए । हामीले भोगेका दु:खहरू वा हामीले देखेका दु:खहरूको अन्त्य गर्न तपाईं हामी जागेका छौँ । भ्रष्टहरूको पतन हुने दिन छिट्टै आउँदैछ । अनि वर्षौंदेखि हामी जनतालाई रुवाएर सत्ता र शक्तिमा बसेका तानाशाहहरू पतन हुँदैछन् र उनीहरूले झुटो बोलेर निर्वाचनको ढोङ रचेर हामी जनताबाट लिएको शक्ति हामी जनतामा नै फर्किनेछ ।

हामी जसले मतदान गरेर जितायौँ तिनै जनतालाई घृणा गर्ने, हामीलाई दास बनाउने, हाम्रो जीवनलाई नर्क बनाउने, हाम्रो भोटलाई जनावर जस्तै व्यवहार गर्ने वा खरिदबिक्रि गर्ने, हामीलाई भोट बैंकको रूपमा मात्रै प्रयोग गर्ने राक्षसी दिमाग भएका भ्रष्टहरूलाई अब हामीले आफ्नो भविष्य सुम्पिनु हुँदैन । हामी कसैको भोट मेसिन होइनौँ । हामी गाईवस्तु पनि होइनौँ । हामी मान्छे हौँ । हामी सही वा गलत छुट्याउन सक्छौँ । हाम्रो भविष्य हाम्रै हातमा छ । हाम्रो मनमा माया छ, विश्वास छ, आशा छ । हामीले कसैलाई घृणा गर्नु छैन । जसले हाम्रालागि अहिलेसम्म जेजति गर्ने प्रयास गर्नुभयो त्यसकालागि धन्यवाद ! अब, मात्र हाम्रो भविष्य हामी आफैँले निर्माण गर्नु छ ।

आउँदो चुनावमा हामी हाम्रो शक्तिको प्रयोग गरौँ । हामी सबै एकजुट होऔँ । स्वाधिन र नागरिक अधिकार सम्पन्न नेपालको लागि लडौँ । “एक सभ्य देश जसले हामी आम मानिसहरूलाई मौका दिनेछ, जसले युवाहरूलाई भविष्य र वृद्धावस्थालाई सुरक्षा दिनेछ ।” यस्ता कैयौँ कुराहरूका झुटा घोषणापत्र बनाएर जनताको रगत चुस्नेहरु फेरि चुनावमा भाग लिएर सत्तामा जाने प्रयास गर्नेछन् । तर हामीले ख्याल गर्नु पर्ने कुरा तिनीहरू झुट बोल्छन्, तिनीहरूले त्यो वाचा पूरा गर्दैनन् । पछिल्लो कैयौँ दशकदेखि तिनीहरूले झुटो बोल्दै आएका छन् र यिनीहरूले कहिल्यै आफूले वाचा गरेका कुराहरू पूरा गर्ने छैनन् । त्यसैले यो चुनावमा हामी आफ्नो विवेक प्रयोग गरौँ ।

देश र जनताको मुक्तिको कुरा गरेर राजनीतिका ठेकेदारहरुले आफूलाई मालिक बनाएका छन् । तर दशकौँदेखि हामी जनतालाई दास बनाइरहेका छन् । अब हामी दशकौँदेखि हामीलाई दास बनाउनेका विरुद्धमा र हाम्रा लक्ष्य पूरा गर्न मंसिर ४ गते हुने निर्वाचनको ब्यालेट वार लडौँ ! राजनीतिक दुर्गन्ध मुक्त गर्न लडौँ, राजनीतिक लोभ हटाउन, एकले अर्कोलाई गर्ने कुटिल घृणा अन्त्यका लागि लडौँ । हामी तर्क, तथ्य र विवेकयुक्त तरिकाले विकसित देशको लागि लडौँ, एउटा यस्तो देश जहाँ समुन्नत, विकास र प्रगतिले हामी सबै मानिसहरूलाई खुशी दिन्छ। विकासको लागि, हाम्रा लागि, हाम्रो देशका लागि र हुर्किँदै गरेका हाम्रा सन्तानहरुका लागि ।
युवाहरू ! आउनुहोस् हामी सबै एकजुट होऔँ ।

                       समालोचनात्मक सुझावको अपेक्षा सहित
                                           हेमराज थापा।
                                 प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवार
                                          काठमाडौं क्षेत्र नम्बर 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *