बागमतीका पूर्वमुख्यमन्त्री पौडेलले चुनाव नलड्ने, भने : नाति पुस्ता नै देश हाँक्न तयार छन्

33Shares

१० भदौ, हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा कुनै पनि क्षेत्रबाट उम्मेदवार नबने बताएका छन् । शुक्रबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले यो पटक जनचाहनाअनुसार नयाँ पुस्तालाई समर्थन र सहयोग गर्ने बताएका हुन् ।

उनले अहिले दोस्रो पुस्तामात्रै नभएर नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् भन्दै पार्टीलाई विजयी गराउने जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

‘राजनीति लहड, रहर र दबाव मात्रैले पक्कै चल्दैन । आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरुका आधारमा उमेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ भन्ने कुराको हेक्का मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ’, उनले लेखेका छन्, ‘अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैमिल्दैन । त्यसैले आगामी निर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवाविद्यार्थी तथा पत्रकारहरुप्रति हार्दिक कृतज्ञता व्यक्तगर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।’

२०७४ सालमा भएको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट मकवानपुरको प्रदेशसभा क्षेत्र नम्वर १ को ‘ख’ बाट बागमती प्रदेशसभा सदस्य विजयी भएका थिए । बागमती प्रदेशको पहिलो मुख्यमन्त्रीको रुपमा २०७४ साल माघ २९ गते सपथ लिएका पौडेलले २०७८ साल भदौ २ गते राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *