आफ्नै अध्यक्षताको निगम सञ्चालक समितिले सोध्यो अधिकारीलाई स्पष्टीकरण

2Shares

६ भदौ, काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल  एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ । अधिकारीकै अध्यक्षतामा बसेको सञ्चालक समितिले उनीमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

५ जना सञ्चालकहरुले बहुमतका आधारमा गरेको निर्णयमा अधिकारीले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । वायुसेवा निगमको कार्यसम्पादन प्रभावकारी हुन नसकेको, गति लिन नसकेको, राष्ट्रिय ध्वजाबाहक निगमको साख दिनानु दिन गिर्दै गएको ठहर गर्दै ७ दिनभित्र सञ्चालक समितिमा पेश गर्ने गरी स्पष्टीकरण सोधिएको हो ।

एक सञ्चालक समिति सदस्यका अनुसार निगमको ए ३२० विमान ९एन-एकेडब्ल्युको इन्जिन गत ३१ जुलाइदेखि खराबी आएर भूमिस्थ भएको र उक्त विमानमा भाडामा लिई प्रयोग गरेको भाडाको इन्जिनको भाडा दैनिक महँगो दरमा तिर्नु परेको भन्दै बिग्रेको इन्जिन मर्मत सुरु हुन नसक्नुको कारण सञ्चालक समितिले मागेको छ ।

यही विमानको अर्को इन्जिन मर्मतका लागि पठाइएकोमा अहिलेसम्म प्रयोगमा नआउनु र भाडामा लिइएको इन्जिन फिर्ता नगर्नुको कारण पनि समितिले मागेको छ । हाल भाडामा लिइएको इन्जिनमा लोकल एजेन्ट प्रयोग गर्नुको कारण पनि समितिले माग गरेको छ र ।

आन्तरिकतर्फको ९एन-एबीएक्स विमान हालसम्म मर्मत भएर प्रयोगमा नआएको, अनलाइन टिकेटिङ प्रणाली सञ्चालनमा नआएको, निगमको एक एक ६० र वाई १२ ई विमानको व्यवस्थापन नभएको, टिकट बेचेपछि पनि चार्टर्ड उडान नगरेको, निगममा करार तथा मासिक ज्यालादारीमा कर्मचारी नियुक्त गर्दा प्रक्रिया पुरा नगरेको, रणनीतिक योजना तयार नगरेको, निगमको महँगो दरको ऋण भुक्तानी गरेर मितव्ययी नबनाएको लगायतका विषय सञ्चालक समितिले स्पष्टीकरण सोधेको छ ।

१९ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको भनिए पनि उनी २२ साउनमा नेपाल एयरलाइन्समा हाजीर भएका थिए । सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।

सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई बर्खास्त गरेको थियो । तर, अहिलेसम्म सो निर्णय प्रमाणीकरण नभएकाले उनी कार्यालयमा हाजीर भएर जथाभावी निर्णय गरिरहेको एक सञ्चालकले आरोप लगाए । त्यसैकारण अधिकारीमाथि स्पष्टीकरण सोधिएको ती सञ्चालकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *