रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21विमानस्थलको जमिन खुला राख्न जाग्दैछ पोखरा
२५ साउन, पोखरा । १ जनवरी २०२३ देखि उडान भर्ने भनिएको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्चालन होला भन्ने बहस भइरहँदा अर्कोतिर अहिलेको विमानस्थल के होला भन्ने प्रश्न जनजनमा उब्जिएको छ ।
‘पुरानो विमानस्थलमा कर्मचारी आवास तथा व्यापारिक कम्प्लेक्स बनाउने’ योजना सार्वजनिक भएपछि शहरको फोक्सो भनिने यो खुला ठाउँ जोगाउन पोखरेलीहरु कस्सिएका छन् ।
यसरी कस्सिनेमध्येका एक हुन् अध्येता विश्व सिग्देल । ‘कर्मचारी आवास वा व्यापारिक कम्लेक्स बनाउने भन्नु हाम्रो खुला ठाउँ मास्ने योजना हो, यो कुनै हालतमा हुन्न’ उनले भने, ‘पोखरा विमानस्थलको जग्गा ब्यापारमा प्रयोग गर्ने भन्नु भनेको हाम्रा लागि ‘प्लटिङ’ गरेर बेचेजत्तिकै हो ।’
कर्मचारी आवास र व्यापारिक कम्लेक्स बनाउन नागरिक उड्डयन प्राधिकरणले बजेट समेत छुटयाएपछि पुरानो विमानस्थलको जग्गा मास्ने योजना सतहमा आएको छ ।
‘यहाँ सुस्ताउने जग्गा छैन, पोखराका भएका अधिकांश खुला जमिन सरकारले नै जनताबाट खोस्यो । अब बाँकी रहेको एउटा पुरानो विमानस्थलमा पनि आवास र व्यापारिक कम्प्लेक्स बनाउने सोच कति बहुलट्ठी योजना होला ?’ सिक्देलले प्रश्न गरे ।
पोखरा तालैतालको सहर भनेर चिनिन्छ । तर, यो पाटनै पाटनको सहर पनि हो । गैह्रापाटन, मालेपाटन, डिहिकोपाटन, मझेरीपाटन, छोरेपाटन, लामपाटन, घारीपाटन, मियापाटन लगायत पोखरामा दजनौं पाटनहरु छन् । तर, अहिले ती नामका मात्रका छन्, खाली जमिन छैन ।
पोखरेलीका सम्पत्ति ती सार्वजनिक पाटनहरु कहाँ हराए त ? सिग्देल भन्छन्, ‘ती अधिकांश पाटन सरकारले नै जनताबाट अतिक्रमण गर्यो । कतै नेपाली सेनाले कब्जा गर्यो त कतै सरकारी अड्डा बस्यो, जनताको सुस्ताउने आफ्नो सार्वजनिक ठाउँ नै गुम्यो ।’
पोखरा विमानस्थलको करिब १ हजार २ सय रोपनी जग्गा छ । विमानस्थलको कम्पाउण्ड बाहिर पनि त्यसको जग्गा छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अहिले सो जग्गामा व्यापारी र विचौलियाले आँखा लगाउन थालेका छन् । तर पोखरेलीहरु भन्छन्, ‘हामी उनीहरुको उद्देश्य कुनै हालतमा पनि पुरा हुन दिनौं ।’
जानकारहरुका अनुसार, अधिकांश पाटनहरु पोखरेलीका गौचरन थिए, खेल्ने, भेला हुने, सुस्ताउने थलो थिए । ती सार्वजनिक जग्गालाई सरकारले नाफा कमाउने थलो बनाएर कब्जामा लिएको पोखरेलीहरुको बुझाइ छ । यस्ता ठाउँमा ब्यापारिक कम्लेक्सदेखि सरकारी कार्यालयहरु बसेका छन् । अहिले पोखरामा ठूलो भनेको पोखरा रंगशाला मात्रै हो, अरु खाली मैदान छैनन् ।
अध्येता सिग्देलका अनुसार, नमूना सहरका निमित्त ४० प्रतिशत भूभाग खुला चाहिन्छ, सहर विज्ञानले यही भन्छ । तर, पोखरामा ५ प्रतिशत पनि खुला ठाउँको अभाव छ । पोखरामा बजार क्षेत्रमा ठूलो भनिएको खुला ठाउँ त्यही पोखरा विमानस्थल मात्रै हो ।
तर अब त्यो विमानस्थलको जग्गामा पनि सरकारले व्यापारिक भवन वा कर्मचारी आवास बनाउने हो भने पोखरेलीले सास फर्ने ठाउँ पनि नहुने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईको भनाइ छ ।
पोखरा विमानस्थलको करिब १ हजार २ सय रोपनी जग्गा छ । विमानस्थलको कम्पाउण्ड बाहिर पनि त्यसको जग्गा छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि अहिले सो जग्गामा व्यापारी र विचौलियाले आँखा लगाउन थालेका छन् । तर पोखरेलीहरु भन्छन्, ‘हामी उनीहरुको उद्देश्य कुनै हालतमा पनि पुरा हुन दिनौं ।’
‘पोखरामा खै कहाँ छ खाली ठाउँ ? न पार्क छ, न मैदान,’ पर्यटन परिषदका अध्यक्ष भट्टराई भन्छन्, ‘त्यसैले यो विमानस्थलको जग्गा खाली राखेर धेरैभन्दा धेरै नागरिकका निम्ति प्रयोग गर्न पाउने गरी उपयोग हुनुपर्छ ।’
९० सालमा भूकम्प जाँदा होस् वा २०७२ सालको भूकम्प जाँदा, काठमाडौंका निम्ति टुँडिखेल बरदान सावित भएको थियो । टुँडिखेलमा ल्याएर टेन्ड टाँगेर भूकम्प पीडितलाई राखिएको थियो । त्यो भूकम्पले पोखरामा ठूलो क्षति पुर्याएन । अध्येता विश्व सिग्देल भन्छन्, ‘तर, अब कुनै ठूलो विपद् आइहाल्यो भने पोखराको हालत के हुन्छ ? यता सोच्नु पर्दैन ?’
‘जब दूर्घटना वा विपद् आइपर्छ, तब घरका संरचना भत्किएर ज्यान गुमाउने भन्दा भाग दौडमा क्रममा धेरैले ज्यान गुमाउँछन् । त्यसको प्रमुख कारण भनेको घर नजिकै खुला जमिन नहुनु हो’, सिग्देल भन्छन्, ‘पोखरामा अब खाली ठाउँ सकिसके, ठूलो विपद् आइपर्यो भने आश्रय लिने ठाउँ छैन । त्यसैले यो ठाउँ हामीले सर्वसाधारण जनताका लागि जोगाउनु पर्छ ।’ सिग्देलका विचारमा अहिले पोखराको यो जग्गामा व्यापारिक कम्प्लेक्स वा आवास बनाउने प्रक्रिया अगाडि बढाउनु ठूलो मूर्खता हुनेछ ।
पोखराका मेयर धनराज आचार्यले स्थानीय र प्रदेश सरकारको समन्वय बिना संघ वा प्राधिकरणले मात्रै पोखरा विमानस्थलमा संरचना बनाउने काम अगाडि बढाउन नसक्ने बताए ।
‘अहिले हामीसँग खुला चौरहरु पनि छैनन् । ठूलो भवितव्य परिहाल्यो भने सास फेर्ने ठाउँ पनि छैन । यस्तो अवस्थामा विमानस्थलाई खुला रुपमा सबै नागरिकले प्रयोग गर्न सक्ने गरी तर व्यवस्थित ढंगबाट सञ्चालन गर्नुपर्छ,’ मेयर आचार्यले भने ।
पार्क वा ठूलो संरचना नबनाइकन धेरैभन्दा धेरै खुला चौर नागरिकले प्रयोग गर्ने गरी सम्मेलन केन्द्रका रुपमा पनि विकास गर्न सकिने आचार्यको भनाइ छ । ‘पोखरामा अब कुनै ठाउँलाई पनि खुला बनाउन सकिँदैन । नयाँ विमानस्थललाई अधिग्रहण नगरिदिएको भए आज त्यो विमानस्थल पनि बन्न सक्ने अवस्था थिएन । त्यसैले भएको खुला ठाउँ जोगाउनुपर्छ’, आचार्यको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पोखरा विमानस्थलमा व्यापारिक कम्प्लेक्स वा आवास गृह बनाउने सोचाइ नै अपरिपक्क भएको बताउँछन् । ‘यो सार्वजनिक सम्पत्ति हो, एकल निर्णयबाट हुने कुरा होइन । नागरिक उड्डयन प्राधिकरणले हामीले जे गरे पनि हुन्छ भन्ने धृष्टता राख्छ भने त्यो उसको गलत सोचाइ हो,’ मुल्मी भन्छन् । बृहत पोखराको योजना निर्माण नभई विमानस्थलमा अब केही पनि बन्न नसक्ने मुल्मीको भनाइ छ ।
पोखरेलीको हितमा नभए चुप बस्दैनौं
पर्यटन परिषदका अध्यक्ष भट्टराईले पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय उठिरहेका बेला यस्ता सम्पत्ति मास्ने कामले झनै गलत सन्देश जाने बताए । ‘पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय जोडतोडका साथ उठिरहेको छ । भएका खुला संरचना मासेर पर्यटकीय राजधानीको परिकल्पना गर्न सकिँदैन’, उनले भने ।
कुनै पनि व्यक्ति वा व्यापारिक स्वार्थमा प्राधिकरण वा सरकारले निर्णय गर्छ भने पोखरेली चुप लागेर नबस्ने बरु त्यसको विरुद्ध सबै पर्यटनसँग सम्बन्धित संघसंस्था आन्दोलनमा उत्रने भट्टराईको चेतावनी छ ।
तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र ‘प्लानर’ पदमबहादुर क्षेत्रीको नेतृत्वमा बनेको सहरी विकास योजना नै आजको पोखरा हो । २०३२ सालमा बनेको सो योजनामा औद्योगिक क्षेत्र, व्यापारिक क्षेत्र, पुरातात्विक क्षेत्र, संस्थान, संवैधानिक, आवास लगायतका क्षेत्रहरु छुट्याइएको थियो । पोखरामा आज जे छ त्यही योजनाकै जगमा बाँकी रहेको मुल्मी बताउँछन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण अञ्चलाधीश पाठककै पालामा भएको हो । पोखरा बसपार्कको खाका कोर्ने र जग्गा अधिग्रहण गर्ने काम पनि २०३२ सालमै भएको हो । २०३२ सालमा पोखरामा हालिएको विकासको जगमा निर्धारण भएका कतिपय योजना अझै सम्पन्न भइसकेका छैनन् ।
हवाइ ट्रेनिङ सेन्टर हुन सक्छ
पोखरा विमानस्थलबाट अहिले आन्तरिक उडानमात्रै हुँदै आएको छैन । हेलिकप्टर, अल्ट्रालाइटलगायतका साहसिक उडान पनि भइरहेका छन् । हेलिकप्टरका लागि चाहिने र अन्य साहसिक उडानको पनि हब बनाउने गरी पोखरा विमानस्थललाई प्रयोग गर्न सकिने कतिपय पोखरेलीको भनाइ छ ।
अहिले दैनिक १८/२० वटा साहसिक खेलका दैनिक उडान भइरहेका व्यवसायी पोमनारायण श्रेष्ठले बताए । ‘साहसिक उडानमात्र होइन, पाइलट पढ्नकै लागि नेपालीहरु विदेश गइरहेका छन् । यही विमानस्थललाई हवाइ ट्रेनिङका रुपमा पनि विकास गर्न सकिन्छ’, पोखरा पर्यटन परिषदका उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘यसो गर्दा धेरै भूभाग पोखरेलीका लागि खुला पनि हुन्छ ।’
अन्तर्राष्ट्रिय सहरहरुमा हवाइ ट्रेनिङ तथा पढाइका लागि छुट्टै विमानस्थल हुने अध्येता सिग्देलले बताए । उनी भन्छन, ‘भोलि नेपालमै पाइलट स्कुल चलाउने हो भने यस्तो विमानस्थल अन्त छैन ।’ गुरुयोजना बनाएर सम्पूर्ण पोखरेलीको हित र गण्डकी प्रदेशको इज्जत हुने गरी यो ठाउँको प्रयोग हुनुपर्ने परिषदका अध्यक्ष भट्टराईको भनाइ छ ।
मेयर आचार्य भन्छन, ‘हवाइका ट्रेनिङका कक्षाहरु चलाउने प्रयोजनका लागि पोखरा विमानस्थल उपयुक्त हुने भएकाले केन्द्रमा पनि छलफल गर्छौं । तर, यो खुला ठाउँ कुनै पनि हालतमा मास्न दिदैनौं ।’