योजनाको अवधि लम्बिँदा लागत बढ्छ, लाभ लिन सकिन्न : अध्यक्ष तिमिल्सिना

0Shares

योजनाको अवधि लम्बिँदा लागत बढ्छ, लाभ लिन सकिन्न : अध्यक्ष तिमिल्सिना
काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए ।
मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीका कारण कति स्वास्थ्यलाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको उनले स्मरण गराएका थिए । अध्यक्ष तिमिल्सिनाले आयोजना ढिलो हुँदा लागत बढ्दै गएको र सरकारले यति ठूला आयोजनाको लागत बढ्दै जाँदा धान्न मुस्किल हुने पनि बताए ।

सरकारले योजना ल्याउँदा व्यवहारिकता हेर्न नसकेको भन्दै उनले त्यसलाई सच्याएर अघि बढ्न आवश्यक रहेको पनि सुझाव दिएका थिए । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेका योजनालाई बनाउने कुरा मान्य नहुने उनको भनाइ थियो ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनै पनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौं । मेलम्ची आयोजना पहिल्यै सकिनुपर्थ्यो । यो नसकिँदा आजसम्म हामीले पानीको कारणले कति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको छ । त्यसकारण आयोजना समयमै सक्नुपर्छ । तामाकोसी जलविद्युत आयोजना पनि ढिलो हुँदा लागत बढ्दै गएको छ, राज्यले पाउने चिज गुमाउँदै गएको छ । त्यसकारण समयमै काम सक्नुपर्छ । हामीले योजना गर्दा सुरु र अन्त्य कहिलेसम्म भन्दा व्यवहारिक गरेनौं कि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *