विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा

0Shares

विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा

पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आँफै लड्ने घोषणा गरेका छन् । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उप चुनावको तालिका जारी गरेपछि सर्वप्रथम पीटीआईको आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी आएको थियो र पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाड चौधरीले पत्रकार सम्मेलनमा उक्त सन्दर्भलाई पुष्टि गरेका थिए ।

एआरवाई न्यूजका अनुसार पत्रकारहरूसँगको भेटमा इमरान खानले भने, “यो वर्ष चुनाव हुन्छ, सरकारी दलहरु आँफुलाई एक्लाउन चाहन्छन्, तर  हरेक मञ्चमा शासकहरूविरुद्ध सङ्घर्ष गर्न म तयार हुनेछु ।”

उनले भने, “मलाई अयोग्य बनाउने सरकारी गठबन्धनको योजना कहिल्यै पूरा हुने छैन ।” विश्व प्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानले सिकन्दर सुल्तान राजालाई पाकिस्तानको निर्वाचन आयुक्त (ईसिपी) को रूपमा नियुक्त गर्नु ठूलो भूल भएको बताए ।

भूतपूर्व प्रधानमन्त्रीले दुई विदेशी देशहरूले विगतमा आफूलाई आर्थिक सहयोग दिने प्रस्ताव राखेको बताउँदै आफुले त्यसो गर्न इन्कार गरेको बताए । “लोकप्रिय समर्थन भएका नेताहरूलाई निर्मूल पार्न सकिँदैन,” उनले आफुप्रति पाकिस्तानी नागरिकको अथाह समर्थन रहेको दावी गरे ।

पूर्वप्रधानमन्त्री खानले नौवटै सिटमा उपचुनाव लड्ने घोषणाले धेरैलाई झस्काएको छ । केही टिप्पणीकारहरूले पीटीआई अध्यक्षले अन्य कुनै उपयुक्त उम्मेदवार भेट्टाउन सकेनन् कि भनी प्रश्न उठाएका छन् । 

प्रभात पत्रिकाका अनुसार पाकिस्तानका स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सञ्जाल (फाफेन) का प्रतिनिधि मुदसीर रिज्वीले सिट खाली भएपछि निश्चित समय सीमाभित्र उपनिर्वाचन को व्यवस्था गरिएको र यो प्रावधानको संविधानले व्यवस्था गरेको बताए । उनले भने, “उम्मेदवारलाई धेरै सिटमा प्रतिस्पर्धा गर्न दिने तर एक मात्र कायम राख्ने व्यवस्था गरिएको छ ।” 

इमरान खान पाकिस्तानको प्रधानमन्त्री रहेका समय विपक्षीहरूको आन्दोलनलाई साथ दिँदै पाकिस्तान तेहरिक–इ–इन्सानका राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामूहिक राजीनामा दिएका र पाकिस्तानका तत्कालिन उपसभामुख कासिम सुरीले उनीहरूको राजीनामा स्वीकृत गरेपछि उक्त सीट खालि हुन आएका थिए ।  निर्वाचन आयोगले सेप्टेम्बर २५ राष्ट्रिय सभाका नौ वटा नै सीटमा उप–चुनाव हुने घोषणा शुक्रबार गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *