भट्टराई समूहको बैठक अवैधानिक : यादव

0Shares

भट्टराई समूहको बैठक अवैधानिक : यादव


वीरगन्ज — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले काठमाडौंमा बैठक बोलाएर पार्टीको ब्यानर दुरुपयोग गरेको आरोप लगाएका छन् । भट्टराई समूहको बैठकले वैधानिकता नपाउने पनि उनले बताएका छन् ।

‘त्यो न्यूनतम राजनीतिक संस्कार नभएका व्यक्तिहरूको भेला हो,’ वीरगन्जमा आयोजित केन्द्रीय समिति बैठकमा यादवले भने । 

जसपा अध्यक्ष यादवले बैठक बोलाउँदा भट्टराई नै पन्छिएको आरोप लगाएका छन् । निर्वाचनपछि बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराई नआएर आफ्ना २/३ जना केन्द्रीय सदस्यलाई मात्र पठाएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनभन्दा केही दिनअघि संघीय परिषद्को बैठक बसेको थियो । त्यसपछि केन्द्रीय समिति र केन्द्रीय कार्यकारिणी बैठक बस्यो र हामी निर्वाचनमा गयौं,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन हुँदा केही साथीले हस्ताक्षर चलाउनुभयो । केका लागि भनेर सोध्दा बैठक बोलाउन भनियो तर बैठक बोलाउँदा आउनुभएन ।’

भट्टराईले आफूमाथि एकलौटी निर्णय गरेको भनी भ्रम फैलाएको पनि उनले बताए । भट्टराईको हस्ताक्षर गराउने पुरानो बानी रहेको यादवको टिप्पणी थियो । ‘माओवादी हुँदा पुष्पकमल दाहाललाई हटाउन हस्ताक्षर गराउनुभएको थियो । त्यो हस्ताक्षर बुझाउँदा उहाँले सही गराएका १८ जनाले बैठकमा विरोध गरेका थिए । पछि उहाँले माओवादी छाड्नुभयो, यहाँ पनि संजोग त्यस्तै भएको छ,’ अध्यक्ष यादवले भने, ‘उहाँले गराएको हस्ताक्षर पार्टीमा र बैठकमा पेस गर्नुपर्थ्यो । बहुमत देखाएको भए म अध्यक्ष छाडिहाल्थें ।’

यादवले भट्टराईको मानसिकता गडबड भएजस्तो लागेको पनि टिप्पणी गरेका छन् । ‘आफ्ना ३/४ जना समर्थक बोकेर उहाँ कता–कता बालुवाटारतिर पनि पुग्नुभएको थियो । उनले प्रधानमन्त्रीलाई संसदीय दल पूरै कब्जा भयो, केन्द्रीय समितिमा अत्यधिक बहुमत भइसक्यो, उपेन्द्र यादव अध्यक्ष र संसदीय दलको नेता होइन भनेछन्,’ यादवले भने, ‘कार्यकारिणीमा बहुमत छ भन्नुभयो तर जम्मा ६ जना लिएर बस्नुभएको छ ।’ केन्द्रीय समितिका दुई तिहाइ सदस्य वीरगन्जको बैठकमा उपस्थित रहेको यादवको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *