निर्वाचन हारेको क्षेत्रमा एमालेको प्रतिपक्षी सरकार

0Shares

निर्वाचन हारेको क्षेत्रमा एमालेको प्रतिपक्षी सरकार
खोटाङमा स्थानीय तहको निर्वाचनमा हार बेहोरेको ठाउँमा एमालेले प्रतिपक्षी सरकार बनाउन थालेको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हार बेहोरेको स्थानीय तहमा एमालेले पराजित उम्मेदवारलाई नै सम्बन्धित पालिकाको प्रतिपक्षी सरकार प्रमुखको जिम्मेवारी दिने नीति अख्तियारी गरेको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रतिपक्षी सरकार बनाउन सुरु गरेको हो । एमाले नगर कमिटीको २१ असारमा बसेको बैठकले मेयरका प्रत्यासी कुमार आचार्यलाई प्रतिपक्षी सरकारको प्रमुख बनाउने निर्णय गरेको प्रेस विज्ञापनमार्फत जानकारी दिइएको छ । 
जनताको आम समस्यालाई साथ दिँदै नगरपालिकामा हुने सबै किसिममा अनियमितता, भ्रष्टाचार, कुशासन र गठबन्धनले एकलौटी रूपमा सञ्चालन गर्ने सर्वसत्तावादको विरुद्ध दबाब र खबरदारी गर्न प्रतिपक्षी सरकार बनाइएको एमाले नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्यले बताए । प्रतिपक्ष सरकारमा रहेका नेताले कुनै पनि उपभोक्ता समिति र नगरपालिकाले गर्ने आर्थिक गतिविधिमा समावेश हुन नपाउने व्यवस्था गरिएको छ । 

प्रतिपक्षी सरकारलाई निर्वाचित स्थानीय सरकारलाई रचनात्मक सहयोग गर्ने, जनताका दिनानुदिनका समस्यालाई समाधान गर्न सहजीकरण गर्ने, स्थानीय तहले गर्नुपर्ने योजना छनौट लगायतका सम्पूर्ण काम सर्वपक्षीय र सर्वदलीय छलफल र सहमतिबाट टुंग्याउने विधि अवलम्बन गर्ने, स्थानीय तहले विकास निर्माणका काममा प्रदेश र संघीय सरकारसँग समन्वय गर्न पहल प्रयत्न गर्ने लगायतका १२ बुँदे टिओआर दिइएको छ ।
यस्तै, विचारको आधारमा कुनै पनि कर्मचारी, उपभोक्ता समिति लगायत विभिन्न निकाय र सत्ताबाट दुःख दिने काम भए सशक्त प्रतिवाद गर्ने, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको अवधारणा अपनाउने, स्थानीय तहबाट सञ्चालन हुने आयोजनाको उपभोक्ता समिति गठन सम्बन्धित सबै पक्षको सहमतिमा गर्ने र गुणस्तरीय रूपमा आयोजना सम्पन्न गर्न सहयोग गर्ने, एकलौटी गर्दै भ्रष्टाचार र अनियमितता गरेको देखिएमा सशक्त प्रतिवाद र भण्डाफोर गर्ने, सरकारले गर्ने हरेक कामको सर्वपक्षीय सहभागितामा सार्वजनिक लेखा परीक्षण गर्ने/गराउने जिम्मेवारी दिइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *