जसपाको वैधानिक विभाजन तत्काललाई टर्‍यो

0Shares

आफूविरूद्ध उत्रिएका सांसदलाई यादवले बनाए मन्त्री
पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन भट्टराईलाई कठिन
यादव र भट्टराई पक्षले एकै दिन छुट्टाछुट्टै ठाउँमा बोलाए केन्द्रीय समिति बैठक
काठमाडौँ — जसपा अध्यक्ष उपेन्द्र यादवले आफूविरुद्ध उत्रिएका सांसदलाई मन्त्री बनाएर कानुनी रूपमा पार्टी विभाजनको जोखिम तत्काललाई टारेका छन् । यादवसँग असन्तुष्ट समूहलाई लिएर संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी विभाजन गर्न खोजिरहेका बेला यादवले सोमबार मन्त्री हेरफेर गरेका छन् ।

पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने हुन्छ । सरकारले यसअघि एमाले र जसपा विभाजनकै लागि राजनीतिक दल विभाजनसम्बन्धी ऐनको प्रावधान संशोधन गर्दै पार्टी वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत संख्या पुर्‍याए पुग्ने प्रावधानसहित अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश अहिले निष्क्रिय भइसकेको छ । मन्त्री फेरबदलपछि भट्टराईले वैधानिक रूपमा पार्टी विभाजन गर्ने सम्भावना कमजोर बनेको छ ।
पार्टी सञ्चालनको तौरतरिकामा भट्टराई लामो समयदेखि यादवसँग असन्तुष्ट थिए । पछिल्लो पटक भट्टराई पक्षलाई बाइपास गरेरै यादवले कार्यकारिणी समितिको बैठक राख्ने र निर्णय लिने काम गर्दै आएका थिए । मन्त्री हुन नपाएर अध्यक्ष यादवको चर्को विरोधमा रहेका सांसदलाई आफ्नो पक्षमा तानेर पार्टी विभाजनको रेखा कोरिरहेका भट्टराईलाई कमजोर बनाउनकै लागि यादवले मन्त्रीको ‘कार्ड’ प्रयोग गरेको जसपा नेताहरू बताउँछन् । जसपाको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा इस्तियाक राई, वन तथा वातावरणमन्त्रीमा प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्रीमा मृगेन्द्रप्रसाद सिंह यादव आएका छन् । यी मन्त्रालयमा यसअघि क्रमशः रेणु यादव, रामसहायप्रसाद यादव र महिन्द्र राय यादव थिए । मृगेन्द्र राष्ट्रिय सभाका सांसद हुन् । जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने निरन्तरता दिएको छ । श्रेष्ठ र वरिष्ठ नेता अशोक राईलाई भट्टराईको कित्तामा जानबाट रोक्न श्रेष्ठलाई मन्त्रीमा निरन्तरता दिइएको जसपाका एक नेताले बताए । पछिल्लो पटक वरिष्ठ नेता राई पनि अध्यक्षसँग असन्तुष्ट थिए ।

यादवले पार्टी संसदीय दलमा बलशाली ठानिएका सांसद राईलाई आर्थिक रूपमा प्रभावशाली रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । राई र वन तथा वातावरणमन्त्री प्रदीप यादव अघिल्लो कार्यकालमा मन्त्री हुन नपाएपछि संस्थापनविरोधी कित्तामा थिए । मन्त्री बन्न नपाएको झोंकमा यादवले त्यतिबेला गृहनगर वीरगन्जमा पार्टीका कार्यकारिणी समितिका अध्यक्ष यादवको पुतला दहन नै गरेका थिए । त्यसपछि पार्टी संसदीय दलको नेता परिवर्तनका लागि उनीहरू अग्रमोर्चामा रहेर स‌ंघर्ष गरिरहेका थिए । उनीहरूकै बलबाट भट्टराईले कानुनी रूपमा छुट्टै पार्टी बनाउन खोजिरहेका थिए ।

मन्त्री फेरबदलसँगै राई र यादवसहितका सांसद संस्थापन पक्षमा पुगेपछि भट्टराई दलमा एक्लो भएका छन् । संस्थापन पक्षमै मन्त्री हुन नपाएका र सरकारबाट फिर्ता बोलाइएका नेताहरूको असन्तुष्टि भने कायमै छ तर उनीहरू पार्टी विभाजनका लागि अघि सरेका छैनन् । ‘अध्यक्षजीले छापामार शैलीमा मन्त्रीहरू बदल्नुभयो, हामीलाई आधिकारिक रूपमा जानकारी दिइएन, उहाँको कार्यशैली एकलौटी देखियो,’ मन्त्रीबाट हटेका कृषि तथा पशुपन्छी मन्त्री महिन्द्र राय यादवले भने, ‘पार्टीमा यसको असन्तुष्टि चर्को छ तर के गर्ने भन्नेबारेमा छलफल नगरी निर्णय लिने कुरा हुन्न । म अहिले छलफलमै छु ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीबाट हटेकी रेणु यादवले पार्टीको निर्णय मान्ने बताइन् । उनले मन्त्रीहरू परिवर्तन गर्ने भनेर केही दिनदेखि अध्यक्षले भन्दै आए पनि को–को जाँदै छन् र को–को हट्दै छन् भन्नेबारे मिडियाबाट मात्रै जानकारी पाएको बताइन् । ‘तर यसैलाई लिएर मेरो असन्तुष्टि छैन, पार्टीको निर्णय मानेर जान्छु,’ उनले भनिन्, ‘पार्टी छाड्न लागेको भनेर मेराबारेमा मिडियामा आएका समाचारमा सत्यता छैन ।’

पार्टीमा विकसित पछिल्लो परिदृश्यपछि भट्टराईले के गर्लान् भन्ने चासो बढेको छ । भट्टराईनिकट नेता गंगानारायण श्रेष्ठ आगामी असार २९ र ३० मा काठमाडौंमा विस्तारित केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको र त्यसै बैठकको ‘म्यान्डेट’ अनुसार अघि बढ्ने बताए । ‘हिजो जसले संसदीय दलको नेता परिवर्तन गर्नुपर्छ भनेर लाग्नुभयो, अहिले उहाँहरू नै मन्त्री बन्नुभएको छ, उहाँहरूले के गर्नुहुन्छ थाहा छैन, हामीले के गर्ने भन्नेबारे केन्द्रीय कार्यसमितिको बैठकमै छलफल गर्छौं, त्यसपछि एउटा बाटो तय हुन्छ,’ उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकअघि पार्टी खोल्ने वा बनाउने कुरा छैन । पार्टीलाई एकढिक्का बनाउने कि नबनाउने भन्ने कुरा उपेन्द्रजीको हातमा छ । अहिलेसम्म उहाँ एकलौटी ढंगले अघि बढिरहनुभएको छ ।’

यादव र भट्टराईले एकै दिन केन्द्रीय कार्यसमिति बैठक छुट्टाछुट्टै ठाउँमा बोलाएका छन् । भट्टराईले काठमाडौंमा र यादवले वीरगन्जमा बैठक बोलाएका छन् । सुरुमा यादवले असार २७ र २८ गते बोलाएका थिए । त्यतिबेला मुस्लिम समुदायको प्रमुख चाड बकर इद परेकाले यादवले पनि २९ र ३० गतेकै लागि बैठक राखेको केन्द्रीय कार्यकारिणी समितिका सदस्य मनीष सुमनले बताए । सुमनले दुवै पक्षले बोलाएको बैठक एकै ठाउँमा बस्न सक्ने सम्भावना प्रबल रहेको बताए । ‘अध्यक्षजी पार्टी एकीकरणकै पक्षमा हुनुहुन्छ, बाबुरामजीहरूलाई समेत समेटेर जाने कोसिसमै हुनुहुन्छ, मलाई लाग्छ, केन्द्रीय कार्यसमिति बैठकसमेत एकै ठाउँमा बस्छ र बाबुरामजीहरूसमेत आउनुहुन्छ,’ उनले भने, ‘एकता गर्ने प्रयास रहँदारहँदै पनि कोही यो पार्टीमा बस्दै बस्दिनँ भन्छ भने जान सक्छ तर यसले मधेस प्रदेशमा जसपालाई कुनै राजनीतिक क्षति पुग्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *