मुटु र फोक्सो प्रत्यारोपण भारतमा सस्तो’

14Shares

फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर उच्च
काठमाडौँ — अमेरिका र बेलायतको दाँजोमा भारतमा मुटु र फोक्सो प्रत्यारोपण १० गुणा कम खर्चमा हुने विज्ञले बताएका छन् । खर्च कम हुने भएकाले खाडी राष्ट्रसँगै पश्चिमी मुलुकका बिरामीसमेत भारत आउने गरेको उनीहरूको भनाइ छ ।

नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले फोक्सो र मुटु प्रत्यारोपणसम्बन्धी काठमाडौंमा शुक्रबार गरेको अन्तरक्रियाका विज्ञहरूले फोक्सो प्रत्यारोपण गराउनेको दाँजोमा मुटु प्रत्यारोपण गराएकाहरू बढी बाँच्ने गरेको बताए । पछिल्लो समय फोक्सो प्रत्यारोपण गराएकाहरू औसत ७.४ वर्ष र मुटु प्रत्यारोपण गराउनेहरू १३.३ वर्ष बाँच्ने गरेका छन् । फोक्सोभन्दा मुटु प्रत्यारोपणमा सफलताको दर राम्रो देखिएको छ । अपोलोका कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण विशेषज्ञ डा. मुकेश गोयलका अनुसार मुटु वातावरणको सम्पर्कमा नआए पनि फोक्सो भने निरन्तर श्वासप्रश्वासको माध्यमले वातावरण, प्रदूषण, जीवाणु आदिको सम्पर्कमा आउने भएकाले यो अंगको प्रत्यारोपणमा सफलताको दर कम देखिएको हो ।
केही समयअघि दुर्लभ कारणबाहेक सामान्यतया अन्तिम चरणको क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) अर्थात् दम भएका बिरामी र फोक्सोको फाइब्रोसिस भएका बिरामीका लागि प्रत्यारोपण आवश्यक हुन्थ्यो । पछिल्लो दिन कोभिडले गर्दा फोक्सोमा देखिने फाइब्रोसिसका केही केसमा फोक्सोको प्रत्यारोपणको आवश्यक देखिएको पल्मोनोलजी विभागका डा. एमएस कुँवर बताउँछन् ।

अन्तिम अवस्थामा पुगेका फोक्सो र मुटुका रोगीमा अंग प्रत्यारोपण नगरिए ६ महिनादेखि १ वर्षसम्ममा मृत्यु हुन सक्ने डा. गोयलको भनाइ छ । ६०–६५ वर्षभन्दा कम उमेरमा मुटु प्रत्यारोपण र ६५–७० भन्दा कम उमेरमा फोक्सो प्रत्यारोपण उपयुक्त देखिने विज्ञको भनाइ छ । मुटुको कार्यक्षमता ६० प्रतिशतभन्दा कम हुँदै गएमा यो फेल हुँदै गएको बुझ्नुपर्छ । ‘फेल भएका बिरामीमा मुटुले ३५ प्रतिशतभन्दा कम काम गर्छ,’ इलेक्ट्रोफिजियोलजिस्ट र इन्टरभेन्सनल कार्डियोलजिस्ट डा. बनिता अरोराले भनिन्, ‘यस्ता बिरामीलाई विभिन्न परीक्षण गरेर पेसमेकरजस्ता यन्त्र छातीमा प्रत्यारोपण गर्न सकिन्छ ।’ ३०–३५ प्रतिशत मुटुको कार्यक्षमता भएका बिरामी ब्रस गर्न जाँदा, ओछ्यानबाट उठेर हिँड्दासमेत स्वाँस्वाँ गरिरहेका हुन्छन् । यस्ता बिरामीलाई तीनवटा तार भएको पेसमेकर लगाइने उनले बताइन् । ‘६ महिनादेखि वर्ष दिनसम्म मुटुको कार्यक्षमता राम्रो भइहाल्छ । ४५ प्रतिशत वा योभन्दा बढी पुग्न सक्छ,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *