फैसला आउँदा नआउँदै रञ्जन फरार

0Shares

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको इजलासले दुई वर्षअघि गरेको फैसला बदर भएपछि रञ्जन कोइराला सजाय साढे ११ वर्ष बाँकी
काठमाडौँ — पत्नी हत्यामा जन्मकैद पाएका सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको सजाय घटाउने आफ्नै पूर्वफैसलालाई सर्वोच्च अदालतले बदर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको इजलासले बिहीबार कोइरालालाई २० वर्षको जन्मकैद नै हुने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालालाई जन्मकैद घटाएर साढे ८ वर्ष बनाइदिने फैसला गरेको थियो ।

अनुसन्धान हुँदै जाँदा कोइरालाले पुस २७ मै गीताको हत्या गरेको र मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने स्थानमा जलाएको पुष्टि भयो । माघ ८ मा नागढुंगामा आफैंले चलाएको बा८च ५४०८ नम्बरको गाडीसहित कोइराला पक्राउ परे । उनले आफू निर्दोष रहेको दाबी गरे पनि त्यसमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको इजलाससमेत सहमत भएको थिएन । कोइरालाले नै गीताको हत्या गरेको ठहर्‍याए पनि उक्त इजलासले कैद घटाइदिएको थियो । गीताको हत्यामा रञ्जनलाई नै जिम्मेवार ठहर्‍याएपछि पनि उनको सजाय घटाइदिने फैसलालाई बिहीबार सर्वोच्च अदालतले सच्याएको हो ।

फैसलालगत्तै फरार

सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरिदिएपछि डीआईजी रञ्जन कोइराला फरार भएका छन् । कारागारबाट २ वर्षअघि छुटेका कोइरालालाई फरार सूचीमा राखेर पक्राउ गर्न नेपाल प्रहरीले देशभरका संयन्त्रलाई सक्रिय पारेको हो ।

अघिल्लो फैसला उल्टिने गरी बिहीबार भएको फैसलाको केही अघिसम्म कोइराला सर्वोच्च अदालतमै थिए । सर्वोच्चबाट बाहिरिएपछि मोबाइल फोन स्वीच अफ गरेर सम्पर्कविहीन बनेका हुन् । ‘उहाँ (रञ्जन) बिहीबार दिउँसो सर्वोच्च अदालतमै पुग्नुभएको थियो, फैसला आउँदा भने बाहिरिसक्नुभएको थियो । त्यस बेला मेरो उहाँसँग छोटो कुराकानी हुँदा अब के गर्ने भन्नुभएको थियो,’ गीता ढकालको हत्या अभियोगमा रञ्जनसँगै मुद्दा खेपेकी तारा रेग्मीले बिहीबार राति कान्तिपुरसँग भनिन्, ‘बानेश्वर घर जान्छु भनेर हिँड्नुभएको हो, त्यसपछि मोबाइल अफ छ, कुराकानी हुन पाएको छैन ।’

रेग्मी, कोइराला र उनका छोरा ललितपुरको सानेपास्थित सनराइज अपार्टमेन्टमा बस्दै आएका थिए । कोइरालाको बूढानीलकण्ठ, इचंगुनारायण र बानेश्वरमा घर छ । उनको पुर्ख्यौली घर पोखरा हो । पछिल्लोपटक २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट मुक्त भएपछि भने उनी कहिले सानेपा, कहिले बानेश्वर र इचंगुनारायणलगायत स्थानमा बस्ने गरेको स्रोत बताउँछ ।

कोइरालालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूलगायतबाट प्रहरी खटिएका छन् । उनी भाग्न सक्ने आशंकामा नेपाल–भारततर्फका सीमा नाकामा पनि निगरानी कडा बनाउन प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले सर्वोच्च अदालतको बिहीबारको फैसलापछि कोइरालालाई फरार सूचीमा राखेर खोजबिन अघि बढाइएको बताए । प्रवक्ता केसीले भने, ‘अदालतको फैसला कार्यान्वयनका लागि औपचारिक माध्यमबाट पत्र आउँदै गर्छ तर हामीले विषयको गाम्भीर्यलाई समेत मध्यनजर गरेर रञ्जन कोइरालालाई पक्राउ गर्न संयन्त्रहरू परिचालन गरिसकेका छौं ।’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले पनि कोइरालालाई पक्राउ गर्न संयन्त्र परिचालन भइसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *