भोटेकोसी हाइड्रोमा पुरिएको दुई जनाको शव फेला

0Shares

भोटेकोसी हाइड्रोमा पुरिएको दुई जनाको शव फेला

भोटेकोसी जलविद्युत आयोजना–१ को डिसेन्डर कभर स्ल्याब भत्किँदाको

थाङमिचागु डटकम संवाददाता

भोटेकोसी गाउँपालिका हिन्दी स्थित निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोसी जलविद्युत आयोजना–१ (४० मेगावाट)को डिसेन्डर कभर स्ल्याब एक्कासि भत्केर पुरिएका दुई जना मजदुरको १३ घण्टापछि शव फेला परेको छ । 

ढलान भत्किँदा ११ जना मजदुर घाइते भएका थिए भने दुई जना मजदुर बेपत्ता थिए । ढलानले पुरिएर बेपत्ता भई ज्यान गुमाउनेमा बर्दिया ठाकुर बाबा नगरपालिकाका रामदिन थारु र सोही नपाका सुमन थारु रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । शुक्रवार १ बजेर २५ मिनेटमा ढलान भत्केर पुरिए लगत्तै ढलानको तल्लो भागमा फसेका उनीहरूको सुरक्षा निकायले खोजी र उद्धारमा खटेको थियो । तर शनिवार बिहान ४ बजे उनीहरूको शव प्राप्त भएको हो । 

घटनास्थलबाट घाइते ११ मजदुरलाई उद्धार गरी उपचारका लागि बाह्रबिसे स्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल पुर्याईएको थियो । ११ घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । स्थानीय अस्पतालमा उपचार असम्भव देखिएपछि गम्भीर घाइतेहरूको धुलिखेल अस्पताल उपचार भइरहेको छ । घाइते हुनेमा बर्दिया बाराबर्दिया नगरपालिकाका लहानु थारु, सोही ठेगानाका दुर्गा चौधरी, दोलखा कालिञ्चोकका आइत बहादुर थामी, सोही ठेगानाका बिजय थामी, दिपक थामी, गोपाल थामी, आइतमान थामी, पदमबहादुर थामी, रोल्पा लिबाङ नपाका सासन रोकामगर, दोलखा बैतेश्वर गाउँपालिकाका रामचन्द्र रिमाल रहेका छन् । घाइतेहरूको टाउको, पेट, हातखुट्टा, डाढ लगायतमा चोट लागेको छ ।

उक्त आयोजना भोटेकोसी गाउँपालिका वडा नम्बर १,३,४ र ५ को ४ दशमलव २५ हेक्टर क्षेत्रफल जमिनमा एक वर्ष पहिलादेखि निर्माणाधीन अवस्थामा रहेको छ । करिब ८ अर्ब लागतमा उक्त आयोजना निर्माण भइरहेको छ । २ दशमलव ६ किलोमिटर सुरुङबाट चाकुस्थित पावर हाउसमा बिद्युत् उत्पादन गर्ने लक्ष्य छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण स्ल्याब भत्किएको आयोजनाले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *