एमालेबाट प्रधानमन्त्री भएर देखाउन ओलीलाई दाहालको चुनौती

0Shares

एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन’
काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पार्टीसँग गठबन्धन, सहकार्य नगरी प्रधानमन्त्री बन्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले विगतमा माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको भन्दै आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका हुन् ।

दाहालले एमाले अध्यक्ष ओली दुईपल्ट माओवादीको सहयोगमा प्रधानमन्त्री बनेको बताए । ‘हाम्रो प्रतिपक्षी दलको नेता जसलाई मैले नै सहयोग गरेर, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो । एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन,’ दाहालले भने, ‘पहिलो चोटी पनि माओवादी केन्द्रको, तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त ! अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस् तपाईंलाई मानिन्छ, तपाईं एमालेको हुनुहोला ।’

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पदमा रहेको बेला ओलीले दीर्घकालीन रूपमा बस्नको लागि व्यवस्था गरेको उल्लेख गर्दै दाहालले विगतको पाठबाट सिक्न सुझाव दिए । ‘मैले त सोच्थे उहाँ हुँदोखाँदाको दुई तिहाइको सरकार । दीर्घकालीन ढंगले त्यहाँ रहन्छु भनेर बालुवाटारमा तयारी गर्नुभएको थियो, तर असमयमै बालकोट जानुपर्‍यो । आफ्नै सरकार ढलाएर, आफ्नो पार्टी फुटाएर रियलाइजेसन होला कि भन्ने लागेको थियो,’ उनले भने, ‘भएभरका प्रदेश सरकार गए । अब त आफूतिर फर्किनुहुन्छ होला भन्ने लागेको थियो । राष्ट्रिय सभाको चुनाव भयो । त्यसमा जे भोग्नुभयो त्यसबाट पनि केही त लाग्छ होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचन पछि त आत्मसमीक्षा गर्नुहुन्छ, देशको स्थायित्व, कम्युनिस्ट आन्दोलनको निम्ती तत्पर रहनुहोला भन्ने लागेको थियो ।’ तर ओलीबाट त्यस्तो नभएको दाहालको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *