पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी।।।

0Shares

पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी

१० फागुन, काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने नेताहरुले बनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।

यद्यपि अझै पनि सत्ता गठबन्धन जोगाउन प्रयास भइरहेको एमाले नेताहरु बताउँछन् । बुधबार विहान प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा पनि एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले आपसी विश्वास कायम राख्न पनि १० पुसमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यो दिन प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर आफूले ‘खल्तीको मान्छे’ ल्याउँछ भनेर प्रचार गरिएको भन्दै ओलीले ‘तपाईँले रोजेकै मान्छे ल्याऊँ न त’ भन्दै माधव नेपालको नाम लिएका थिए । तर प्रचण्डले जसपा लगायतका दलहरुसँग छलफल गर्छु भनेपछि ओलीले कांग्रेससँगै जाने निर्णय भए ठीकै छ समेत भनेका थिए ।

माधव नेपालको दबाव

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेर यही प्रस्ताव राखेका थिए । देश संकटमा जान लागेकाले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने उनको प्रस्ताव थियो । त्यसो गर्दा संसदको सबभन्दा ठूलो दल बन्ने र सबै प्राप्त गर्न सकिने भन्दै उनले अध्यक्ष नेपाललाई राष्ट्रपति पनि बनाउन सकिने संकेत गरेका छन् ।

बुधबार पार्टी सचिवालय बैठकमा ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्दै अध्यक्ष नेपालले सोझै प्रस्ताव नगरेको, तर मनोविज्ञानमा त्यो झल्किएको सुनाएका थिए ।

ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि कांग्रेस सभापति देउवा भने दबावमा आएका छन् । एमाले–माओवादीको सत्ता गठबन्धन टुटाउने र राष्ट्रपति लिन निरन्तर प्रचण्डसँग सम्वादमा थिए । प्रचण्डले पनि राष्ट्रपतिमा वचन दिएका थिए । तर ओलीले माधव नेपाललाई गरेको प्रस्तावले सत्ता गठबन्धन जोगिने र भत्किएको अवस्थामा पनि राष्ट्रपति फुत्किने नेताहरुको आशंका थियो ।

त्यसैले माधवकुमार नेपालसँग तत्काल सम्वाद गर्न देउवाले वरिष्ठ नेता पौडेललाई भनेका थिए । बुधबार दिउँसो नेता पौडेलले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष नेपालसँग छलफल समेत गरेका छन् ।
तर पौडेलले खोजेजस्तो राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन अध्यक्ष नेपालले दिएनन् । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष नेपाल आफैं राष्ट्रपति हुन इच्छुक छन् । तर ओलीले प्रस्तावअनुसार एमालेमा पार्टी विलय गरेर नभई कांग्रेसको पनि समर्थन जुटाएर राष्ट्रपति हुने उनको चाहना छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकले पनि राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

लगत्तै अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल र सचिवालय सदस्य घनश्याम भूसाल कांग्रेस सभापति देउवाको निवास धुम्बाराही पुगेका थिए । काग्रेसबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा उपस्थित थिए ।

भेटमा सहभागी नेताहरुका अनुसार अब बन्ने राष्ट्रपति संविधान र लोकतन्त्रको रक्षा गर्ने व्यक्ति हुनुपर्नेमा दुबै दल सहमत छन् । तर दुबैको आआफ्नो दाबी छ । एकीकृत समाजवादीका नेताहरुले आफ्ना अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउँदा परिस्थिति सहज हुने तर्क गरेका थिए । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने गरी कसरी समझदारी हुनसक्ला र भन्ने प्रश्न गरेका छन् ।

प्रचण्डलाई भेट्दा राहत

बुधबार विहान मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु पनि आफ्ना अध्यक्ष महन्थ ठाकुरको नाममा सहमति जुटाउन प्रस्ताव लिएर धुम्बाराही पुगेका थिए । साँझ एकीकृत समाजवादीका नेताहरु आएपछि दबावमा परेका कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

एकीकृत समाजवादीका नेताहरुलाई भेटेपछि कांग्रेस नेताहरु बालुवाटारमा पुगेका थिए । यसअघि एक्लै सम्वाद गर्दै आएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबारको भेटमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव शक्ति बस्नेतलाई पनि सहभागी गराएका छन् ।

कांग्रेसका एक पदाधिकारीका अनुसार राष्ट्रपति आफ्नो दललाई दिने पूर्व समझदारीमा प्रचण्ड कायमै देखिएका छन् । तर एकीकृत समाजवादी र जसपालाई पनि साथमा लिएर जानुपर्नेमा जोड दिएको भन्दै ती पदाधिकारी भन्छन्, ‘माधव नेपाल र उपेन्द्र यादवलाई पनि सँगै लिएर जाने कुराकानी भएको छ ।’

उनकाअनुसार भोलि द्विपक्षीय र संयुक्त छलफल गरेर समझदारीमा पुग्ने प्रयास हुनेछ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने कुरा भएको बताए । उनले अघि भने, ‘छलफल सकारात्मक दिशामा गइरहेको छ । भोलि फेरि बस्ने कुरा भएको छ ।’

माओवादी नेताहरुले भने कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुलाई समर्थन गर्न आग्रह गरेको र आफूहरुले प्रमुख प्रतिपक्षी पनि सम्बोधन गर्ने गरी राष्ट्रपतिमा सहमति गरौं भनिरहेको बताउँछन् ।

‘हामी एमालेसँग पनि सम्वादमै छौं,’ एक नेता भन्छन्, ‘अहिले नै सत्ता गठबन्धन टुटिसक्यो वा पाँचदलीय गठबन्धन ब्यूँतिन्छ भन्न हतार हुन्छ । भोलि साँझसम्म केही भन्न सकिएला ।’

के भयो भने सत्ता गठबन्धन जोगिन्छ त भन्ने प्रश्नमा उनले भने, ‘केपी शर्मा ओलीको व्यवहार सच्चिन्छ भन्ने विश्वास प्रधानमन्त्रीलाई भयो भने जोगिनसक्छ ।’ तर बुधबार विहान भएको छलफलले त्यस्तो कुनै संकेत नगरेको उनले सुनाए ।

एकीकृत समाजवादीका नेताहरु पनि सत्ता गठबन्धन जोगिने सम्भावना कम बन्दै गएको स्वीकार गर्छन् । ‘एकीकृत समाजवादी र जसपाले कांग्रेस–माओवादीलाई साथ दिएन भने यो गठबन्धन जोगिनसक्छ,’ राजनीतिक भेटवार्ताहरुमा सहभागी एक पदाधिकारी भन्छन्, ‘तर ओलीजी जसरी चलिरहनुभएको छ, त्यो (एमाले–माओवादी गठबन्धन जोगिने) सम्भावना कम छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *