म्याग्दीमा एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण माग !!!

0Shares

म्याग्दीमा एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण माग

म्याग्दी — चामल बाँढेको र युवा क्लबलाई चन्दा दिएर मतदाता प्रभावित बनाउन खोजेको भन्दै उजुरी परेपछि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा सदस्यका उम्मेदवार यामबहादुर गर्वुजालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

कांग्रेसका जिल्ला उपसभापति केवी भण्डारीले श्रेष्ठ र गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दिएका थिए । एमाले उम्मेदवारले मालिका गाउँपालिका- ३ रुममा चामल वितरण गरेको र धवलागिरी गाउँपालिका- ४ खिवाङको जनसुधार युवा क्लबलाई १० हजार चन्दा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीपछि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले आरोपित उम्मेदवारलाई सोमबार २४ घण्टे स्पष्टीकरण सोधेको हो । श्रेष्ठको स्पष्टीकरणपत्र उनका प्रतिनिधि प्रमोद श्रेष्ठ र गर्वुजाको पत्र उनका प्रतिनिधि सन्तोष रावलले बुझेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

‘मतदाता प्रभावित बनाउन चामल र रकम बाँडेको उजुरी परेको थियो । आरोपितसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो,’ आचारसंहिता अनुगमन समितिका अध्यक्षसमेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख रामभक्त रानाभाटले भने, ‘दुवै उम्मेदवारको पत्र प्रतिनिधिमार्फत बुझाएका छौं ।’

तिहारअघि रुमका विभिन्न बस्तीमा एमाले नेतृ खरमाया बिटालुले खाद्यान्न सहयोग भन्दै १८ बोरा चामल पठाएकोमा स्थानीयले १० बोरा आफूले राखी बाँकी ८ बोरा फिर्ता पठाएको भन्ने बिटालु र स्थानीयबीचको मोबाइल फोन संवादसमेत सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *