मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
सम्झनाको सम्झनलायक ब्याटिङ
सम्झनाको सम्झनलायक ब्याटिङ
पोखरा — पोखराको मौसम बुधबार निकै खुलेको छ । अघिल्ला दिनहरूमा हल्का वर्षा भइरहेको थियो । त्यसले गर्दा नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटका सुरुआती खेल प्रभावित भए । बुधबार जसरी आकाश खुलेको थियो, त्यसरी पोखरा क्रिकेट मैदानमा सम्झना खड्काको ब्याट खुलेको थियो ।
उनको ब्याटबाट लगातार चौका र रन निस्किरह्यो । ४३ बल सामना गर्दा उनले १० चौका प्रहार गरिन् भने कुल ६० रन बटुलिन् । प्रतियोगिताकै पहिलो अर्धशतक सम्झनाकै नाममा रह्यो । उनकै गतिलो अर्धशतकमा नेपाल पुलिस क्लबले प्रदेश १ विरुद्ध १ सय १८ रनको जित निकालेको थियो । यो पुलिसको लगातार दोस्रो जित हो । दुवै खेलमा सम्झनाले उच्च प्रदर्शन दिइन् । पहिलो खेलमा उनले कर्णाली प्रदेशविरुद्ध २१ बलमा २५ रन जोड्दा दुई चौका प्रहार गरेकी थिइन् ।
यिनी बझाङकी खेलाडी हुन् । २०७१ सालदेखि क्रिकेट खेल्दै आएकी यसअघि सुदूरपश्चिम टिममा थियो । उनले विभागीय टिमबाट पहिलोपल्ट राष्ट्रिय खेल्दै छिन् । त्यसो त उनको टिम नेपाल पुलिस क्लब पनि पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ । जसको कप्तानी रुबिना क्षत्रीले गरिरहेकी छन् । आधा दर्जनभन्दा धेरै राष्ट्र्रिय समेटेर पुलिस क्लबले महिला क्रिकेट टिम खडा गरेको हो । काजल श्रेष्ठ, कविता कुँवर, सवनम राई, अप्सरी बेगम, हिरणमयी रोयजस्ता खेलाडी टिममा छन् ।
कप्तान रुबिना र सम्झना दुवैको लक्ष्य पहिलो सहभागितामै पुलिस क्लबलाई राष्ट्रिय खेलकुदको स्वर्ण दिलाउनेछ । दुई खेल जितेपछि टोलीको मनोबल उकासिएको र आफूले सक्दो प्रदर्शन गरेको सम्झना बताउँछिन् । आफ्नो मुख्य लक्ष्य टिमलाई उपाधि दिलाउनु रहेको सुनाइन् ।
‘पहिलो अर्धशतक बनाउन पाएँ, त्यसमा निकै खुसी छु,’ ब्याटर सम्झनाले भनिन्, ‘क्रिजमा पूरै समय बिताउँछु, राम्रो खेल्छु, टिमलाई जित दिलाउँछु भनेर गएको थिएँ, त्यस्तै प्रदर्शन दिने सकें ।’ दुवै खेलमा राम्रो प्रदर्शन दिन सक्नुमा आफ्नै कडा मिहिनेत रहेको उनले सुनाइन् । दुवैमा सम्झना प्लेयर अफ द म्याच भएकी थिइन् । टिममा प्रशिक्षक र अनुभवी खेलाडीहरूको साथ पाएकाले पनि खेल्न सजिलो महसुस भइरहेको उनले सुनाइन् । उनको लक्ष्य टिमलाई च्याम्पियन बनाउनु र आफू उत्कृष्ट ब्याटर बन्नु रहेको छ ।
सम्झनाको प्रदर्शनबाट कप्तान रुबिना पनि दंग थिइन् । उनले भनिन्, ‘घरेलु क्रिकेटमा ऊ (सम्झना) जत्तिको ब्याटर पाउनु देशकै लागि पनि खुसीको कुरा हो ।’
उसले गर्दा आफ्नो टिमको ब्याटिङ लाइनअप राम्रो भएको रुबिनाले स्विकारिन् । कप्तान रुबिनाले भनिन्, ‘यो भनेको गोल्डेन अवसर हो । ऊ मिहिनेती खेलाडी पनि हो । प्लेयर जब लगनशील भएर प्रदर्शन गर्छ उसले नतिजा पनि दिन्छ । उसले काठमाडौंमा आएर १–२ महिनादेखि आफ्नै प्रयासमा आएर प्रशिक्षण गरिरहेकी छे । मिहिनेत गर्यो भने एउटा लेभलमा आएर त्यसमा प्रभाव देखिन्छ भन्ने सन्देश सम्झनाले दिएकी छन् ।’
दुई खेल जितेको पुलिसको सेमिफाइनल सुरक्षित भएको छ । समूह ‘बी’ मा पुलिस २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ ।
पहिलो खेलमा कर्णाली पुलिससॅग पराजित भएको थियो । लुम्बिनी र प्रदेश १ को खेल वर्षाका कारण सम्भव नभएपछि दुवैले अंक बाॅँडेका थिए । वर्षाकै कारण आर्टिफिसियल म्याट बिछ्याएर पहिलो दिनको खेल खेलाउनुपरेको थियो ।
बुधबार पुलिसले प्रदेश १ लाई १ सय ५९ रनको लक्ष्य दिएको थियो । प्रदेशले २० ओभर खेले पनि ८ विकेट गुमाएर ४० रनमात्र बनाउन सक्यो । प्रदेशबाट कप्तान सानु राजवंशी र ओपनर ललिता राजवंशीले समान ११ रन जोडे पनि अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि हिरनमयीले ३, कविता जोशी, सबनम र कविताले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन खडा गरेको थियो । यो जारी प्रतियोगिताको ठूलो स्कोर पनि हो । पुलिसबाट सम्झनाबाहेक ओपनर कविता कुँवरले ३७ र कप्तान रुबिनाले अविजित १६ रन जोडे । प्रदेश १ की निशा शाहले एक विकेट लिइन् ।
समूह ‘बी’ को अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशमाथि १ सय ४ रनको जित पाएको छ । लुम्बिनीले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य पछ्याएको कर्णाली ८.३ ओभरमात्र टिक्न सक्यो । टोलीले २३ रनमात्र बनायो । कर्णालीका कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उनीहरूलाई सस्तैमा रोक्न लुम्बिनीका मधु डीसीले ४, कृतिका मरासिनीले २ र सुस्मिता भुसालले एक विकेट लिए ।
त्यसअघि टस जितेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन खडा गर्यो । ओपनर लक्ष्मी चौधरीले ३१, कप्तान सरस्वती जीएमले ३०, सुस्मिता बजगाईं र मधुले समान १२ रन बनाए । कर्णालीकी अञ्जु गुरुङले २ र एन्जिला क्षत्रीले एक विकेट लिए ।
लुम्बिनी ३ अंक लिएर पुलिसभन्दा पछाडि दोस्रो स्थानमा छ । प्रदेश १ भने १ अंकसहित तेस्रो स्थानमा छ । कर्णाली भने अंकविहीन छ ।





