लुम्बिनीमा विद्युतीय बस सञ्चालन आजदेखि !

49Shares

लुम्बिनीमा विद्युतीय बस सञ्चालन आजदेखि

भैरहवा — लुम्बिनीमा थन्किएका पाँचवटा विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न र लुम्बिनीसहितको बुद्ध सर्किटको यात्रा गराउन एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान तीन वर्षअघि उपलब्ध गराएको थियो । तर, ती सवारी साधन कसरी सञ्चालन गर्ने भन्नेबारेमा मोडालिटी नहुँदा र पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण नगरेका कारण थन्किएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित समारोहमा विद्युतीय सवारी साधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । उनले ती सवारीसाधन सञ्चालन गर्न बुधबार लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग बैठक बसेर गरिएको निर्णय बिहीबार बिहान ११ बजेभित्रमा आफूलाई जानकारी दिन रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बुधबार भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । ‘ती बसमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकसँग दसैंभरि शुल्क नलिने र अन्य सहयोग र समन्वयका लागि पर्यटन तथा उद्योगी व्यवसायीसँग छलफल गरिनेछ,’ प्रजिअ पाण्डेले भने, ‘थन्किएका ती बस निःशुल्क रूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास छ ।’ तत्काललाई रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावली स्थान रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जनाए ।

उनका अनुसार कोषले विद्युतीय १४ वटा भ्यान पनि आउँदो असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा ल्याउने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले दसैंको उपलक्ष्यमा ५ दिन चार्जिङ स्टेसन र गाडीहरूको मेसिनरी परीक्षण स्वरूप यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको भट्टराईले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *