मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
कमाउन साउदी गएका देवराज ९ महिना अस्पतालको बेडमा बसेर फर्किए
१० असोज सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१२ निवासी २४ वर्षीय देवराज पौडेल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका थिए । हेभी सवारी चालकको काम गर्दै आएका उनी एउटा दुर्घटनामा परे ।

मध्यरात व्यस्त सडकमा १४ चक्के गाडी गुडाइरहेका उनी आफूभन्दा अगाडिको गाडीले एक्कासी ब्रेक लगाएपछि झस्किए । सामानले भरिएको अघिल्लो गाडी झ्याप्प ब्रेक लागेर रोकियो तर उनको खाली गाडी ब्रेक लगाउँदा पनि घस्रिएर अगाडिको गाडीमा ठोक्किन पुग्यो । उनले आफ्नो गाडीमा एक्कासी ब्रेक लगाएकोसम्म थाहा पाए तर त्यसपछि के भयो भन्ने उनलाई केही थाहा भएन । १५ घण्टापछि होसमा आउँदा उनी अस्पतालको बेडमा थिए । उनको हातदेखि कम्मरमुनिको कुनै भाग चल्ने अवस्थामा थिएन ।
‘म त १५ घण्टापछि होसमा आएँ । हातखुट्टा केही चलेका थिएनन् । गर्धनमा ब्याण्डेज लगाएर राखेको थियो,’ उनले भने । उनको मेरूदण्ड भाँच्चिएको थियो । घरमा चार वर्षकी छोरी र श्रीमती छोडेर दुईचार पैसा कमाउन साउदी पुगेका देवराज सो दुर्घटनाका कारण थला परे । उनीसँगै गाडीमा तनहुँका कमल परियार थिए । उनैले प्रहरी र एम्बुलेन्स बोलाएर अस्पतालसम्म लगेका थिए । उनी नभएको भए जे पनि हुनसक्थ्यो ।
कम्पनीले उनकै गल्ती देखाएर उपचार खर्च नव्यहोर्ने भयो । इन्सुरेन्सबाट आउने उपचार खर्चसमेत कम्पनीले बन्द गराइदियो । ‘दुर्घटनापछि गल्ती मेरै देखायो । कम्पनीले केही पनि गर्न सक्दिन भन्यो । इन्सुरेन्स पनि बन्द गराइदियो । पछि दूतावासमा कुरा गरेर दुतावासले नै कम्पनीलाई खर्च व्यहोर्नुपर्ने भनेपछि मात्रै कम्पनीले खर्च व्यहोरेको हो,’ देवराजले भने । ९ महिना साउदीको अस्पतालमा उपचार गराएर उनी यतिबेला नेपाल फर्किएका छन् । घर फर्किन लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै व्यहोरेको उनको भनाइ छ ।
उनी २० सेप्टेम्बरमा नेपाल आइपुगेका थिए । यतिबेला उनी साँगास्थित स्पाइल इन्जुरी पुनर्स्थापना केन्द्र उपचार गराइरहेका छन् । डाक्टरले थेरापी गराएर उपचार गर्ने तर, त्यसको परिणाम के आउँछ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् । ‘ठ्याक्कै यही हुन्छ भन्न सकिने अवस्था छैन । उपचार गराउन धेरै ढिला भइसकेको रहेछ । थेरापी गराउँछौं र त्यसको रिजल्ट के आउँछ, हेर्दै जानुपर्छ भनेका छन्,’ उनले भने । उनले त्यति पीडा त दुर्घटनामा पर्दा भोगेनन्, जति पीडा साउदीमा उपचारको क्रममा भोगे । ९ महिनासम्म त्यत्तिकै जिउँदो लास जसरी अस्पतालको बेडमा राखियो । यदि अस्पतालमा राम्रोसँग उपचार भएको भए सायद उनी आज आफै हिँडडुल गर्न सक्थे ।
अस्पताल पुगेपछि उनको सबैभन्दा पहिला अप्रेशन गरियो । अप्रेशन गरेपछि वार्डमा सारियो । त्यसपछि त्यत्तिकै छोडिदियो । ‘इन्सुरेन्स खोलिदिएको भए सजिलो हुन्थ्यो । इन्सुरेन्स अप्रुभ गरिदिएको भए उपचार पनि राम्रै हुन्थ्यो होला । त्यो नभएपछि उपचार राम्रो भएन,’ उनले भने, ‘पहिला नै थेरापी गरिदिएको भए हुन्थ्यो । त्यो बेला खाली अप्रेशनमात्र गरिदियो । त्यो बाहेक केही पनि गरिएन । अप्रेशन गरेपछि वार्डमा लगेर राखिदियो ।’ उनको हेरचाहका लागि न डाक्टर आए, न त नर्सहरूले उनको केयर गरे । ९ महिनासम्म अस्पतालमा उनलाई त्यत्तिकै बेवारिसे बनाएर छोडियो ।
‘थेरापी र एक्सरसाइजका लागि भनेर डाक्टर एप्रुभ गरिएको थियो । तर, मतलबै गरिएन । डाक्टर हेर्नै नआउने, कहिले १५÷२० दिनमा आउने,’ उनले भने, ‘एकछिन यसो हेरेर जान्थे । उपचार नै त्यति प्रभावकारी भएन । प्रभावकारी ढंगबाट उपचार भएको भए सायद म यतिन्जेलसम्म अस्पतालमा बस्नुपर्ने थिएन ।’ अस्पताल बसाइको क्रममा कति खर्च भयो भन्ने उनलाई केही जानकारी छैन । केही महिना अगाडि उनले कति खर्च भयो भनेर सोधेका थिए । त्यो बेला २ लाख ६५ हजार साउदी रियाल खर्च लागेको थियो । त्यसपछि कति खर्च भयो उनलाई जानकारी छैन ।
विदेशमा अलपत्र परेका तथा समस्या परेका नेपालीलाई सहयोग गर्न धेरै संघसंस्था खुलेका छन् । तर, उनलाई ९ महिनाको अवधिमा न कुनै संघसंस्थाले सहयोग गरे, न कोही भेट्न आए । एनआरएनए साउदीले भने केही सहयोग गरेको थियो । त्यो बाहेक कुनै पनि संघसंस्थाले केही सहयोग नगरेको उनको भनाइ छ । साउदीका अस्पतालमा बिरामीलाई जतिबेला मन लाग्यो त्यति बेला भेट्न मिल्दैन । अस्पतालमा कुरूवा बस्नसमेत दिँदैनन् । भेट्न तोकिएको समयमा साथीभाइ भेट्न आउँथे र हालखबर सोधेर जान्थे । घर परिवारमा छुट्टिएर अलग बसेका उनको उपचार यतिबेला दाइले नै गर्दै आएका छन् । ‘म त कताबाट उपचार गराउने हो र ? दाइले सहयोग गरिराख्नुभएको छ । हेरौं, कहिलेसम्म उपचार गराउन सकिन्छ,’ उनले भने ।





