नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभामा पेस भएको छ ।

0Shares

काठमाडौँ — नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक बुधबार प्रतिनिधिसभामा पेस भएको छ । राज्य व्यवस्था समितिले २२ महिना छलफल गरेर टुंग्याएको विधेयक सरकारले फिर्ता लिएर गत साता नयाँ विधेयक दर्ता गरेको थियो । त्यही विधेयक गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको बैठकमा पेस गरेका हुन् । 

०७२ असोज ३ अघि जन्मसिद्ध नेपाली नागरिकता प्राप्त गरेका नागरिकका छोराछोरीलाई वंशजका आधारमा नागरिकता प्रदान गर्ने गरी विधेयक ल्याएको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई यही बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजका आधारमा नेपालको नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई पनि कुनै सर्त नराखी अंगीकृत नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । राज्य व्यवस्था समितिले विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता दिनुपर्ने व्यवस्था पारित गरेको थियो । गैरआवासीय नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने प्रस्ताव विधेयकमा छ । 

‘संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था गरेकाले संशोधन विधेयक ल्याइएको हो,’ गृहमन्त्री खाँणले विधेयक पेस गर्दै भने, ‘संविधानमा नागरिकतासम्बन्धी व्यवस्थामा संघीय कानुनबमोजिम हुने भनिएकाले विधेयक पेस भएको हो ।’ पारित गर्ने क्रममा रहेको नागरिकता विधेयक फिर्ता लिएर संसद्मा नयाँ विधेयक दर्ता गरिएको विषयमा यसअघि नै तीनवटा विरोधको सूचना दर्ता भएका छन् ।

एमाले सांसद शेरबहादुर तामाङ र भीम रावल तथा नेमिकपाका प्रेम सुवालले विरोधको सूचना पेस गरेका थिए । अबको बैठकमा नागरिकता विधेयकमाथि सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *