रवि लामिछानेको प्रतिबद्धता : शिक्षकलाई सबैभन्दा धेरै तलब, भ्रष्टाचारीको चल अचल सम्पत्ति जफत

0Shares

रवि लामिछानेको प्रतिबद्धता : शिक्षकलाई सबैभन्दा धेरै तलब, भ्रष्टाचारीको चल अचल सम्पत्ति जफत

धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले भ्रष्टाचार नसहने र भ्रष्टाचारी कसैलाई नछाड्ने बताएका छन् । शनिवार चितवनमा गरिएको भेलालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी, व्यापारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् । 

उनले भने–‘भ्रष्टाचारी सम्पूर्ण चल, अचल सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनेछ । मुद्दा छिटो छरितो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ । वर्षौँदेखि थन्किएर बसेका मुद्दाको छिटो फैसलाको वातावरण बनाइनेछ, लैङ्गिक अल्पसङ्ख्यक, बालिका, महिला बलात्कारका मुद्दा छिटो फैसला गर्नका लागि फास्ट ट्रयाक अदालत गठन गरिनेछ ।’

यस्तै जबर्जस्ती करकापमा पारेर धर्म परिवर्तन गराउनेहरूलाई हदैसम्मको कारबाही गर्ने बताए । सनातन वैदिक संस्कृतिलाई प्रवर्द्धन गर्ने, विदेशमा फसेका नेपालीको उद्धार गर्नका लागि र्‍यापिड एक्सन टिम बनाउने बताए । मजदुर किसानका गुनासा सुन्न हेल्प डेस्क बनाउने र उनीहरूको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने बताए । 

स्वास्थ्य उपचार गर्दा सुरुमै पैसा नमाग्ने, उपचार पछि पैसा माग्ने नीति बनाउने बताए । सक्नेले पैसा तिर्ने र नसक्नेको उपचारको पैसा सरकारले तिरिदिने बताए । उनले सबै नागरिकको स्वास्थ्य बिमा गर्ने बताए । यस्तै साना स्वरोजगार व्यवसायीलाई विस्थापन नगरी व्यवस्थापन गर्ने बताए । विपत्मा परेका नागरिकलाई सहुलियतमा ऋण दिने व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । 

सभापति लामिछानेले शिक्षा प्रणालीमा व्यापक सुधार गर्ने बताउँदै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने बताए । पाठ्यपुस्तक र विद्यालयको कक्षा कोठा अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उल्लेख गरे । प्राविधिक, नैतिक, ज्ञानमूलक, रोजगारमुखी र देशै भरी एउटै मापदण्डका शिक्षा प्रणालीको व्यवस्था गर्ने बताए । योग्य शिक्षकलाई राज्यबाट सबैभन्दा बढी तलब सुविधा दिइने उनले बताए । 

उनले भने–‘यो देशमा सबैभन्दा धेरै तलब कसैको हुनेछ भने शिक्षकको हुनेछ । राष्ट्रको सबैभन्दा लगानी केहीमा गरिने छ भने त्यो शिक्षामा लगानी गरिनेछ ।’

यस्तै अपराध अनुसन्धान छिटो गर्नका लागि प्रत्येक प्रहरी चौकीमा भिडियो रेकर्ड गरेर उजुरी लिने व्यवस्था गर्ने बताए । प्रहरी अधिकारीले कुनै राजनीतिक नेता वा व्यापारीलाई भेटेमा स्पष्टीकरण सोधिने बताए । 

अपराध अनुसन्धान गरेको आधारमा प्रहरीको मूल्याङ्कन र प्रोत्साहन गरिने, मोबाइलबाटै ठाउँको ठाउँ घटनाको उजुरी दर्ता गर्ने व्यवस्था मिलाउने उनको प्रतिबद्धता छ । 

सरकारी कार्यालयमा लामो लाइन बस्नु नपर्ने व्यवस्था गर्ने, बिचौलियाबाट सरकारी कार्यालयलाई मुक्त बनाउने, काममा ढिलासुस्ती गरेको उजुरी आएमा ठाउँको ठाउँ कर्मचारीलाई कारबाही गर्ने बताए । सरकारी कार्यालय एकद्वार प्रणाली, अनलाइन प्रणाली, क्यासलेस प्रणाली तथा होम डेलिभरी प्रणालीमा लैजाने प्रतिबद्धता जनाए । यस्तै घरमा छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने र १८ वर्षको उमेरसम्म निश्चित रकम राखिदिने उनको भनाई छ । पार्टी दर्तापछि लामिछानेले चितवनमा पार्टीको पहिलो भेला गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *