सिराहाको वेतहामा नेटवर्कको सास्ती रुखमा राउटर राखेर इन्टरनेट चलाउँदै स्थानीय

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

विनोद अविरल, कार्तिक १०, सिराहा।

सिराहाको लहान नगरपालिका–१५ स्थित वेतहाका स्थानीय बासिन्दा वर्षौंदेखि मोबाइल नेटवर्कको समस्याले सास्ती खेप्न बाध्य छन्। मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयले इन्टरनेट चलाउनसमेत अग्ला रुखमा राउटर राख्नुपर्ने अवस्था रहेको छ।

डिजिटल प्रविधिको तीव्र विकास भइरहेको वर्तमान समयमा पनि वेतहाका बासिन्दाले सामान्य सञ्चार सेवा सहज रूपमा उपभोग गर्न नपाएको गुनासो गरेका छन्। मोबाइल नेटवर्क कमजोर हुँदा आफन्तसँग फोन सम्पर्क गर्न, आवश्यक सूचना आदानप्रदान गर्न तथा इन्टरनेट प्रयोग गर्न कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ।

वेतहा क्षेत्रका कालीखोला, विचारी दह, सिमल चौरी, चौतारा, धनेश टार र गाउँजेलगायतका बस्तीमा लामो समयदेखि नेटवर्कको समस्या कायम रहेको जनाइएको छ। घरभित्र बसेर फोन गर्दा नेटवर्क नलाग्ने भएपछि स्थानीय नेटवर्क खोज्दै अग्ला स्थान तथा डाँडाकाँडा पुग्नुपर्ने बाध्यतामा छन्।

घरनजिकै पर्याप्त नेटवर्क नपाएपछि कतिपय स्थानीयले अग्ला रुखमा राउटर राखेर इन्टरनेट चलाउने वैकल्पिक उपाय अपनाएका छन्। सामान्य सञ्चार सेवाका लागि समेत यस्तो उपाय अपनाउनुपर्ने अवस्थाले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तरबारे प्रश्न उठाएको छ।

नेटवर्कको समस्याले दैनिक जनजीवन, सञ्चार सम्पर्क तथा सूचना प्रविधिको प्रयोगमा प्रत्यक्ष असर पारेको स्थानीयको गुनासो छ। विशेषगरी आपत्कालीन अवस्थामा आफन्त, स्वास्थ्य संस्था वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्नुपर्ने समयमा नेटवर्क उपलब्ध नहुँदा थप जोखिम निम्तिन सक्ने चिन्ता रहेको छ।

स्थानीय बासिन्दाले वेतहा क्षेत्रका विभिन्न बस्तीमा नेटवर्कको अवस्था अध्ययन गरी आवश्यकताअनुसार मोबाइल टावर स्थापना गर्न तथा भरपर्दो सञ्चार सेवा उपलब्ध गराउन सम्बन्धित दूरसञ्चार सेवा प्रदायक कम्पनी र नेपाल दूरसञ्चार प्राधिकरणसँग माग गरेका छन्।

डिजिटल नेपालको अवधारणालाई व्यवहारमा उतार्न ग्रामीण बस्तीका नागरिकलाई समेत गुणस्तरीय सञ्चार सेवाको पहुँचमा ल्याउन आवश्यक छ। वेतहाका बासिन्दाले रुखमा राउटर राखेर इन्टरनेट चलाउनुपर्ने बाध्यताको अन्त्य गर्न सम्बन्धित निकायले समस्या पहिचान गरी दीर्घकालीन समाधानका लागि पहल गर्नुपर्ने देखिन्छ। स्थानीयको यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान कहिले पुग्ने हो भन्ने प्रश्नसमेत उठेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *