कनकाई पुल निर्माणमा ढिलाइ पप्पु महादेव खिम्ती जेभीलाई १ अर्ब ९९ करोड जरिवाना
2026-09-13बिगु गाउँपालिका ८ कापाराङमा ठूलो पहिरो खोला थुनिएपछि तल्लो क्षेत्रमा जोखिम
2026-09-13
चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख किन आउँदैछन् नेपाल

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् ।
जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भ्रमणबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । तर त्यसको पुष्टि गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावास स्रोतले भन्यो, ‘जिम्मेवारी सम्हालेपछि भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो मुलुकमा भ्रमण, भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने चलन छ । नेपाल त्यो प्रक्रियाको पहिलो देश भएको छ । यसको मतलब चीनले नेपाललाई प्राथमिकतामा राखेको छ भन्ने सन्देश दिन खोजिएको पनि हो ।
परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार पनि चार दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने निश्चित भएको छ । साथै, सभामुख अग्नी प्रसाद सापकोटासँग पनि उनको भेटघाट हुनसक्ने बताइएको छ भने अन्य भेटका कार्यक्रम अझैं तय भइसकेका छैनन् ।
चिनियाँ पक्षले नेपालमा अमेरिकाको प्रभाव बढेको मानेको छ । पछिल्लो पटक अमेरिकी परियोजना एमसीसीबारे नेपालमा चर्को बहस हुँदा चिनियाँ पक्ष आरोप प्रत्यारोपमै उत्रिएको थियो । पछिल्लो पटक अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय नेपाल सरकारले गर्दा पनि चीनले स्वागत गरेको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तयारी चलिरहेको छ ।
त्यसअघि सीपीसीका विदेश विभाग प्रमुख नेपाल आउन लागेका हुन् । चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल यो भ्रमणलाई चीनले नेपाललाई दिएको प्राथमिकताका रूपमा बुझ्नुपर्ने बताउँछन् ।
‘यो भ्रमण चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिन्छ भन्ने संकेत हो । नेपालले पनि त्यही हिसाबले हाम्रो चीनसँगको सम्बन्धलाई महत्वपूर्ण सम्बन्धका रूपमा प्राथमिक्तामा राख्नुपर्छ,’ यसलाई परराष्ट्र मामलाका जानकार पौडेलले अनलाइनखबरसँग भने, ‘हाम्रो छिमेकी हो, लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । हामीसँग लामो सीमाना जोडिएको छ । ऐतिहासिक सांस्कृतिक सम्बन्ध छ । अहिले पनि सोही हिसाबले प्राथमिकता पनि दिन्छ भनेर भ्रमणमार्फत सन्देश दिन खोजेको देखिन्छ ।’
भ्रमणलाई वाम गठबन्धन वा पार्टी एकताका लागि हुन लागेको भनेर बुझ्न जरुरी नरहेको समेत उनले बताए । ‘चिनियाँहरूले पटकपटक भनेका छन्, हामी छिमेकी मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गर्दैनौँ । नेपालको शान्ति, स्थिरता, समृद्धि र विकास होस् भन्ने चाहान्छौँ,’ पूर्वराजदूत पौडेल भन्छन्, ‘त्यसैले उहाँको भ्रमणलाई पार्टीसँग जोडेर हेर्न जरुरी छैन ।’
जियानचाओ पछिल्लो एक महिनायता नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर सम्पर्कमा रहँदै आएका छन् । जिम्मेवारी सम्हालेको केही समयपछि नै उनले ९ असारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग र भोलिपल्ट एमाले अध्यक्ष ओलीसँग भिडियो संवाद गरेका थिए । साथै, त्यसको एक हप्तापछि १७ असारमा परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता नारायण खड्कासँग भिडिओ वार्ता गरेका थिए ।





