थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज

0Shares

थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज

सोमबार , वैशाख ७, २०८३

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावती कटुवाचौर नजिक निर्माणाधीन थामी संग्रहालयको जग खन्ने क्रममा प्राचीन दरबारका अवशेष फेला परेका छन्। स्थानीयले लामो समयदेखि ‘खान्डु राजाको दरबार’ भनेर चिनाउँदै आएको स्थानमै यस्ता संरचना भेटिएपछि निर्माण कार्य तत्कालका लागि स्थगित गरिएको छ।

बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन भइरहेको निर्माणका क्रममा ढुंगाबाट बनेका संरचना, पुराना भित्ताका भग्नावशेष तथा दरबार शैली झल्किने संकेतहरू देखिएपछि सम्बन्धित निकायले थप उत्खनन र अध्ययनको प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। प्रारम्भिक रूपमा करिब ४३२.५ वर्गमिटर क्षेत्रफलमा यस्ता अवशेष फेला परेको जनाइएको छ।

स्थानीयवासीका अनुसार यस क्षेत्रमा प्राचीनकालदेखि नै ‘खान्डु राजा’को दरबार रहेको भन्ने किंवदन्ती प्रचलित रहँदै आएको थियो। अहिले भेटिएका संरचनाले उक्त जनविश्वासलाई थप पुष्टि गर्ने आधार तयार पारेको उनीहरूको भनाइ छ। केही स्थानीयले यो दरबार अत्यन्तै पुरानो, सम्भवतः प्राचीन राज्य व्यवस्थाभन्दा अघिको हुन सक्ने अनुमान गरेका छन्।

‘खान्डुडाँडा’ नामले परिचित यो स्थान भौगोलिक रूपमा खुला, रणनीतिक दृष्टिले उपयुक्त तथा सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिँदै आएको छ। थामी समुदायको बाक्लो बसोबास रहेको यस क्षेत्रमा अझै थप ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लुकेर रहेको हुन सक्ने अनुमान गरिएको छ।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूले अब भेटिएका संरचनाको वैज्ञानिक उत्खनन, संरक्षण र अध्ययनलाई प्राथमिकतामा राख्ने बताएका छन्। साथै, आवश्यक अनुसन्धानका लागि पुरातत्व विभागमा पठाउने तयारी समेत भइरहेको छ।

यदि उक्त अवशेषहरू ‘खान्डु राजा’सँग सम्बन्धित भएको प्रमाणित भएमा, यसले थामी समुदायको ऐतिहासिक पहिचान उजागर गर्नुका साथै उक्त क्षेत्रलाई महत्वपूर्ण सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *