विद्यालयको बाँझो जमिनमा रोपियो १७ हजार चियाको बिरुवा

0Shares

विद्यालयको बाँझो जमिनमा रोपियो १७ हजार चियाको बिरुवा

थाङमिचागु डटकम संवाददाता

इलामको एक सामुदायिक विद्यालयको बाँझो जग्गामा १७ हजार चियाको बिरुवा लगाइएको छ। रोङ गाउँपालिका– ३ मा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयको खाली जमिनमा चियाको बिरुवा लगाइएको हो। रोङ गाउँपालिकाले विद्यालयको करिब २४ रोपनी बाँझो जमिनमा बिरुवा लगाएको छ। 

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रमिक प्रयोग गरेर विद्यालयमा चिया लगाएको रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए। गत वर्ष पाँच हजार र यस वर्ष १२ हजार नयाँ चियाको बिरुवा रोपिएको उनले बताए । ‘रोङको वनमार्फत समृद्धि कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरणको संंयुक्त लगानी र प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रमिकमार्फत हामीले चियाको बिरुवा रोप्यौँ। गोडमेलचाहिँ जनश्रमदानमार्फत गरेका छौँ,’ स्याङ्बोले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिक सही ठाउँमा नलगाएको सबै पालिकालाई आलोचना छ। त्यसलाई चिर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थायी रोजगार सिर्जना गर्न श्रमिक यहाँ परिचालन गरेका हौँ ।’

चिया रोपेपछि रोङको नमुनाउन्मुख विद्यालय शान्ति निकेतनलाई दिगो रूपमा आर्थिक स्रोत बन्ने अध्यक्ष स्याङ्बोले बताए । ‘सयौँ रोपनी सरकारी विद्यालयको जमिन बाँझो राखेर मार्कर किन्ने पैसाका लागि सरकारको मुख ताक्ने परिपाटी अन्त्य गर्नका लागि हामीले यो अभियान चलाएका हौँ,’ उनले भने, ‘यो चियाले चार वर्षपछि उत्पादन दिन थालेपछि विद्यालयको आन्तरिक खर्च धान्नेमा हामी ढुक्क छौँ ।’ 

विद्यालयको नाममा र ऐलानी जमिन गरी शान्ति निकेतनसँग करिब १५० रोपनी जग्गा रहेको गाउँपालिकाले जनाएको छ । आगामी दिनमा थप ५० रोपनी क्षेत्रमा चिया विस्तार गर्दै सात वर्षभित्र वार्षिक १० लाख आम्दानी पुर्‍याउने गाउँपालिकाले जनाएको छ। रोङ गाउँपालिकाकै सबैभन्दा बढी करिब चार सय विद्यार्थी रहेको यो विद्यालयले सानो व्यवस्थापकीय खर्चका लागि पनि गाउँपालिकाकै मुख ताक्नुपर्ने अवस्था छ। सात वर्षपछि विद्यालय आन्तरिक खर्च जुटाउन सक्ने अवस्थामा रहने अध्यक्ष स्याङ्बोले जानकारी दिए । 

शान्ति निकेतनमा चियाको बिरुवा रोप्न गाउँपालिकाले बिरुवा खरिद र श्रमिकका लागि नौ लाख दश हजार ८८२ खर्च गरेको छ। गाउँपालिकाको वनमार्फत समृद्धि कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत खर्च गरिएको गाउँपालिकाले जनाएको छ। चियाको बिरुवा रोङ– ३ मा रहेको इको चिया सहकारीबाट ल्याइएको हो। उक्त सहकारीबाट उत्पादन हुने चिया तथा बिरुवा अर्गानिक प्रमाणित हो। यहाँको उत्पादित चिया जर्मनसम्म निर्यात हुन्छ। विद्यालयमा रोपिएको चियालाई पनि अर्गानिक रूपमा उत्पादन गर्ने अध्यक्ष स्याङ्बोले बताए। 

रोङ गाउँपालिकाले सरकारी जमिनलाई बाँझो नराख्ने उद्देश्यका साथ सामुदायिक विद्यालयका जग्गा, ऐलानी जग्गा तथा सामुदायिक वनको जग्गामा भौगोलिक अवस्था हेरेर विभिन्न खेती लगाइएको अध्यक्ष स्याङ्बोले बताए। ‘जिर्मले आधारभूत विद्यालय  र गणेश आधारभूत विद्यालयमा मलबाँस रोपिएको छ । ज्योति आधारभूत विद्यालय, उमा–महेश्वर माध्यमिक विद्यालय, किसान जनहित आधारभूत विद्याालयमा कफी, एभोकाडो, सुपारीजस्ता खेती लगाएका छौँ,’ उनले भने, ‘कुन विद्यालयको भूूगोलमा के फल्छ त्यहीअनुसार खेती गरेर विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्य छ। खेतीका लागि विद्यालयलाई श्रम र बजेट सहयोग गर्छौँ । समुदायलाई जोडेर विद्यालयको स्थायी स्रोत बाँँझो जमिन बनाउँछौँ ।’ 

यस्तै, गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक शिक्षा, शिक्षकलाई प्रविधिमैत्री बनाउन पाठ्यक्रम नै बनाएर कम्प्युटर सिकाउँदै आएको छ। ‘अभिभावक शिक्षा कार्यक्रमअन्तर्गत महिनामा एक दिन विद्यार्थी हाेइन अभिभावक विद्यालय आउँछन्। उनीहरूको डिजिटल हाजिर हुन्छ । विद्यालय नआउने अभिभावकको वडा र पालिकाबाट हुने सिफारिस रोकिन्छ।

विद्यालयमा अभिभावकलाई बालबालिकाको स्याहार, पोषण, संस्कार, अभिभावकको जिम्मेवारी र कर्तव्य सिकाइँदै आइएको छ,’ अध्यक्ष स्याङ्बोले भने, ‘लागू भएको ६ महिनामा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको छ । सबै अभिभावक विद्यालय आएका छन् । सामुदायिक विद्यालय र समुदायको सम्बन्ध टुटेको अवस्थामा यो कार्यक्रम विद्यालय सुधार र समुदायसँग जोड्न कोसेढुंगा साबित भएको छ ।’ 

विद्यार्थीको खातामा जम्मा भयो १९ लाख 
रोङ गाउँपालिकाले गत आर्थिक वर्षबाट अध्यक्षसँग विद्यार्थी कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीको खाताामा प्रत्येक दिन एक रुपैयाँ जम्मा गर्दै आएको छ । गत मंसिर १ गतेबाट यो कार्यक्रम लागू भएको थियो। गाउँपालिकाले दैनिक एक रुपैयाँ जम्मा गर्छ भने विद्यार्थीले पनि न्यूनतम एक रुपैयाँ जम्मा गर्नैपर्छ।

गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयका एक हजार ९८९ विद्यार्थीको प्राइम कमर्सियलसँग सम्झौता गरेर बैंक खाता खुलिसकेको छ । कागजात अपुग हुँदा सामुदायिक विद्यालयका २६४ जना विद्यार्थीको बैंक खाता खुल्न नसकेको गाउँपालिकाले जनाएको छ ।

गत असार मसान्तसम्म विद्यार्थीको खातामा १९ लाख ६ हजार ४८८ रुपैयाँ जम्मा भएको छ । जसमा विद्यार्थीले १४ लाख ११ हजार ८२७ रुपैयाँ, गाउँपालिकाले तीन लाख सात हजार ७६१ रुपैयाँ जम्मा भएको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत एकपटकका लागि प्रत्येक विद्यार्थीको खातामा एक सयका दरले एक लाख ८६ हजार नाै सय जम्मा भएको छ । ‘यो अभियान विद्यार्थीको दीर्घकालीन भविष्यलाई हेरेर ल्याइएको हो,’ उनले भने, ‘अबको दश वर्षपछि कुनै क्याम्पस जाने वेलामा आर्थिक अभावले कोही विद्यार्थी रोकिने छैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *