सहकारीको बचतबाट जीबी राईले भैंसेपाटीमा किनेका थिए ५५ करोडको जग्गा

0Shares

सहकारीको बचतबाट जीबी राईले भैंसेपाटीमा किनेका थिए ५५ करोडको जग्गा

थाङमिचागु डटकम संवाददाता

काठमाडौं- सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानविन समितिले विभिन्न जेलमा रहेका सहकारी सञ्चालकहरुलाई सिंहदरबारमै झिकाएर धमाधम बयान लिइरहेको छ ।

बयानका क्रममा कास्की कारागारबाट सिंहदरबार ल्याइएका बन्दीहरुले जीबी राईद्वारा आफ्ना नातेदारका नाममा अर्बौंको जग्गाजमीन जोडेको सूचना दिएका छन् ।

थुनामा रहेका पोखराको सूर्यदर्शन सहकारी सञ्चालकहरुको बयान लिइसकेपछि समितिले भदौ २ या ३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने गृहकार्य थालेको छ । लामिछानेले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा जीबी राईसँग सहकार्य गरेका कारण समतिले सोधपुछ गर्न लागेको हो ।

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानविन समितिले जेलमा रहेका १३ जनासँग बयान लिइसकेको छ । जेल बाहिर रहेका र अनुसन्धानबाट लहरो तानिएका अन्य व्यक्तिको पनि समितिले बयान लिइरहेको छ । बिहीबार छानबिन समितिले ३ जनासँग बयान लिएको छ ।

‘सहकारीको पैसाबाट जीबी राईले अर्बौं जग्गा जोडे’

सहकारीको अर्बौं रुपैयाँ अपचलान गरेको आरोप लागेका जीबी राई यतिबेला फरार छन् । उनी हाल मलेसियामा रहेको सरकारी अधिकारी र प्रहरीले नै दाबी गरे पनि हालसम्म कसैले पक्राउ गरेर नेपाल ल्याउन सकेको छैन ।

जीबी राईसँगै सहकारीमा काम गरेका अन्य केही सञ्चालकहरु भने कास्की कारागारमा छन् । संसदीय समितिले कास्की कारागारबाट उनीहरुलाई सिंहदरबार झिकाएर वयान लिएको छ, जसबाट केही भित्री सूचना चुहिएका छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलले समितिलाई बयान दिने क्रममा जीवी राईले आफ्ना नातेदारका नाममा अर्बौंको जमीन खरीद गरेको बताएका छन् ।

हाल कारागारमा रहेका रम्तेलले समितिसँगको बयानमा भनेका छन्, ‘जीबी फर्कने अवस्थामा भएको मैले बुझेको छैन । उनको जालो निकै ठुलो छ । नेपाल सरकार र मलेसिया सरकार समन्वय गरेर खोज्नुपर्थ्यो ।’

जीबीले सहकारीको सम्पूर्ण रकम ब्याजसहित तिर्न सक्ने गरी पैसा कमाएको रम्तेलको भनाइ छ । रम्तेलले समितिसँग भनेका छन्, ‘उनले सहकारीको पैसा व्यक्तिगत क्षेत्रमा ठूलो लगानी गरेका छन् । राईले घरजग्गामा लगानी गरेका छन् । सरकारले उनको सम्पत्ति रोक्का गर्नुपर्छ ।’

सहकारी ठगी : १० जनालाई जेलबाट झिकाएर सिंहदरबारमा बयान
सहकारी छानबिन समितिले आरोपितहरूको बयान लिन थाल्ने
सहकारीको बचत हिनामिना- संसदीय समितिले लियो पूर्वराजाका ज्वाइँसँग बयान 
रम्तेलले जीबीको सम्पत्ति कहाँ छ भनेर फेहरिस्थ नै सुनाएको समितिका एक सदस्यले बताए । उनले ललितपुरको भैंसेपाटीमा एकै ठाउँ ५५ करोड भन्दा माथिको जग्गा किनेको रम्तेलको भनाइ उधृत गर्दै समितिका एक सदस्यले खबरहबलाई बताए ।

राईसँग काठमाडौं र पोखरामा गरी करिब २ अर्बभन्दा माथिको घरजग्गा रहेको रम्तेलले बयानमा जनाएका छन् । राईले ससुराली, दाजुभाइ, दिदीबहिनी, श्रीमती र अन्य नातेदारका नाममा जग्गा राखेको बयानमा दाबी गरिएको छ । जीबी मलेसियामा लुकेर बसेको भनिए पनि हाल कहाँ छन्, सरकारले पत्तो लगाउन सकेको छैन ।

समितिले फरार रहेका गोरखा मिडियाका जीबी राई र सुमेरु बचतका सञ्चालक भरत महर्जनलाई पनि जसरी झिकाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सुमेरुका सञ्चालक महर्जन जीबीपछि दोस्रो नम्बरमा सहकारीको बढी रकम अपचलन गर्ने व्यक्ति हुन् । उनी परिवारसहित बेलायत गएर बसेको खुलेको छ । सरकारले उनलाई नेपाल झिकाउने तयारी गरेको छ ।

सहकारी ठगी संलग्न भई फरार रहेका जीबी राई लगायतका सबैलाई झिकाएर बयान लिइने समितिका सदस्यहरु बताउँछन् । फरार रहेका मानिसलाई खोज्न प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले समेत पहल गरिरहेको दाबी सत्ता पक्षका नेताहरुको छ ।

बयान दिने अधिकांशले जीबी राईले सहकारीको रकमबाट गोरखा मिडिया चलाएको भन्दै उनलाई तुरुन्त पक्राउ गर्न सके सहकारीको समस्या ८० प्रतिशत हल हुने बताएका छन् । राईले सहकारीको पैसाले मोज गरेको र उनीसँग अन्य ९ जनाको समूह रहेको पक्राउ परेका सञ्चालकहरुको भनाइ छ ।

स्वर्णलक्ष्मीकी पूर्वअध्यक्षको बयान : मलाई हुत्याएर जीबीका मान्छे छिरे

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठसँग समितिले बुधबार कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । उनी बयानकर्ताबाट तानिएकी हुन् ।

उनले बयानमा भनेकी छिन्, ‘स्वर्णलक्ष्मीमा मैले पहिलो नेतृत्व गरेकी थिएँ । मैले राम्रो काम गरें । तर, मैले ऋण दिइनँ भनेर मलाई सहकारीको अध्यक्षबाट विभिन्न लाञ्छना लगाएर हुत्त्याइयो र जीबी राईका मान्छेलाई सहकारीमा हुलियो । अहिले मलाई पनि बचतकर्ताले घर–समाजमा बस्न दिनुभएको छैन, सरकारले जीबीलाई जसरी पक्रनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *