बलात्कारविरुद्धको भाव सडकमा छताछुल्ल

0Shares

पाँचथर — पाँचथरको फिदिम नगरपालिका–१ की १३ वर्षीया मीना न्यौपाने २०६५ माघ २१ मा घर नजिकैको जंगलमा मृत भेटिइन् । घरबाट हराएको ६ दिन पछि भेटिएकी उनको मृत्युको प्रकृति र शारीरिक अवस्था हेर्दा बलात्कार पछि हत्या भएको प्रस्ट थियो । पोस्टमार्टम रिपोर्टले पनि बलात्कार पछि हत्या गरेको संकेत गर्‍यो । तर दोषी पत्ता लगाउन प्रहरी प्रशासन असक्षम भयो । हत्या हुँदा उनकी बहिनी समीक्षा ४ वर्ष मात्रै पुग्दै थिइन् । घटनापश्चात् साँझ-बिहानै रोएर आमाले व्यक्त गर्ने उद्गार र वेदनाले समीक्षाको मस्तिष्कमा हिंसाजन्य घट्नाका विरुद्ध आगो ओकल्ने विद्रोही भाव सिर्जना गरिदियो ।
अहिले उनले त्यही विद्रोहको भावना सडकमा छताछुल्ल पारेर अभिव्यक्त गरिरहेकी छन् । दिदीकै हत्याको घटनामा आधारित ‘बलात्कारविरुद्व आवाज’ शीर्षकमा नाटक लेखेर पहिलो पटक आफै पढ्ने विद्यालयबाट हिंसाजन्य घटनाविरुद्ध उनी मुखरित भएकी थिइन् । उनी अहिले जिल्लाका सडकहरुमा बलात्कार र महिला हिंसाजन्य घटनाको विरोधमा संघर्ष गर्दैछिन् । उनकै लेखन र निर्देशनमा प्रदर्शन भइरहेको नाटकको सुरुवातमा १३ वर्षीया बालिकालाई प्रहरी र प्रशासनको नेतृत्वमा रहेका व्यक्ति र तिनका आफन्तले एकान्तमा भेटेर बलात्कार गरेपछि उत्पन्न घटना चित्रण गरिएको छ ।

नाटकमा रक्ताम्य शरीरमा घर आएकी बालिकाले सहयोगका लागि परिवारका सदस्य हुँदै समाजसम्म पुगेर न्यायका लागि हारगुहार गर्दा उल्टै इज्जत जाने डर देखाउँछन् । ठूलाबडाविरुद्ध मुद्दा लगाए उल्टै दुःख पाइने र जे भयो ठिकै भयो भन्दै उल्टै पीडा दिनेहरुका कारण झनै विक्षिप्त बनेकी किशोरीका पीडा समेटिएको छ ।

म मरेकी भए तपाँइहरु मेरो न्यायका लागि नारा लगाँउदै सडकमा निस्कनु हुन्थ्यो, कति इमान्दार थिइन्, पापीहरुले सिध्याएछन् भन्दै रोएको नाटक गर्नुहुथ्यो, तर बाँचेर फर्किए पछि न्यायका लागि सहयोग माग्दा नक्कलीको उपाधि दिनुहुन्छ ?, यहाँ हजारौं बालिका बलात्कृत भएका छन्, मेरो ठाउँमा तपाईं वा तपाईंकै छोरीचेली बलात्कारको सिकार भएको भए के हुन्थ्यो ?, कडा स्वरमा उनी नाटकका माध्यमबाट प्रश्न उठाउँछिन ?

बलात्कारविरुद्ध थालेको यो अभियानका लागि उनले फिदिममा सञ्चालित सामुदायिक र निजी विद्यालयमा अध्ययनरत आफ्नै उमेर समूहका छात्राहरुको साथ लिएकी छिन् । ‘दिदीको हत्यापश्चात् आमाको आँखाबाट बगिरहने आँसुसँगै मस्तिष्कबाट हट्न नसकेको दिदीको क्षतविक्षत शरीरलाई बोरामा पोको पारेर अस्पताल पुर्‍याएको दृश्यले बलात्कार र हिंसाविरुद्ध लड्न बाध्य बनायो,’समीक्षा भन्छिन् । फिदिम माविको कक्षा १० मा अध्ययनरत उनी दुई वर्ष अगाडि पहिलो पटक आफ्नै दिदी मिनाको हत्यामा आधारित नाटकलाई विद्यालयकै मञ्चमा प्रस्तुत गरेकी थिइन् ।

पछिल्लो समय उनलाई फिदिम माविसँगै यहाँस्थित मेची इङ्लिस स्कुल, विद्या वरदान बोर्डिङ स्कुल र नयाँ नमुना माविका सहपाठीहरुले सघाइरहेका छन् । पछिल्लो पटक उनीहरुले फिदिमका चोकचोकमा प्रस्तुत गरेको ‘बलात्कारविरुद्ध अभियान’ शीर्षकको नाटक हेर्दा आँखा नरसाउने कोही हुँदैनन् । शनिबार फिदिम बजारको भानु चोकमा देखाइएको यो नाटक हेरिरहँदा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेसँगै सयौं दर्शकका आँखाबाट आँशु बगेका थिए । ‘मरिसकेकी दिदीका हत्यारा पत्तो लाग्लान् र कारबाही होला भन्ने आश मरिसकेको छ, अब यस्ता घटना नदोहोरिउन्, अनि बलात्कारीलाई राज्य र समाजको प्रश्रय नहोस् भन्ने उद्देश्यसहित लड्दैछु र लडि रहनेछु,’उनी भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *