रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयोश्रावण २५, २०८१होम कार्की,  जगदीश्वर पाण्डे

0Shares

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयो
श्रावण २५, २०८१होम कार्की,  जगदीश्वर पाण्डे

५ जनाको अस्तु बिहीबार पशुपतिमा विसर्जन
काठमाडौँ —रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको सहमति लिई रुसमै दाहसंस्कार भएका ५ जना नेपालीको अस्तुधातु पठाइएको हो । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार बिहान ५ जनाको ३० केजीको अस्तुधातु कतार एयरवेजमार्फत मस्कोबाट काठमाडौं ल्याइएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल एयरलाइन्स (कार्गो) का अनुसार कास्कीका देवन राई, स्याङ्जाका प्रितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ, महोत्तरीका अनितकुमार साहको अस्तु परिवारलाई हस्तान्तरण गरिएको हो । मृतकका आफन्तले अस्तु बुझेर बिहीबार आर्यघाटमा विसर्जन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले बिहीबारसम्ममा रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा ३६ जना नेपालीको मृत्यु भइसकेको पुष्टि गरेको छ । बाँकी ३१ को दाहसंस्कार भए/नभएको भने रुसले जनाएको छैन । त्यस्तै शव पठाउन पनि नसक्ने अडान लिएपछि परिवारको सहमतिमा रुसमै दाहसंस्कार भएकाहरूको अस्तु पठाउन भने रुस सहमत भएको हो । २६ वर्षीय देवनको मस्कोस्थित बालाशिखामा अन्त्येष्टि गरिएको थियो । गत कात्तिक १८ मा मारिएका उनको पाँच महिनापछि नेपाली दूतावासको रोहवरमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।

रुसले बाँकी ४ जनाको अत्येष्टि गरेको मिति भने सार्वजनिक गरेको थिएन । गत कात्तिक ३ मा रुस पुगेका स्याङ्जाका २३ वर्षीय हरिप्रसाद मंसिर १९ देखि परिवारको सम्पर्कमा आएका थिएनन् । परिवारले पुस दोस्रो साता एकाएक उनको मृत्युको खबर पाएको थियो । त्यसपछि कुशको शव बनाएर परिवारले दाहसंस्कार गरेका थिए ।

१८ वर्षको उमेरमा नेपाली सेनामा भर्ती भएका उनले साढे दुई वर्षपछि राजीनामा दिएका थिए । मंसिर १८ मा फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले ‘यस्तै छ जिन्दगी, बाँचे भेट, मरे त यत्तिकै’ लेखेका थिए । त्यसैगरी, परराष्ट्र मन्त्रालयले गत मंसिर १८ मा स्याङ्जाका प्रितम रुस–युक्रेन युद्धमा मारिएको पुष्टि गरे पनि स्याङ्जाका गणेश र महोत्तरीका अनितकुमारको कहिले मृत्यु भएको थियो भन्ने खुलाइएको छैन ।

रुसले मृत्यु भएकाहरूमध्ये २२ जनाको परिवारको डीएनए नमुना मागेको छ । जसमध्ये १५ जना (तेह्रथुमका टीकाबहादुर रानामगर, दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, बाँकेका चन्द्रबहादुर बीसी, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बीसी, खोटाङका क्षितिज बस्नेत, प्यूठानका सोमेश सुनुवार र विकास राई, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ) को परिवारको डीएनए नमुना पठाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *