बालकुमारी आन्दोलनमा दुई युवाको मृत्यु !!!

0Shares

बालकुमारी आन्दोलनमा दुई युवाको मृत्यु
किन भयो आन्दोलन !!!

थाङ्मीचागु संवाददाता
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते  भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । 
सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् । 

किन भयो आन्दोलन ?

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार बिहान ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । तर त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यो विषयमा उच्च अदालत पाटनमा  मुद्दा समेत दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

तर १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अरु युवा पनि आन्दोलनमा उत्रिएका हुन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको उनको भनाइ छ । 

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको छ । 

बालकुमारी घटना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *