हिजोको सामन्तवादका सबै अवशेष मेटाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

0Shares

सामन्तवादका सबै अवशेष मेटाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले मिटर ब्याजसहितका सामन्तवादका सबै अवशेष मेटाउन प्रतिबद्ध रहेको बताएका छन् । उनले सरकारले मिटर ब्याजपीडितहरूको समस्या समाधानका लागि अलग्गै जाँचबुझ आयोग बनाएर काम गर्ने सहमति भइसकेको बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले विगतमा बनेका कार्यदलका प्रतिवेदनहरूका आधारमा आयोगले काम गर्ने बताए ।
‘मिटरब्याजको अभ्यास सामन्तवादको अवशेष हो । यसको अन्त्यको अर्को विकल्प छैन । यो सरकार नेपालमा सामन्तवादका सबै अवशेषहरू अन्त्य भयो भनेर सुनिश्चित गर्न चाहन्छ,’ उनले भने, ‘मिटरब्याज पीडितहरूको आन्दोलनप्रति सरकार पूरै गम्भीर छ । सरकार हरहालतमा यो समस्याको समाधान गर्न चाहन्छ । यसका लागि पहिले पनि केही पहलहरू भएका हुन्, तर अहिले सरकारले अब विशेष पहल लिएर काम गर्न चाहन्छ ।’

उनले मिटरब्याज पीडितको न्यायका लागि सरकारले कानुनमा संशोधन गर्ने निर्णय समेत गरिसकेको बताए । ‘अहिले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि जाँचबुझ आयोग नै बनाउने सहमति भएको हो । पहिलेको कार्यदलको प्रतिवेदन लुकाउन खोजिएको होइन, बरु त्यसको आधारमा आयोगले काम थाल्छ,’ उनले भने, ‘सरकारले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट आयोग नै गठन गरेर काम अघि बढाउँछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *