तामाङ टिकटक फापरे ह्वाई प्रतियोगिता २०८३ असार १५ देखि, विजेतालाई रु. २० हजार पुरस्कार
2026-06-20थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ !!!
मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ
माघ १९, २०७९ थाङ्मीचागु डट्ब्कम संवाददाता
काठमाडौँ — मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जना म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर उदयपुरगढी गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लाल बहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामी रहेका छन् ।
रविलाई काठमाडौं महानगरपालिका–३ बाट पक्राउ गरिएको हो भने डम्बरलाई काठमाडौं महानगरपालिका–९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट मंगलबार पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी दान बहादुर मल्लले बताए ।
२६ वर्षीया युवतीलाई कुवेतको रोयल रेष्टुरेन्टमा वेट्रेसको रुपमा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुने गरी काम लगाइदिने र उक्त रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाइदिने प्रलोभन देखाई गत मंसिर २६ गते आरोपित एजेन्टहरूले भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्याएका थिए ।
कुबेत पुगेपछि अन्य एजेन्टहरु मार्फत् १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टा सम्म काममा लगाई श्रमशोषण गरेको उजुरीको आधारमा ब्यूरोले पीडितलाई कुवेतबाट माघ ४ गते उद्दार गरी नेपाल ल्याएको हो ।
कुवेतमा बस्ने प्रतिवादीले पीडित युवतीको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायत सामाजिक संजालहरू प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग अश्लिल कुराकानी गर्ने र सो कुराकानी गरेको रेकर्ड पीडितको श्रीमान लगायत आफन्तलाई पठाइदिने धम्की दिने गरेको समेत अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
ती पीडित युवतीलाई विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजीखुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपछि कसैलाई उजुरी गर्दिनँ भन्ने बेहोराको कागज समेत गराएको अनुसन्धानमा खुलेको एसपी मल्लले बताए । घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । पीडितको उद्धारपछि माघ १० मा मात्र पीडितले ब्यूरोमा जाहेरी दिएकी थिइन् ।





