आफू नभएपछि माधवलाई नेता स्वीकारेका झलनाथ

0Shares

आफू नभएपछि माधवलाई नेता स्वीकारेका झलनाथ
‘दुई बुढाहरुको कुरा केमा मिल्यो, थाहा पाइएन । तर झलनाथले माधवलाई मानेर जान चाहेपछि पुस्तान्तरणको एउटा अवसर गुम्यो’, एक पूर्वपदाधिकारी भन्छन् ।

थाङमिचागु डटकम संवाददाता

२३ असार, काठमाडौं । शनिबार पार्टी निकट प्रवासी एकता मञ्चले राजधानीमा गरेको एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सँगै थिए । एउटै कार्यक्रममा सहभागी दुवै नेताको भाषण मिल्दो थियो, एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना ।

विद्रोह गरेर अलग नभएको भए एमालेका कतिपय नेताहरुको जस्तै बिजोग अवस्था आउन सक्ने बताएर पूर्वप्रधानमन्त्री नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न खोजेका थिए । ‘हामीले देखेका छौं, कतिपय नेताहरुको (एमालेमै बसेकाहरु) के भएको छ, बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो’ अध्यक्ष नेपालले भनेका थिए ।

उनी भन्दा अगाडि सम्बोधन गरेका पूर्वप्रधानमन्त्री खनालले पनि ओलीलाई फेरि एकपटक भष्मासुरकै संज्ञा दिएका थिए । ‘…त्यस्तो शक्तिको (शक्तिशाली नेकपा) नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्‍यायौं, उनी निस्किए भष्मासुर । यो भष्मासुरका कारणले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थतर्फ क्रमशः लाने काम भयो’, खनालले भनेका थिए ।

अर्थात् दुवै नेताले एकस्वरमा आफूहरुले एमालेबाट गरेको विद्रोह ठीक भएको र विद्रोहको मूल कारण ओली रहेको बुझाउने प्रयास गरेका थिए । ९ भदौ २०७८ मा एमालेबाट अलग हुने निर्णयमा दुवै नेताको एउटै मत रहेको पृष्ठभूमि भएकाले सार्वजनिक मन्तव्यको अन्तर्वस्तु मिल्नु नौलो होइन ।

तर एकीकृत समाजवादी गठन भइसकेपछि माधव–झलनाथबीच विकसित शक्ति संघर्ष खेपिरहेका नेता–कार्यकर्तालाई भने यी दुई नेताको भाषणमा समानता देखिनु अर्थपूर्ण हो । अझ केहीदिन अघिसम्म एमालेसहितको वाम सहकार्य र एकतासम्म पुग्नुपर्ने सार्वजनिक प्रस्ताव राखेर माधव नेपालसँग राय बझाइरहेका खनालको अभिव्यक्ति चासोको विषय बनेको छ ।

‘यो महाधिवेशनदेखि अचम्मै देखिन थालेको छ । बाहिर बोली मात्र मिलेको छैन, अरु कुराकानी र निर्णयहरु मिलिरहेको छ’, एकीकृत समाजवादीकै एक नेता भन्छन्, ‘महाधिवेशनको हलभित्र देखिएको दृश्य त भर्खरैका प्रेमीप्रेमिका जस्तो देखिन्थ्यो ।’

एउटै पार्टीका नेताहरुबीच कुरा मिलेको विषयलाई पनि चासोका साथ हेरिनुमा महाधिवेशनअघि देखिएको तिक्तता हो ।

मध्य वर्षामा महाधिवेशन (१६–२० असार) गरिनुको कारण नै माधव र झलनाथबीच रहेको शक्ति संघर्ष थियो । एकअर्कालाई गलाउने र नेतृत्व हत्याउने रणनीतिक दाउपेचकै क्रममा झरीका बीच महाधिवेशन आयोजना गरिएको थियो ।

जुनसुकै हालतमा माधव नेपाल नेतृत्वमा रहिरहन चाहन्थे भने खनाल कुनै हालतमा उनलाई हटाउन चाहन्थे । माधव हटाउन खनालले आफूलाई सैद्धान्तिक–वैचारिक रुपमा मात्र बलियो बनाएका थिएनन्, संगठनात्मक पंक्ति नै तयार पारेका थिए ।

महाधिवेशन सफल पार्ने क्रममा युवा र विद्यार्थी संगठनका नेताहरुलाई स्वयंसेवकको भूमिकाबाट अलग गर्ने निर्णय पार्टीभित्र रहेको अन्तरसंघर्षकै उदाहरण थियो । जबकी महाधिवेशनलाई अनुशासित र व्यवस्थित बनाउन सवैभन्दा बढी उपयोगी संगठन युवा संघ र अनेरास्ववियू नै हुनुपर्ने हो ।

तर यी दुवै संगठनभित्र चर्को अन्तरविरोध छ । युवा संघ नेपालका अध्यक्ष कृष्णकुमार विश्वकर्मा झलनाथ निकट रहेकाले महाधिवेशनकै सम्मुखमा माधव निकटकाहरुले समानान्तर कमिटी घोषणा गरेका थिए । तर त्यसरी समानान्तर कमिटी घोषणाको नेतृत्व गर्ने नितेश पौडेल माधव नेपालकै भाञ्जा थिए । आफ्नै भाञ्जाको नेतृत्वमा रहेको समानान्तर कमिटी खारेज गर्न माधव तयार भएका थिए ।

अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा गर्नेसम्मको मतभेद देखिदैन । तर त्यहाँ पनि अध्यक्ष आरती लामा र महासचिव महेश श्रेष्ठबीच मतभेद छ । यदि यी दुई संगठनले स्वयंसेवक परिचालनको भूमिका पाउने हो भने मैदानमा उनीहरुबीच नै झडप हुन सक्ने नेताहरुको विश्लेषण रह्यो । त्यसैले दुवै संगठनलाई बढी सक्रिय नगराउने नीतिमा नेताहरु पुगेका थिए । युवा र अखिलजस्तै प्रवृत्ति अरु जनसंगठनदेखि भूगोलका कमिटीहरुमा समेत देखिन्छ ।

पार्टी बनेको तीन वर्ष पनि नपुग्दै प्रष्ट दुई धारको अन्तविरोध पार्टीभित्र विकसित हुनुमा माधव र झलनाथकै शक्ति संघर्ष कारण थियो । झलनाथ खनालले पार्टी बन्नासाथै वैचारिक–सैद्धान्तिक विश्लेषण मार्फत् आफूलाई भिन्न बनाउने प्रयास गरेका थिए ।

माधव नेपालले एकीकृत समाजवादीलाई एमालेकै निरन्तरताको अर्को पार्टी बनाउन चाहेका थिए । पार्टी विभाजनपछि मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) मान्ने र नाम पनि नेकपा एमाले (समाजवादी) राख्ने प्रस्ताव माधवको थियो । तर माधवको प्रस्तावित नाम निर्वाचन आयोगले अस्वीकार गर्‍यो भने जबजलाई झलनाथले ।

२०६२/०६३ सालको जनक्रान्तिले राजतन्त्र अन्त्य गरेर मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेपछि जबजको औचित्य नरहेको खनालको विश्लेषण छ । आफ्नै विश्लेषण बमोजिम पार्टीलाई अगाडि बढाउनमा खनालको जोड रह्यो । जसकारण एकीकृत समाजवादीले लामै समय सैद्धान्तिक कार्यक्रम प्रष्ट पार्न सकेन ।

संगठनात्मक संरचना र शैली एमालेकै जस्तो अभ्यास गर्‍यो भने बाँकी विषयमा मौन रह्यो । तर महाधिवेशन नजिकिदै गर्दा झलनाथ र माधवबीच सैद्धान्तिकदेखि पार्टी नेतृत्वको दाबी समेतमा चर्को संघर्ष देखिएको थियो ।

२०७९ मा सम्पन्न तीन तहको चुनावलगत्तै खनालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित वाम सहकार्य र एकतामा जोड दिनुपर्ने सार्वजनिक अभिव्यक्ति र लिखित दस्तावेज तयार पार्दै आएका थिए ।

कतिसम्म भने माधव नेपाल आलोपालोमा प्रधानमन्त्री बन्ने सहमतिबारे समेत खनालले सार्वजनिक खण्डन गर्थे । जबकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माधवले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका थिए ।

गत २१ फागुनपछि सत्ता समीकरण फेरिएपछि त माधव र झलनाथको सार्वजनिक भाषण नै एकअर्कामा केन्द्रित हुन थालेको थियो । जुन तिक्तता महाधिवेशनमा देखिन सक्ने कार्यकर्तादेखि आमवृत्तको बुझाइ थियो । अर्थात् नेतृत्वमा माधव र झलनाथले प्रतिस्पर्धा गर्न सक्ने चर्चा भइरहेको थियो ।

तर अनपेक्षित रुपले एक अर्काबीच मिलाप देखियो । ‘महाधिवेशनका क्रममा माधव र झलनाथबीच देखिएको मिलापले पूर्वानुमानहरु गलत सावित भए । पार्टीभित्रको शक्ति संघर्ष पुरानै नरहने देखियो’, अर्का एक केन्द्रीय सदस्य भन्छन् ।

अर्थपूर्ण यूटर्न

नेताहरुका अनुसार, पाँचदिनसम्म चलेको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण झलनाथ र माधवबीच भएको मिलापकै कारण सम्भव भएको हो । यदि माधवलाई निरन्तरता दिन झलनाथ तयार भएका थिएनन् भने मतदानको प्रक्रियाबाट नेतृत्व चयन हुने निश्चित थियो ।

त्यसरी हुने मतदानमा माधवसँग महासचिव घनश्याम भूसालले प्रतिस्पर्धा गर्ने पनि सहमति भइसकेको थियो । १२ असारमा आफ्नै निवास डल्लु पुगेका भूसाललाई मतदान हुने अवस्थामा साथ दिने वचन खनालले दिएका थिए ।

घनश्यामलाई अगाडि बढाउँदा नेतृत्व परिवर्तनको सन्देश जाने मात्रै नभएर पार्टी पुनर्गठनमा समेत सहयोग पुग्ने निष्कर्ष सहितको विश्लेषण त्यहाँ उपस्थिति नेताहरुले गरेका थिए । ‘मेरो उत्तराधिकारी भएर घनश्याम भूसाल अगाडि बढ्दा मैले साथ दिने हो’, खनालले आफू निकट नेताहरु रहेको त्यो बसाइमा भनेका थिए ।

खनाल र भूसाल निकट नेताहरु त्यसदिनको सहमतिबाट उत्साहित देखिएका थिए । उनीहरुले घनश्यामसँग झलनाथले हात मिलाएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । तर त्यसदिनको सहमति खनाल आफैले सार्वजनिक गरेनन् ।

त्यसबेला घनश्यामलाई माधव नेपालले पनि राम्रै प्रस्तावसहित साथ मागेका थिए । कार्यकारी महासचिव भएर बस्ने अथवा विशेष अधिवेशनबाट नेतृत्व छोड्नेगरी वरिष्ठ उपाध्यक्ष बस्न घनश्यामलाई माधवले प्रस्ताव गरेका थिए ।

दुवै नेताबीच समन्वय (त्यसबेला) गरिरहेका भूसालमा पनि झलनाथको साथ पाए चुनाव लडेरै अध्यक्ष बन्ने चाहना देखियो । भूसाल नेतृत्वमा पुग्दा जाने पुस्तान्तरणको सन्देशले पार्टी पुनर्गठनमा तागत थपिने उनी निकट नेताहरुले प्रचार थालिसकेका थिए । तर उम्मेदवारी भने घोषणा गरेका थिएनन् । सम्भवतः उनी झलनाथबाट सार्वजनिक अपिलको चाहनामा थिए ।

तर यसको ठीक विपरीत बन्दसत्र सुरु हुँदा झलनाथ अध्यक्ष मण्डलको अध्यक्ष बने । यसको अर्थ नेतृत्वको दाबीबाट पछि हट्नु त हुँदै हो, सँगै प्रतिस्पर्धीहरु कसैलाई साथ नदिने भन्ने सामान्यतयाः बुझाइ हुन्छ । अर्थात् नेतृत्व परिवर्तनको लामो तयारी गरेका खनालले महाधिवेशन सुरु भएको भोलिपल्टै नेतृत्वको दाबीबाट पछि हटेर कुनै पक्षमा पनि लबिङ नगर्ने सन्देश दिए ।

स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री खनाल यसरी रातारात यूटर्न हुनुमा अध्यक्ष माधव नेपालसँगको निरन्तरको भेटवार्ता नै हो । खनाललाई मनाउन नेपालले बबरमहल र चक्रपथस्थित होटलहरुमा कुराकानी गरेका थिए । कमलादीस्थित एक होटलमा पनि दुई नेताबीच सम्वाद भएको थियो ।

‘महाधिवेशनको मुखमा केहीपटक भेटवार्ता भयो । तर महाधिवेशनको अघिल्लो दिन चक्रपथको एक होटलमा भएको भेटवार्ता निर्णायक रह्यो’, स्रोतले भन्यो । उनका अनुसार चक्रपथको होटलको भेटपछि नै माधवलाई अध्यक्ष स्वीकारेर जान झलनाथ तयार भएका हुन् ।

माधवलाई नेतृत्व मानेर जान झलनाथ तयार हुँदा भएको सहमतिबारे भने शीर्ष नेताहरु नै प्रष्ट छैनन् । ‘दुई बुढाहरुको कुरा केमा मिल्यो, थाहा पाइएन । तर झलनाथले माधवलाई मानेर जान चाहेपछि पुस्तान्तरणको एउटा अवसर गुम्यो’, एक पूर्वपदाधिकारी भन्छन् ।

घनश्यामलाई एकपटक नेतृत्व छोडेपछि पुरानो पुस्तामा फेरि कहिल्यै नेतृत्व फर्कन नसक्ने साझा बुझाइमा झलनाथलाई माधवले मनाएको हुनसक्ने ती पूर्वपदाधिकारी आशंका गर्छन् । तर खनालले महाधिवेशन हलमा पदाधिकारी घोषणा गर्दा भने कार्यकर्ताको भावनाको सम्मान गर्न सर्वसम्मत नेतृत्व चयन गरिएको निष्कर्ष सुनाएका थिए ।

माधव नेपाल अध्यक्ष, आफू सम्मानित नेता र घनश्याम भूसाल निर्विरोध महासचिव घोषणा गर्दै बन्दसत्र हलमा २० असारमा खनालले भनेका थिए, ‘मतदान होस् भन्ने तपाईंहरु कसैको चाहना थिएन । सबै समूहबाट उठेको आवाज अनुसार निर्विरोध नेतृत्व घोषणा गरेका छौं ।’

भूसाल निकट नेताहरु भने खनालले आफू अनुकुल तर्क गरेर माधव नेपाललाई नै सहयोग गरेको बताउँछन् । ‘नवौं महाधिवेशनमा पनि मौन बसेर झलनाथ खनालले केपी ओलीलाई नै जिताउन सहयोग गर्नुभएको थियो । त्यसबेला पनि माधव नेपालले खुलेर सहयोग गरिदिन धेरै आग्रह गर्नुभएको थियो’, एक नेता भन्छन्, ‘यसपटक पनि त्यस्तै गर्नुभयो ।’

झलनाथले माधवलाई नै साथ दिने देखिएपछि घनश्याम पनि सहमति स्वीकार्न बाध्य भए । त्यसको नतिजा भने महाधिवेशनबाट नेतृत्व चयन गर्न आएका १८ सय प्रतिनिधिलाई घर पठाएर तीन वर्ष अगाडि पार्टी गठनकै बेला जस्तो पदाधिकारी र केन्द्रीय सदस्य छान्ने बैठक लगातार चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *