उपप्रधान परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ द्वारा बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव उद्घाटन ।।।

0Shares

उपप्रधान परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ द्वारा बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय शान्ति महोत्सव उद्घाटन ।।।

थाङ्मीचागु डटकम सम्बादाता
२०८० चैत्र २३ | मध्यान्ह ०६:३० बजे

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा दुई दिने ‘लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव’ शुक्रवारदेखि सुरू भएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसर पारेर आयोजित महोत्सवको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटनलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले ध्यानको माध्यमबाट सामाजिक रूपान्तरण गर्नुपर्ने बताए । ध्यानले आफूलाई चिन्न सिकाउने भएकाले आफूलाई चिन्ने व्यक्ति सधैँ समाजमा पछि पारिएका वर्ग समुदायसँगै सिङ्गो मानव जातिको मुक्तिको पक्षमा उभिने उनले बताए । बुद्ध मार्ग शान्ति र ध्यान एक अर्काको परिपूरक भएको उल्लेख गर्दै लुम्बिनीलाई बुद्धमार्गसंगै ध्यानको पनि केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए ।

ध्यान अँध्यारोबाट उज्यालो, असत्यबाट सत्य, अन्यौलताबाट निश्चिततातर्फको यात्रामा डोर्‍याउने प्रमुख माध्यम भएको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले ध्यानका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यलाई थप मजबुत बनाउन सकिने भएकाले यसलाई अध्यात्मवादको नयाँ आयामका रूपमा लिन सकिने बताए । त्यस्तै गरी नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल हिमाल र नदीहरूले जोडिएको उल्लेख गर्दै सगरमाथा नेपाल चीनबीचको मित्रताको साक्षी भएको बताए ।

बुद्ध जन्मस्थल नेपाल भएको र चीनमा बौद्धमार्गीहरुको अधिक संख्या रहेका कारण धार्मिक तथा सांस्कृतिक रूपमा पनि नेपाल र चीनबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । नेपाली राजकुमारी भृकुटीको र मूर्तिकार अरनिकोलाई नेपाल र चीन दुवै देशमा चर्चा गरिने गरेको स्मरण गर्दै राजदूत सोङले यसबाट परापूर्वकादेखि नै नेपाल र चीनबीच गहिरो मित्रता रहेको बुझ्न सकिने बताए ।

ध्यानले शान्ति र सद्भावको सन्देश दिने र चीन सधैँ आपसी सद्भावको पक्षमा रहेको उनको भनाइ थियो । नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघमा लगे चीनले त्यसको समर्थन गर्ने उल्लेख गर्दै लुम्बिनीलाई ध्यानको राजधानी बनाउन आग्रह गरे ।

त्यस्तै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ध्यानको माध्यमबाट बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसार गर्न सकिने बताए ।

लुम्बिनी हुने यस्ता कार्यक्रमहरूले पर्यटकको संख्या बढाउन र अध्यात्मवादको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सव नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

नेपाल ओभरसिज चाईनिज एशोसियसन (एनओसिए), लुम्बिनी स्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एशोसिएशनसँगको सह आयोजना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय, युनान पर्वतारोहण तथा आउट डोर स्पोर्ट एशोसियसन, लुम्बिनी प्रदेश पर्यटन विकास परिषद् र ग्रिनरोडले सहकार्य गरेका छन् ।

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन र नेपाल चीनबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यले महोत्सव गरिएको हो । शनिवार बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन गरिने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एव पूर्व मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दूरीको हाफ म्याराथन दौड हुनेछ । पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राको लागि ३ किलोमिटर वाकाथन पनि हुनेछ । प्रतियोगिताको विद्यागत रूपमा २० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

शनिवार साँझ लुम्बिनी स्क्वायरमा लुम्बिनी शान्ति कन्सर्ट हुनेछ । विश्व प्रसिद्ध गायिका आनी छोयङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ लगायतका कालाकारहरूको प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *