फेरिँदै गरेको थाङ्मी बस्ती आलम्पुको अनुहार

0Shares

फेरिँदै आलम्पुको अनुहार

दोलखाको विगु गाउँपालिका–६ आलम्पू ।

दोलखाको आलम्पु गाउँ, जहाँ केही वर्षअघिसम्म नयाँ मान्छे प्रवेश गर्दा झ्याल-ढोका बन्द गरेर बस्ने गरिन्थ्यो । पछिल्लो दशकमा हरेक घरमा शौचालय, खानेपानी, बिजुली र गाउँलेको न्यानो सत्कारले यो गाउँको परिचय नै फेरिएको छ ।
दोलखा — ढुंगाले छाएको छानाले झुरुप्प घरहरुको बस्ती टाढाबाट हेर्दा लाग्थ्यो, यहाँका सबै शिक्षित र सम्पन्न हुनुपर्छ । आकर्षक घरले सिंगारिएका भए पनि आलम्पुका घरमा केही वर्षअघिसम्म शौचालय हुँदैनथे । बिरामी परे कोही स्वास्थ्य चौकी पुग्दैनथे । घरमै सुत्केरी हुने चलन थियो ।

१०/१२ वर्षको उमेरमा मागी विवाह चल्थ्यो । आगन्तुकले सजिलै बास पाउँदैनथे । नयाँ मान्छे देखे घरका ढोका-झ्याल बन्द हुन्थे । कुप्रथाले जेलिएको कुना गाउँ थियो आलम्पु ।
घर छाउने ढुंगा खानी रहेको गाउँ अल्पसंख्यक थामी समुदायको बसोबास क्षेत्र हो । यो दुर्गम बस्तीले एक दशकमा आफ्नो परिचय फेरेको छ । ढुंगाले छाएका चिटिक्क परेका घरहरु छैनन् । ढुंगा खानीको गाउँ भनेर चिनिए पनि भूकम्पपछि जस्तापाताले छाएका घरहरु मात्रै देखिन्छन् । परम्परागत घर आलम्पुमा देखिँदैनन् । तर चेतनाको हिसाबले जिल्लाकै नमूना बन्दै गएको छ आलम्पु । स्वास्थ्य संस्थामा पाइला नटेक्ने स्थानीय महिलाको हुल बालबालिकालाई खोप लगाउन लाइन लागेर बसेका भेटिन्छन् ।

घरमा छोरी बुहारी काम धन्दाले नभ्याउँदा हजुरआमाहरु कोक्रो बोकेर नानिनातिनालाई खोप लगाउन स्वास्थ्यचौकी आइपुगेका भेटिन्छन् । एक दशकअघिसम्म चेतना अभावमा महिला स्वास्थ्य जान लजाउँथे । नातिलाई खोप लगाउन आएकी जालीमाया थामीले आलम्पुमा परिवर्तन आएको बताइन् । ‘बुहारीको घरमा काम भएकाले नातिको खोप छुट्ला भनेर आफैं बाकेर आएकी हुँ,’ उनले भनिन्, ‘पहिला यस्तो थिएन, कोही पनि यता आउँदैनथे अहिले त सबै जना आउँछन् ।’ कुनै समय आलम्पुका हरेक घरका एक महिलाले ६/७ वटासम्म सन्तान जन्माउँथे । अझ कतिले त १० जनासम्म पनि ।

१६ सय १५ जनसंख्या रहेको विगु गाउँपालिका–६ आलम्पुमा ९५ प्रतिशत अल्पसंख्यक थामी समुदाय एकदशक अघिसम्म स्वास्थ्य संस्था जान मान्दैनथे । झाडापखाला लागे पनि धामीझाँक्रीकहाँ दौडन्थे । ढुंगामाटोले बनेको स्वास्थ्य चौकी खाली थियो । स्वास्थ्यकर्मी थिएनन् । २०५९ मा पहिलोपटक २२ वर्षको उमेरमा मातृशिशु कार्यकर्ताका रुपमा खटिएकी थिइन कृष्णा थामी । उनको जन्मथलो सोही गाउँ हो । तर उनी ५ वर्षको उमेरबाटै सहरमा बसेर पढेकी थिइन । आलम्पुको विषयमा खासै जानकारी थिएन ।

मातृशिशु कार्यकर्ता भएर आलम्पुमा स्वास्थ्य चौकीमा खटिइन् । सुरक्षित प्रसूति गराउन सरकारले दिने ३ महिनाको तालिम लिएर गाउँमा आएकी उनी आएर छक्क परेकी थिइन् । स्वास्थ्य चौकीको भवन शौचालयमा परिणत भइसकेको थियो । भवनलाई बनमारेको घोल बनाएर सफा गरेको अझै स्मरण छ कृष्णालाई । त्यो अवस्थाबाट अहिले सुगममा फेरिएको छ थामी गाउँ आलम्पु । जँचाउन जानै नमान्ने महिला अहिले स्वास्थ्य चौकी पुगेर सेवा लिने गरेका छन् । बाल र मातृ मृत्यु छैन । स्वास्थ्य चेतनामा बस्तीले ठूलो फड्को मारेको छ । घरमा सुत्केरी हुने महिला प्रसूति गराउन स्वास्थ्य संस्था अनिवार्य आउने गरेका छन् । चीनसँग सीमा जोडिएको आलम्पुले परिचय बदलेको छ । आलम्पुको परिवर्तन त्यतिकै सम्भव भने भएको होइन । उनै कृष्णा जसले मातृशिशु कार्यकर्ता मात्रै बनेर जागिर खाइनन् ।

त्यहाँका महिलालाई दुई दशकसम्म निरन्तर जागृत गराइराखिन् । जसकारण आलम्पु पूर्ण खोप, बाल र मातृ मृत्युदर अन्त्य भएको गाउँ बनेको छ । मातृशिशु कार्यकर्ता बनेर घरघरै पुगेकी उनले स्वास्थ्य चौकीसम्म स्थानीयलाई ल्याउन निकै संघर्ष गर्नुपर्‍यो । तत्कालीन समयमा गर्भवती महिला भएका घरमा पुग्दा उनलाई पराई मान्छे भनेर ढोका थुनेको अनुभव पनि छ ।

‘सुरुमा स्वास्थ्य संस्था जानुपर्छ सबै धामीझाँक्रीको मात्रै भर पर्नु हुँदैन भनेर घरदैलामा पुग्दा ढोका बन्द गर्थे,’ उनले सुनाइन्, ‘म पनि यही गाउँकी हुँ भन्दा थामी भाषामा ज्युज्युमा अर्थात पराइ मान्छे आयो बोल्नु हुँदैन भनेर ढोका बन्द गरेर फर्काउँथे ।’ स्वास्थ्यकर्मी भए पनि सामान्य बिरामी पर्दा धामीझाँक्री पुग्ने स्थानीयलाई स्वास्थ्य चौकी ल्याउन निकै सास्ती खेप्नु परको उनले बताइन् । स्वास्थ्य क्षेत्रमा काम गर्न आएका केही गैरसरकारी संस्थाले त आलम्पु परिर्वतन गर्न सकिँदैन भन्दा चसक्क मन पोल्ने गरेको उनको अनुभव छ ।

स्थानीयलाई स्वास्थ्य चौकी ल्याउन उतिबेला सबैभन्दा प्रभावकारी साँस्कृतिक कार्यक्रम माध्यम बनाइन् । २०६३ सालपछि गाउँमा महिनैपिच्छे नाटक र साँस्कृतिक कार्यक्रमको अभियान चलाइन । स्थानीय यस्ता कार्यक्रममा सहभागी हुन थाले । स्वास्थ्य चेतनाका कुरा नाटकमार्फत बुझाउन उनलाई केही सहज भयो । स्थानीयसँग घुलमिल बढेपछि गर्भवती महिला जाँचका लागि घरघरै पुगेर परीक्षण गरेको उनले बताइन ।

कतै प्रसूति बेथाले च्यापेको सुनेपछि सुत्केरी गराउने सामान बोकेर घरै पुगेको उनी सुनाउँछिन् । ‘स्वास्थ्य संस्था नआउने धेरै गर्भवतीलाई घरमै पुगेर प्रसूति गराएकी छु,’ उनले भनिन्, ‘दुर्गम भेग खोलाका फड्के तर्नुपर्थ्यो । आफैं ८ महिनाको पेट भएको बेला फड्केबाट समेत खसेको अनुभव छ ।’

आलम्पु मात्रै होइन नजिकैको खोपाचागु, चिलंखा समेत पुगेर तत्कालिन समयमा प्रसूति गराउने गरेको बताइन् । उनका श्रीमान पनि स्वास्थ्यकर्मी हुन् । लोक सेवा आयोगको परीक्षा दिएर श्रीमान रत्न पनि सोही गाउँमा दरबन्दीमा आएपछि उनले थप आड पाएको बताइन् । दुवै जना एकै गाउँका हुन् ।

तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पदमबहादुर थामीले आलम्पुको त्यो बेलाको स्वास्थ्य अवस्था भयावह रहेको बताए । ‘गाउँमा स्वास्थ्य चौकी बनायौं तर स्वास्थ्यकर्मी आउँदैनथे,’ उनले भने, ‘घरमै सुत्केरी गराउँदा धेरैको ज्यान गएको आफ्नै आँखाले देखेको छु, कति शिशुलाई यही हातले गाडेको छु ।’ नुनका लागि दुई दिन हिड्नुपर्ने आलम्पुले परिवर्तन संवाहक कृष्णा पाएको उनले बताए ।

‘निकै कष्ट गरेर सहरमा हुर्केकी कृष्णाले कुरीति र कुप्रथाले जरो गाडेको गाउँ परिवर्तन गरिन्,’ उनले भने, सहरमा पढेर हुर्केकाहरु गाउँ चटक्कै बिर्सन्छन्, कृष्णाले भने २० वर्ष यही गाउँका स्थानीयको सेवा मात्रै गरिनन् चेतनामै ठूलो परिवर्तन ल्याइदिइन् ।’ आलम्पु सडक सञ्जालमा जोडिएको थिएन ।

औषधि लिन २ दिनको पैदल हिँडेर सदरमुकाम चरीकोट पुग्नुपर्थ्यो । त्यहाँ पनि दुर्गमबाट आएको भनेपछि ‘स्वास्थ्य संस्थामा बस्दैनौ किन चाहियो औषधि ?’ भनेर केही दिनका लागि पुग्ने दिएर पठाउने गरेको कृष्णाले बताइन् । साथै स्थानीयलाई धामीझाँक्रीकै सहयोगमा स्वास्थ्य संस्था आउने वातावरण बनाएको उनी बताउँछिन् । आलम्पु यसरी फेरिनुको पछाडि कृष्णाको निकै लामो र कठिन संघर्ष पनि एक कारक सावित भएको छ ।

गर्भवतीहरु जाँचका लागि स्वास्थ्य संस्थामा आउने गर्छन् । सतप्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुन्छ । बालबालिकाको खोप छुटाउँदैनन् । हरेक घरमा शौचालय छ । शुद्ध खानेपानी पुगेको छ । सडक र विद्युतले आलम्पु सुगम भएको छ । बास नपाइने गाउँको परिचय फेरिएर धेरैको घुम्ने थलो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *