नेपाल प्रहरीले रविको राहदानी अनुसन्धानको उजुरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा पेस

0Shares

प्रहरीले रविको राहदानी अनुसन्धानको उजुरी दर्ता नगरेपछि सरकारी वकिल कार्यालयमा पेस

माघ २४, २०७९
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकका हैसियतमा नेपाल आई राहदानी (पासपोर्ट) लिएर फौजदारी अपराध गरेको विषयमा अनुसन्धान गरी कारबाही गरिपाउँ भनी परेको निवेदन प्रहरीले दर्तासम्म गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस भएको छ ।

रवि लामिछानेको राहदानी सम्बन्धमा छानबिन गरिपाउँ भनेर युवराज पौडेलले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मंगलबार निवेदन पेस गरेका छन् ।सरकारी वकिलको कार्यालयले बिहीबार फेरि बोलाएको पौडेलले जानकारी दिए ।
‘रवि लामिछानेले गरेको कसुर तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसुर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)को व्यवस्थाअनुसार निज कसुरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानुन बमोजिम मुद्दा चलाई पाउँ,’ जिल्ला सरकारी वकिलको कार्यालयमा पेस भएको निवेदनमा भनिएको छ ।

प्रहरी परिसर टेकु, काठमाडौंले प्रमाणसहित जाहेरी दिँदा पनि दर्ता गर्न नमानेपछि आफू कानुन बमोजिम नै जिल्ला सरकारी वकिलको कार्यालय आउनुपरेको पनि पौडेलले निवेदनमा उल्लेख गरेका छन् । ‘गैर नेपाली नागरिक रही प्राप्त गरेको सो ०८८३४८३८ नम्बरको निज कसुरदारको नामको राहदानी, राहदानी ऐन बमोजिम रद्द गर्न तथा राहदानी सम्बन्धी कसुरको अनुसन्धान भई रहेको सिलसिलामा निज कसुरदारको नाममा नयाँ राहदानी समेत जारी नगर्ने गरी कसुरको अनुसन्धान तथा कानुन बमोजिम मुद्दाको कारबाही चलाई पाउँ भनी मिति २०७९ माघ १७ गते जिल्ला प्रहरी परिसर टेकु, काठामडौंमा जाहेरी दर्ताको लागि पेस गरिएकोमा सो कार्यालयले यथोचित प्रमाण हुँदाहुँदै पनि सत्ता शक्तिको कारण जाहेरी दर्ता नगरेको,’ भन्ने पौडेलले निवेदनमा उल्लेख गरेका छन् । प्रहरीले उजुरी लिन नमानेमा सरकारी वकिलको कार्यालयमा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ ।

अमेरिकी पासपोर्टमा नेपाल छिरेको १६औं दिनमा नेपाली पासपोर्ट
रविसँग तीन वर्षसम्म दुई राहदानी, रोकिएको अनुसन्धान अब होला ?
लामिछानेले अमेरिकी नागरिक बनेपछि निष्क्रिय बनेको २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी नागरिकता प्रयोग गरी २७ मे २०१५ मा ०८८३४८३८ नम्बरको नेपाली पासपोर्ट लिएका थिए । त्यतिबेला उनी नातेदार भिसामा ५१२९६६९८१ नम्बर अमेरिकी राहदानी बोकेर नेपाल आएका थिए । लामिछाने चितवन २ बाट सांसद निर्वाचित भएपछि राहदानीको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो ।

गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । जिल्ला प्रशासनले प्रहरीलाई अनुसन्धानका लागि निर्देशन दिएको थियो । प्रहरीले छानबिन गरिरहेकै बेला लामिछाने गृहमन्त्री बनेका थिए । त्यसपछि उक्त अनुसन्धान तथा छानबिन प्रक्रिया रोकिएको थियो । लामिछानेलाई सर्वोच्च अदालतले माघ १३ गते सांसद बन्न अयोग्य रहेको भन्ने फैसला गरेको थियो । त्यसपछि उनको राहदानीको विषयमा छानबिन गर्न फेरि उजुरी परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *