अवैध संरचना भत्काउन डोजर लिएर निस्किए हर्क साम्पाङ, प्रहरीसँग झडप

0Shares

सुनसरी । हर्क साम्पाङ मेयर रहेको धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ ।

धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो । धरान उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन उपमहानगरले भने पनि अटेर गरेर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ । उक्त घर मुना चौधरी लिम्बूले बनाएको बताइएको छ । घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो । 

घर भत्काउने क्रममा दोहोरो झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् । धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रङ्गशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास हुन थालेकोले र पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । 

पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयवासी विरोधमा उत्रिएका थिए । पहिलादेखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै पूर्ववडाध्यक्ष लिम्बूले खोलाको भाग सीमाङ्कन गर्नुपर्ने पनि माग राखेका थिए । यसअघि पनि प्रहरी सो स्थानमा सो संरचना भत्काउन पुगेको थियो । स्थानीयवासीको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।

उपनगरपालिकाले अवैधरूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते सूचना टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डोजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । घर भत्काउने आदेशको माग गर्दै स्थानीयवासीले विरोध गरेपछि त्यहाँबाट फर्किएको थियो । हर्क साम्पाङले फेसबुकबाटै खोला खोली छेउछाउ जग्गा  किनबेच गर्नेको नाम दिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *