मुलुक समृद्ध बनाउने शीर्ष नेताको दाबी

0Shares

मुलुक समृद्ध बनाउने शीर्ष नेताको दाबी

पुस २६, २०७९ थाङ्मीचागु डट कम संवाददाता
भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्ने र विगतमा भएका भ्रष्टाचारको समेत छानबिन गर्ने आश्वासन
काठमाडौँ — संविधान जारी भएपछि निर्वाचित दोस्रो प्रतिनिधिसभाले काम सुरु गरेको छ । पहिलो बैठकमा सोमबार दलका नेताहरूले शुभकामना आदानप्रदान गरे भने मंगलबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची छ । माघ ९ भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्ने सहमति दलहरूबीच भएको छ । 

पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना आदानप्रदान गर्दै मुलुक विकासका योजना सुनाए । उनीहरूले मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्ने मात्रै बताएनन्, विगतमा भएका भ्रष्टाचारको समेत छानबिन गर्ने दाबी गरेका छन् । संसदलाई जनताप्रति उत्तरदायी बनाउने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताएका छन् । सुशासन र जनजीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसद्मा हुने बताएका हुन् । ‘हामी भर्खरै जननिर्वाचित भएका छौं । जनताको हामीमाथिको समर्थन ससर्त छ भन्ने लाग्छ, निःसर्त छैन । हामी सुशासन दिन सक्छौं वा सक्दैनौं ? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं वा सक्दैनौं ?’ उनले भने, ‘जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन् ।’ परम्परागत राजनीतिक अभ्यासले मात्र नागरिकको चाहना पूरा नहुने भन्दै सबै सांसद जनताको निरन्तर निगरानीमा रहेको उनले बताए । मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने बेला आएको दाहालले बताए । ‘हामीलाई समस्या केलाएर बस्ने मात्र छुट छैन, समाधानको सूत्र पहिल्याउनुपर्नेछ,’ उनले भने, ‘म आशावादी छु । यो प्रतिनिधिसभा सार्थक संवादको थलो बन्नेछ । हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ ।’

प्रतिनिधिसभामा आएका नयाँ दल र सांसद संसद्को पुँजी भएको दाहालले बताए । प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व छ । तीमध्ये राष्ट्रिय स्वतन्त्र, जनमत, नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा नयाँ हुन् । यी तीन दलका २९ सांसद छन् । नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र, नागरिक सम्प्रभुताको जित भएको भन्दै दाहालले भने, ‘बिनाइर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरूमा केही गरौं भन्ने हुटहुटी छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरूलाई पाँच वर्षको कार्यकालमा जनताको भावना र देश हितमा काम गर्न शुभकामना दिए । प्रतिनिधिसभामा ८९ सांसद रहेर सबैभन्दा ठूलो दल भए पनि कांग्रेस सत्ताबाहिर छ । उनले आफ्नो पार्टी लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्न लागिपर्ने बताए । ‘देश र जनताको बृहत्तर हितमा काम गर्नेछौं, यो प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुनेछ, जनजीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ,’ उनले भने । प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न उनले आग्रह गरे ।

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएको बेला दुईपटक गरेको विघटन सही भएको जिकिर गरे । ‘नेपालमा बडो हल्ला चलाइयो, प्रतिनिधिसभा विघटन भनेको प्रतिगमन हो कि ? बेलायतमा त कतिपल्ट प्रतिगमन भएछ त्यसो भए त । संसदीय प्रणालीको जन्मदाता देशामा प्रतिगमन अस्तिसम्म भएको थियो । यति धेरै जान्ने पनि अलिक नहौं कि ?’ उनले भने, ‘प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकार खोसिनु प्रतिगमन हो । जनताको अभिमतका लागि जनतामा जानु र सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन ।’ संसद्बाट सरकार बन्नु, संसद्बाट सरकार ढल्नु प्रतिगमन नभएको उनले बताए ।

अहिलेको सत्तारूढ गठबन्धन प्रतिगमनको पक्षमा नरहेको ओलीले दाबी गरे । वर्तमान सत्ता समीकरण राष्ट्रियताको पक्षमा जाने उनले बताए । उनले भने, ‘सांसद/नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने ? कहिले के गर्ने ? गोटी चालाचाल होइन, काम गरौं । म सबै दलहरूलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारमा कारबाही गर्न आफू निर्मम हुने बताए । विगतका भ्रष्टाचारको फाइल खोलिने उनको दाबी छ । बैठकमा सम्बोधन गर्दा छातीमा हात राखेर उनले पार्टीका सांसदले जनताको शिर निहुरिन नदिने प्रतिबद्धता जनाए । ‘यो मुलुकमा अब परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बजाएका घण्टीको ध्वनि हो र यो ध्वनिलाई संसद्ले सुन्नेछ, सदुपयोग गर्नेछ,’ उनले भने, ‘म र मसम्बद्ध दलका कुनै पनि प्रतिनिधिबाट, सांसदबाट कुनै पनि किसिमको अनियमितता हुने छैन । कहींकतै नागरिकलाई दुःख दिने काम हुने छैन । कुनै काण्डहरूमा हामी मुछिने छैनौं ।’ गैरकानुनी क्रियाकलापमा जोडिएका मान्छेलाई छुटाउन दबाब नदिन उनले आग्रह गरे । ‘आपराधिक गतिविधिमा यदि छानबिन भइरहेको छ भने त्यसलाई प्रभाव पार्नका निमित्त आफ्ना मान्छेहरू छुटाउनुपर्‍यो भन्ने किसिमका दबाब सिर्जना नगरिदिनुहोला । ल एन्ड अर्डरलाई पालना गर्ने हो भने त्यसको सुरुवात यो गरिमामय संसद्मा उपस्थित हामी सबैबाट हुनुपर्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू देशको अस्थिरताको कारक नबन्ने बताएका छन् । ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अगाडि बढ्छु भन्ने अवस्था छैन । हामीभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन । त्यसैले देशलाई शिरमा राखेर देशका समस्याहरूलाई सामूहिक रूपमा सम्बोधन गर्नुपर्छ,’ लिङ्देनले भने, ‘राप्रपा देशमा अस्थिरताको कारक बन्ने छैन ।’

जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहाय प्रसाद यादवले संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संघीयताको कार्यान्वयन गर्ने कुरामा सरकार चुकेको बताए । ‘प्रदेशलाई अझै आर्थिक र वित्तीय प्रणाली हस्तान्तरण भएको छैन,’ उनले भने, ‘प्रदेशलाई कमजोर बनाउने काम भइरहेको छ । केन्द्रीकृत सरकार फर्काउने तयारी भइरहेको छ ।’ नागरिकता विधेयक पारित गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘यसअघि दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिको कार्यालयमा विधेयक अड्किएको छ,’ उनले भने, ‘नेपाली नागरिकका सन्तान अन्यायमा परेका छन् । नागरिकता विधेयक पारित गरेर नागरिक बनाउने काम गरौं ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भन्ने मनन गर्न आग्रह गरेका छन् । उनले भने, ‘परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढोस् । बोली र व्यवहारमा सामञ्जस्य आओस् । हामी पनि चाहन्नौं कि छिनछिनमा सरकार परिवर्तन होस् ।’

लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले अहिलेको निर्वाचनमा जनताले मिलीजुली सरकार बनाउन जनमत दिएको बताएका छन् । जनता आक्रोशित र निराश भए पनि आशावादी रहेको उनले बताए । ‘जनता आक्रोशित छन्, निराश छन्, आशा पनि राखेका छन् । आमजनताले

आफ्ना आवाजको प्रतिध्वनि सुन्न सके भने आशा जागेर आउने छ,’ उनले भने, ‘यो संसद्का लागि अवसर र चुनौती हो ।’ भ्रष्टाचारको छानिबनमा आफ्नो पार्टीले सघाउने भण्डारीले बताए । उनले भने, ‘जो जसको कार्यकालमा भएका भ्रष्टाचारको छानबिन गरेर नंग्याउने काममा हामी सहयोग र समर्थन गर्छौं ।’

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कानुन निर्माण गर्ने थलो संसद्मा आफू न्याय माग्न आएको बताइन् । रेशम चौधरीसहितका निर्दोष थारूहरूलाई थुनिएको भन्दै उनले आपत्ति जनाइन् । टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताइन् । ‘टीकापुर घटना बन्द कोठा वा गुफामा भएको होइन, त्यसमा कसले कसलाई मार्‍यो देख्ने आँखाहरू हजारौं छन्,’ उनले भनिन्, ‘टीकापुर घटनाको न्याय निरुपण नहुन्जेलसम्म लडिरहने छौं ।’ उक्त घटनामा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने उनले बताइन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले लोकतान्त्रिक व्यवस्थाको निम्ति आफ्नो पार्टी सदैव लाग्ने बताए । ‘मुलुकको सकारात्मक परिवर्तत ल्याउन आएको छु । विश्वकै उत्कृष्ट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न हामी तत्पर छौं,’ उनले भने, ‘गणतान्त्रिक व्यवस्थाको उच्च सम्मान छ । निर्वाचित हुने क्रममा एउटा धनाढ्य उम्मेदवार पनि गरिबको झुपडीमा नतमस्तक हुन बाध्य हुन्छन्, यो नै लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो । त्यसैले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि हाम्रो पार्टी सधैं अग्रणी भूमिका निर्वाह गर्नेछ ।’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद्लाई प्राज्ञिक थलो बनाउनुपर्ने बताए । संसद्लाई सरकारको रबर स्ट्याम्प नबनाउन आग्रह गर्दै हचुवाको भरमा संसद्मा प्रस्ताव नल्याउन आग्रह गरे । ख्वपः विश्वविद्यालयको विधेयक ल्याएर पारित गर्न उनले अनुरोध गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धेरै कुरा सेटिङमा भइरहेको बताए । देशमा मन्त्रीको संख्या सांसदको संख्याभन्दा बढी भयो भने देशको अर्थतन्त्रले नधान्ने भन्दै उनले अहिले पनि देश बेवारिसे नै रहेको तर्क गरे ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा हुँदा खाने र हुने खाने दुवैथरीलाई बस्न सक्ने बनाउनुपर्ने बताए । ‘देश बिचौलियालाई पोस्ने बाइरहेका छौं, हुँदा खानेहरू कतार, मलेसिया जान्छन्, हुने खानेहरू अमेरिका, अस्ट्रेलिया जान्छन्, दुवैथरी बस्दैनन्,’ उनले भने ।

अर्का स्वतन्त्र सांसद प्रभु साहले अर्थतन्त्र संकटमा रहेको र कृषकले ऋण पाउन नसकेको बताए । आग्रह/पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय एकता गर्नु जरुरी रहेको उनको भनाइ थियो । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले यार्चागुम्बाको खेती गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *