आमा र बसन्त (बलदिप हाङ राई) ।।।

0Shares

आमा र बसन्त

हरेक बसन्तले बगैंचाका फूलहरूमात्र फुलाउदैन
मेरी आमाकाे ‘अर्ग्यानिक’ कपाल पनि फुलाउँछ
र, हरेक चाेटी त्याे बसन्तले
यही धरतीमा काेरिएकाे मेरी आमाकाे जीवनीबाट एक वर्ष छिनेर लग्छ ।

प्रत्याेत्तरमा मेरी आमा
अदम्य साहसकाे लाैराे टेक्दै
एक डाेकाे झण्डा र औजारहरू बाेकेर
तल मैदानबाट
कान्ला, भित्ता र पहाडहरू उक्लिन्छिन्
अनि
पालुवा र थुङ्गाहरूकाे वर्षातले
पारदर्शी आभुषणमा निथ्रुक्क रूझेकी
एक उर्वर युवतीकाे अवतारमा
उहीँ झुल्के घामले मुस्कुराइदिन्छिन्
बसन्तकाे त्याे निर्दयी शिष्टतालाई ।

मेरी आमाले
भूईंचालाेले भत्काएका भग्नावशेषका थुप्राेभित्र
मृत्युकाे करङ छामिसकेकी छिन्
दुधिलाे र खन्युकाे टुप्पाेबाट तल चट्टानमा बज्रिएर
मृत्युकाे ताकत जाेखिसकेकी छिन्
त्यसैले त्याे बसन्तले कुनै दुर्घटनासंग गुहार माग्नुपर्दैन,
कुटाे, काेदाली, हसिँया र हथाैडाका बिँडहरूमा
मेरी आमाकाे हत्केलाका ठ्याैलाहरू चहर्याइन्जेल् ।

वसन्त पछ्याउँछ उहीँ पुरानाे कार्यतालिका
तर मेरी आमा हिडछिन् प्रस्तावित नयाँसडक।

उहीँ सन्त्रास र रूटिनकाे कब्जामा रहेका
हामी सन्तानहरूलाई
भन्ने गर्छिन् मेरी आमा, ” पछ्याउनु र हिड्नु फरक कुरा हाे “
उहीँ वंश निरन्तरतामात्र धान्ने गर्भेणी किशाेरीहरूलाई
भन्ने गर्छिन् मेरी आमा, ” जन्माउनु र बनाउनु फरक कुरा हाे ।”

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *