नारायणकाजी श्रेष्ठ : शिक्षण र पत्रकारिता हुँदै चौथो पटक मन्त्री

0Shares

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । श्रेष्ठले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि तीन पटक मन्त्री हुने अवसर पाएका थिए । २०७६ साल माघ २३ गते झलनाथ खनाल नेतृत्वको सरकारमा संघीय मामिला र स्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाले अवसर पाएका थिए । उनले लामो समय काम गर्ने अवसर पाएनन् । लगतै बाबुराम भट्टराई नेतृत्वको २०६८ भदौ ११ गते बनेको सरकारमा श्रेष्ठ उपप्रधानमन्त्री सहित गृह मन्त्रीको  जिम्मेवारी सम्हालेका थिए । २०६९ जेठमा डा. बाबुराम भट्टराईको मन्त्रिमण्डल पुनर्गठन हुँदा श्रेष्ठले उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्री हुन सफल भएका थिए । पार्टीमा वैचारिक छवि बनाएका श्रेष्ठ प्रचण्ड प्रधानमन्त्री हुँदा भौतिक जस्तो महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । प्रचण्डसँग परराष्ट्र वा गृह मन्त्री सम्हाल्ने इच्छा श्रेष्ठले राखेका थिए । तर, गठबन्धनको सरकार भएकाले अरूलाई समेत साथमा लिएर जानुपर्ने भएकाले अन्तमा श्रेष्ठले भौतिक मन्त्रालय लिएका हुन् ।  

विद्यार्थी जीवनबाटै श्रेष्ठको राजनीति सुरु

श्रेष्ठको जन्म २०१७ सालमा गोरखाको जौबारीमा भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनमा उनी ‘प्रकाश’ उपनामले चिनिन्छन् । गाउँकै परोपकार आदर्श माध्यमिक विद्यालयमा नारायणकाजीले कक्षा १ देखि १० सम्म अध्ययन गरे । २०३२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेका नारायणकाजीले २०४० सालमा जनप्रशासन क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गरे । उनले अर्थशास्त्रमा स्नातक गरेका छन् ।

नारायणकाजी श्रेष्ठले २०३८ सालमा गोरखाका श्रीनाथ अधिकारीबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए । उनी सेल कमिटीमै हुँदा मोहनविक्रम सिंह र निर्मल लामाबीचको मतभेदले २०३९ सालमा पार्टी विभाजित भयो । त्यसपछि लामाको समूहमा लागेर उनी पार्टीको काठमाडौं जिल्ला समितिको सदस्य हुँदै २०४२÷०४३ सालतिर केन्द्रीय सदस्य बने ।

२०४७ सालमा तत्कालीन मशाल, चौथो महाधिवेशन र सर्वहारावादी श्रमिक संगठनका बीचमा एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समितिको सदस्य थिए ।

२०४८ सालमा एकता महाधिवेशनबाट उनी नेकपा (एकताकेन्द्र)को पोलिटब्युरो सदस्य बने । २६ वर्षको कलिलो उमेरमै केन्द्रीय समितिको सदस्य बन्न सफल नारायणकाजी ३१ वर्षको उमेरमै एकता केन्द्रको पोलिटब्युरो सदस्य बनेका थिए । २०५१ सालमा प्रचण्ड र निर्मल लामाबीच फुट भएपछि नारायणकाजीले नै एकता केन्द्रको महासचिवको जिम्मेवारी सम्हाल्ने अवसर पाए । ३४ वर्षको उमेरमै एकता केन्द्रको महासचिव बनेका उनी मोहनविक्रम सिंहले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)सँग पार्टी एकता भएपछि मोहनविक्रम सिंह महामन्त्री र नारायणकाजी श्रेष्ठ सहमहामन्त्री बने ।

२०६३ सालमा नेकपा (एकताकेन्द्र मसाल) विभाजित भएपछि पुनः एकता केन्द्रको महासचिवको हैसियतमै रहेका उनी २०६५ पुसमा नेकपा एकताकेन्द्र र नेकपा माओवादी मिलेर एकीकृत नेकपा माओवादी बनेपछि २०६६ सालमा उपाध्यक्ष बने । तत्कालीन एमाले माओवादी एकता भएपछि पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता समेत भएका थिए ।

पहिलो संविधानसभामा उनी मन्त्रिपरिषद्बाट मनोनीत भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्य, प्रवक्ता र केन्द्रीय प्रचार विभागको प्रमुखको जिम्मेवारी सम्हालेका उनी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भए ।

नारायणकाजी श्रेष्ठ १६ वर्षकै कलिलो उमेरमा जेल परेका थिए । २०३६ सालमा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो । उनी दोस्रोपटक २०३६ सालमै गोरखामा जेल परे । तेस्रोपटक २०४५ सालमा जनआन्दोलनको तयारीको बेलामा उनी पक्राउ परे । उनलाई राजकाज मुद्दा लगाएर केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो ।

थोरै समय शिक्षण र पत्रकारिता

गोरखाको सिरानचोक गाउँपालिका–८ स्थित जौबारीको निम्न मध्यमवर्गीय परिवारमा ०१७ सालमा जन्मिएका श्रेष्ठले जनप्रशासनमा स्नातकोत्तरसम्म पढाइ पूरा गरेका छन । कांग्रेसको विद्यार्थी संगठनबाट राजनीति थालेका उनी विद्यार्थी आन्दोलनकै वेला जेलसमेत परेका थिए । ०३८ सालमा नेविसंघ छाडेर उनी अनेरास्ववियुमा आबद्ध भएका थिए । पछि जनप्रशासन क्याम्पसको स्ववियु सभापति चुनिए । उनी ०३३, ०३६ र ०४२ साल गरी तीनपटक छोटोछोटो समय जेल बसे ।

छोटो समय सिद्धार्थ वनस्थलीमा शिक्षण गरेका उनी मूल्यांकन साप्ताहिकको सम्पादक भएरसमेत केही समय काम गरे । तत्कालीन चौथो महाधिवेशनको विद्यार्थी राजनीति हुँदै उनी ०४६ सालमा पार्टीको काठमाडौं जिल्ला प्रमुख भए । जनआन्दोलनपछि ०४७ सालमा चौममा केन्द्रीय सदस्य र पाँच घटकबीच एकतापछि बनेको एकताकेन्द्रमा पोलिटब्युरो सदस्य भए । ०५१ सालमा एकताकेन्द्रमा विभाजन आएपछि बहुमत पक्षले नेकपा (माओवादी) गठन ग¥यो, उनी अल्पमत पक्षमा रहेर निर्मल लामासहित नेकपा एकताकेन्द्रलाई नै निरन्तरता दिएर पार्टी महामन्त्री हुन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *