देशभर मतदान रोकिएका ७५ मध्ये ६० स्थानमा मतदान सुरु

0Shares

प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९
देशभर मतदान रोकिएका ७५ मध्ये ६० स्थानमा मतदान सुरु

रसुवा र मुस्ताङमा भने ७० प्रतिशत मतदान
काठमाडौँ — देशभरका ७५ स्थानमा रहेका मतदान केन्द्रमा मतदान रोकिएर ६० स्थानमा पुन: मतदान सुरु भइसकेको निर्वाचन आयोगस्थित उच्च स्रोतले जानकारी दिएको छ। यस्तै मतदान रोकिएका १५ स्थानमा पनि मतदान सुरु गर्ने प्रयास भइरहेको स्रोतले दाबी गरेको छ ।

देशका अधिकांश भागमा मतदान शान्तिपूर्ण भएपनि दोलखा, बाजुरा, सिराह लगायतका स्थानमा भने मतपेटिका फुटाउने, जलाउने देखि मतकेन्द्र नै ध्वस्त बनाउनेसम्मका कार्य भइरहेका छन् । अधिकांश स्थानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ता बीच विवाद बढेर झडपको स्थिति नै सिर्जना भएको हो ।
निर्वाचन आयोगले केन्द्रको सहमति बिना कुनै पनि स्थानमा मतदान स्थगित नगर्न निर्दशन दिएपछि हालसम्म कतैपनि औपचारिक रुपमा मतदान स्थगित गरिएको भने छैन । यसपटकको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता नदेखिएपनि रसुवा र मुस्ताङमा भने ७० प्रतिशत मतदान भएको आयोग उच्च स्रोतले दाबी गरेको छ ।

यो निर्वाचनबाट प्रतिनिधिसभामा २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) र प्रदेशसभामा ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सांसद चयन हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये झन्डै १२ प्रतिशत अर्थात् २२ लाख ९४ हजार १९ जना पहिलो पटक मतदानमा सहभागी हुँदै छन् । निर्वाचन आयोगका अनुसार २०७४ मा भएको आमनिर्वाचनयता २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएका छन् । ६ महिनाअघि भएको स्थानीय तह निर्वाचनयता मात्रै २ लाख ५४ हजार मतदाता थपिएका हुन् । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदाता १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् । विदेशमा रहेका २१ लाख ५९ हजार जना भने यस पटक पनि मतदानबाट वञ्चित भएका छन् ।

१० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ । यसमध्ये एक सय केन्द्र अपांगमैत्री बनाएको आयोगले जनाएको छ । कैदी, बन्दी, सुरक्षाकर्मी, कर्मचारी, वृद्धाश्रममा रहेकालाई मतदानको व्यवस्था गर्न १ सय ४१ अस्थायी मतदानस्थल कायम गरिएको छ । निर्वाचन गराउन देशैभरि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिने आयोगले जनाएको छ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि २ लाख ९८ हजार सुरक्षाकर्मी खटिएका छन् । आयोगका अनुसार ७१ हजार ६ सय ९३ प्रहरी, १ लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८ सय ४९ सेना, ३५ हजार १ सय १६ सशस्त्र प्रहरी र १ हजार ८ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *