लुम्बिनीमा मुख्यमन्त्रीका दर्जन आकांक्षी

0Shares

लुम्बिनीमा मुख्यमन्त्रीका दर्जन आकांक्षी

कांग्रेसमा ४, माओवादीमा ४ र एमालेमा ५ जनाको दाबेदारी
रूपन्देही — केन्द्रीय नेताहरूको दबदबा रहेको लुम्बिनी प्रदेशमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै भावी मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । प्रदेशबाट यसअघि एमाले–माओवादीको तालमेलपछि केन्द्रीय नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने गरी प्रदेश सभा निर्वाचन लडेका थिए । उनी चुनाव जितेर मुख्यमन्त्री पनि बने । यसपटक कुनै पनि दलबाट निश्चित उम्मेदवार छैनन् । तर, दलभित्र आन्तरिक प्रतिस्पर्धासँगै मुख्यमन्त्रीको चर्चा सुरु भएको हो ।

लुम्बिनीमा कांग्रेस, एमाले र माओवादीबाटै मुख्यमन्त्री बन्ने देखिन्छ । कांग्रेस र माओवादीले गठबन्धन गरेर चुनाव लडेकाले दुई दलबीच पहिलो बन्ने प्रतिस्पर्धा अहिलेदेखि जारी छ । ठूलो दल देखिएको कांग्रेसले सत्ता गठबन्धनको बलमा प्रदेश सभाका ५२ क्षेत्रमध्ये ३३ सिटमा उम्मेदवार उठाएको छ ।
गठबन्धनमा हाबी देखिएको कांग्रेसबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मुख्यमन्त्रीको दाबीसहित रोल्पाको १ (२) बाट उम्मेदवार छन् । त्यही क्षेत्रबाटै माओवादीबाट विद्रोह गरेर दीपेन्द्र पुन मगर उम्मेदवार बनेपछि अमरसिंह संकटमा परेका छन् । यसअघि पनि प्रदेश सभा सदस्य रहेका दीपेन्द्रले माओवादी परित्याग गरेको घोषणा गरिसकेका छन् । कांग्रेसले माओवादीलाई मुख्यमन्त्रीको दाबीबाटै रोक्ने गरी १७ सिटमा खुम्च्याएर उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा शून्य बनाएको छ । जनमोर्चा र लोसपाले १/१ सिटमा मात्र उम्मेदवारी उठाएका छन् । पुनसँगै कपिलवस्तु ३ (२) मा सत्ता गठबन्धनबाटै कांग्रेसका वीरेन्द्रकुमार कानोडिया उम्मेदवार छन् । यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनी मुख्यमन्त्रीका आकांक्षी हुन् ।

एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पार्न माओवादीसँग ८/८ महिना सरकार चलाउने सहमति गर्दा पनि कानोडिया मुख्यमन्त्री बन्ने गरी सहमति भएको थियो । तर, पछि माओवादीले नछोडेपछि अबको सरकारमा मुख्यमन्त्री बन्ने दाउमा छन् । कांग्रेसबाटै अहिले पनि प्रदेश सरकारका मन्त्री रहेका दाङका डिल्ली चौधरी र रूपन्देहीको १ (२) बाट उम्मेदवार बनेका पूर्व पार्टी सभापति अब्दुल रज्जाक पनि मुख्यमन्त्री बन्ने प्रयासमा छन् । चौधरी दाङ ३ (१) बाट उम्मेदवार छन् । तर, लुम्बिनी प्रदेशमा कांग्रेसको संस्थापन इतर पक्ष बलियो छ ।

कानोडिया, चौधरी र रज्जाक संस्थापन पक्ष भएकाले रोल्पाबाट विजयी हुन सके पुनकै सम्भावना बलियो देखिन्छ । तर, चुनाव जित्न उनलाई माओवादीकै बागी उम्मेदवार चुनौती बनेका छन् । त्यसपछि कानोडिया र चौधरीबीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसका चारै जना नेतासित मन्त्री भइसकेको अनुभव छ । प्रदेश सभापति पुनले उम्मेदवार बनेपछि मुख्यमन्त्रीको चाहना राख्नु स्वाभाविक भएको बताए । ‘चार जना मात्र होइन, अझै धेरै पनि हुनुहुन्छ,’ उनले भने, ‘को बन्ने भन्ने त छिनोफानो पछि नै हुन्छ ।’

गठबन्धनकै अर्को दल माओवादीबाट जोखबहादुर महरा र सुदर्शन बराल मुख्यमन्त्रीका बलिया दावेदार हुन् । सकेसम्म गठबन्धनबाटै र नभए एमालेसँग तालेमल गरेर भए पनि पहिलो लटमै मुख्यमन्त्री बन्ने दाउमा माओवादी छ । माओवादीले मुख्यमन्त्रीका रूपमा महरालाई अघि सारेको छ । उनी यसअघि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गरेका थिए । उनलाई दाहालकै प्रयासमा रोल्पाको १ (१) बाट उम्मेदवार बनाइएको हो । यसअघि त्यहींबाट निर्वाचित कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए । माओवादीबाट यसअघि पनि प्रदेशमा सामाजिक मन्त्री भएर शंकर पोखरेल नेतृत्वको सरकारमा प्रभावकारी काम गरेका सुदर्शन बराल मुख्यमन्त्रीका बलिया दाबेदार हुन् । उनी मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधि सभाको निर्वाचन छोडेर गुल्मी १ (१) बाट प्रदेश सभामै उम्मेदवार बनेका छन् । माओवादीले मुख्यमन्त्री पाउने सम्भावना देखिएको अवस्थामा उनलाई अघि सार्ने सम्भावना छ । बराल माओवादी नेता वर्षमान पुन निकट मानिन्छन् । माओवादीबाट रूपन्देही २ (२) बाट चुनाव लडेका वामदेव क्षेत्री र ५ (१) बाट चुनाव लडेका विनोद पहाडी पनि मुख्यमन्त्रीका आकांक्षी हुन् ।

प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा आफ्ना बलिया उम्मेदवार उठाएको प्रदेशकै पहिलो ठूलो दल एमालेमा पनि चार जना मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । जसपा र राप्रपासँग चुनावी तालमेल गरेको एमाले बहुमत ल्याउने दाउमा छ । एमालेले राप्रपालाई ३ र जसपालाई २ सिट प्रदेशमा दिएर चुनावी तालमेल गरेको हो । केही स्थानमा एमाले र जसपाबीच मित्रवत् प्रतिस्पर्धा छ ।

एमालेबाट पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेशका पूर्वमन्त्री लीला गिरी सबैभन्दा बलियो दावेदार हुन् । उनी एमाले प्रदेशका सहइन्चार्ज पनि हुन् । गिरी रूपन्देहीको २ (१) बाट उम्मेदवार छन् । विष्णु पौडेल र शंकर पोखरेल दुवैको सल्लाहमा एमालेको सरकार बनेको अवस्थामा उनी मुख्यमन्त्री बन्ने गरी प्रदेशमै चुनाव लडेका छन् ।

अर्का पोलिटब्युरो सदस्य एवं प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने, २ (२) बाट चुनाव लडेका पूर्वमन्त्री एवं प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ पनि मुख्यमन्त्रीको आकांक्षी हुन् । दाङको ३ (१) बाट कांग्रेसका डिल्ली चौधरीसँगै चुनाव लडेका एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे पनि मुख्यमन्त्री बन्ने गरी प्रदेशबाट चुनाव लडेका छन् ।

एमाले महासचिव पोखरेल निकट एक नेताका अनुसार उनलाई प्रदेशको मुख्यमन्त्री बनाउने सहमति गरेरै उम्मेदवार बनाइएको हो । एमालेबाट यसअघिको लुम्बिनी प्रदेश सभामा एमालेका प्रमुख सचेतक रहेका भूमिश्वर ढकाल मुख्यमन्त्रीको आकांक्षी हुन् । उनी रूपन्देहीको ५ (१) बाट उम्मेदवार छन् ।

केन्द्रीय सदस्यसमेत रहेका ढकालले आकांक्षी धेरै हुनु स्वाभाविक भएको बताए । ‘पार्टीमा धेरै नेता भएपछि आकांक्षी पनि धेरै हुनु स्वाभाविक नै हो,’ उनले भने, ‘चुनाव लडेका भन्दा निर्वाचित हुने सबै कमरेडहरू मुख्यमन्त्रीका लागि सक्षम नै हुनुहुनेछ, को बन्ने भन्ने संसदीय दलबाट निर्णयपछि मात्र टुंगो लाग्छ ।’ उनले लुम्बिनीमा एमालेकै सरकार बन्ने दाबी गरे ।

एमालेबाट यसअघि मन्त्री भएर राम्रो काम गरेर चर्चा पाएका नवलपरासी पश्चिमका बैजनाथ चौधरी मुख्यमन्त्री बन्ने सर्तमा नवलपरासी पश्चिम २ (१) बाट उम्मेदवार बन्न खोजेका थिए । तर, नेतृत्वबाट प्राथमिकतामा नपरेपछि उनी उम्मेदवार नै बनेनन् । लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकै इच्छामा भर पर्ने भएकाले दुवैको रोजाइमा गिरी पर्न सक्ने चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *